बागलुङ, १८ भाद्र – जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुंगानाले कृषि क्षेत्रमा आउने अनुदान बास्तविक किसानले पाउनुपर्ने बताएका छन् ।
सिम्रिक कृषि तथा पशु व्यवसायिक सहकारी संस्था लि. बागलुङको तेस्रो साधारणसभामा बोल्दै प्रमुख ढुंगानाले यस्तो बताएका हुन् । ‘कृषि क्षेत्रको विकासको लागि सरकारबाट आउने अनुदान पहुँचका आधार र सत्ताको वरिपरी घुम्ने टोलीले पाउने गरेका छन्’ प्रमुख ढुंगानाले भने– ‘त्यस्तो कार्यको अन्त्य गरी धेरै मेहेनत गरेका बास्तविक किसानहरुले उक्त अनुदान पाउनुपर्छ ।’ गाउँघरका किसानले थोरै रकम जम्मा गरेर कृषिमा लागिरहेको बताउँदै तिनीहरुको आर्थिक विकासको लागि सरकारले केही सोच्नुपर्ने ढुंगानाले बताए ।
ढुंगानाले स्थानीय निकाय सञ्चालन सम्बन्धी विधयेकहरु पारित नुहँदा कार्य सम्पादन गर्न अन्यौल सिर्जना भएको बताए । अझैपनि कुन–कुन स्थानमा कुन कार्यालय हुन्छ भन्ने ठोस् जानकारी आएको छैन’ प्रमुख ढुंगानाले भने– ‘स्थानिय तहमा रहने कार्यालयहरुको जानकारी नै प्राप्त नभएपछि काम गर्नको लागि धेरै समस्या भएको छ ।’ ढुंगानाले भने– ‘अन्यौलको व्यवस्थापन गर्न सकिएन भने प्राप्त अधिकारहरु पनि गुम्न सक्छन् त्यसैले संसद र सरकारले गर्ने निर्णय छिटो हुनुपर्दछ ।’
कार्यक्रममा जिल्ला समन्वय समिति बागलुङका उपप्रमुख विष्णु भुषाल, जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष दिपक गौतम, नेपाल सूचना तथा संचार केन्द्रिय सहकारी संघकी उपाध्यक्ष मनकुमारी केसी, सहकारीका सल्लाहकार डिल्लीराज गौतम, हरिनारायण गौतम, कल्याणकारी बहुउद्देश्य सहकारीका उपाध्यक्ष ठाकुरप्रसाद पौडेल, सहकारीका शेयर सदस्य डिल्लीराज उपाध्याय र धन कुमारी गौतमले मन्तव्य व्यक्त गरेका थिए ।
संस्थाले आर्थिक वर्ष २०७३÷०७४ मा ६ करोड, ५१ लाख ८६ हजार ८ सय ८२ रुपैयाँको कारोबार गरेको संस्थाका कोषाध्यक्ष चुडामणि उपाध्यायले जानकारी दिए । संस्थाको प्रगति प्रतिवेदन सचिव लोकेन्द्र शर्मा र लेखा प्रतिवेदन लेखा समिति संयोजक जिवननाथ शर्माले प्रस्तुत गरेका थिए ।
संस्थाले यस वर्षको कृषि पत्रकारिता पुरस्कार जननिगरानी साप्ताहिकका सम्पादकका संवाददाता नविन शिशिर विकलाई प्रदान गरेको छ । विकलाई १ हजार १ सय ११ रुपैयाँसहित पुरस्कृत गरीएको थियो ।
यस्तै, संस्थाले सल्लाहकारहरुबाट हरिनारायण गौतम, चल्ती बचततर्फ अर्जुन कार्की, आवाधिक वचततर्फ डोलेन्द्र गौतम, मासिकतर्फ सुनिता किसान, असल ऋणीतर्फ सावित्रा कार्की र मनिषा किसान, उत्कृष्ट किसानतर्फ तिलक कुँवर र शिलाकुमारी सुवेदी, जेष्ठ शेयर सदस्य मदनप्रसाद पाण्डे, संस्थाका शुभेच्छुक मानबहादुर कार्की र उत्कृष्ठ कर्मचारी खिम बहादुर कार्कीलाई सम्मान गरेको छ ।
संस्थाका अध्यक्ष मनिभद्र शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत सदस्य चुडामणि आचार्य र संचालन सचिव लोकेन्द्र पौडेलले गरेका थिए । संस्थाले बागलुङ बजार र काँठेखोलामा तरकारीका विउँ विक्री वितरण, अदुवा खेती, उखु खेती, केरा खेती र महुरी पालन गरिरको छ ।
यस्तै, संस्थाको तेस्रो वार्षिक साधारणसभाले लोकेन्द्र पौडेलको अध्यक्षतामा ११ सदस्य नयाँ संचालक समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा धनबहादुर कार्की, सचिवमा चुडामणि उपाध्याय, सह–सचिवमा खिमबहादुर कार्की र कोषाध्यक्ष जगन्नाथ सापकोटा, सदस्यहरुमा रमेश पौडेल, चुडामणि आचार्य, जिवननाथ शर्मा, राजु गौतम, रिता थापा र सस्वती कार्की चयन भएका छन् ।
यस्तै प्रेम बहादुर केसीको संयोजकत्वमा ३ सदस्य लेखा समिति गठन गरिएको छ । समितिको सदस्यमा बलराम गौतम र रेणु केसी रहेका छन् ।