बागलुङ, १७ भाद्र – मुक्तिनाथ स्वास्थ्य सहकारी संस्था लि. बागलुङको तेश्रो वार्षिक साधारण सभा शुक्रबार बागलुङ बजारमा सम्पन्न भएको छ । “हामी सबैको चाहाना, समृद्ध जीवनको कामना” भन्ने नाराका साथ सम्पन्न साधारणसभाको उद्घाटन गर्दै संस्थाका शेयर सदस्य एवं बेनी नगरापलीकाका उपमेयर सञ्जु बरुवालले सहकारीको माध्यमबाट शेयर सदस्यहरुलाई सर्वशुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन मुक्तिनाथ सवस्थ्य सहकारी संस्थाले भूमिका खेल्नुपर्ने धारण राखिन् ।
धौलागिरी कार्यक्षेत्र रहेको संस्थाले बागलुङ र म्यादीमा मात्र सदस्य विस्तार नगरी ४ वटै जिल्लामा सदस्यहरु विस्तार गरी व्यापक रुपमा स्वास्थ्य सेवा सम्वन्धी काम गर्न सकेमा संस्थाको फरक पहिचान हुने बरुवालको भनाई थियो । कार्यक्रममा जैमीनी नगरपालिकाका मेयर एवं शेयर सदस्य ईन्द्रराज पौडेल, जिल्ला सहकारी संघका पूर्वअध्यक्ष कृष्णशंकर श्रेष्ठ, दिदीबहीनी साकोस म्याग्दीका अध्यक्ष जमुना आचार्य, शेयर सदस्यहरुको तर्फबाट भुमीराज शर्मा, गण्डकी थापा अधिकारी र भवनराज बरालले शुभकामना व्यक्त गरेका थिए ।
साधारणसभामा संस्थामा संस्थाका सचिव रामबहादुर के.सीद्धारा प्रस्तुत आर्थिक वर्ष ०७३।०७४ को प्रगती प्रतिवेदन, आ.व. ०७४।०७५ को प्रस्तावित नीति तथा कार्यक्रम र संस्थाका कोषाध्यक्ष लालकुमारी बस्नेतले प्रस्तुत गरेको आ.व. ०७३।०७४ को आर्थिक प्रगती प्रतिवेदन तथा ०७४।०७५ को प्रस्तावित आय–व्यय तथा कार्ययोजना र संस्थाका लेखा समिति सदस्य हेबहादुर खत्रीले प्रस्तुत गरेको लेखा समितिको प्रतिवेदन व्यापक छलफल पश्चात पारित भएको थियो ।
साधारण सभाले आगामी वर्षलाई विशेष गरेर स्वास्थ्य सम्वन्धी कार्यहरु गर्ने गरी सञ्चालक समितिलाई अधिकार प्रत्यायोजन गरेको छ । सहकारी संस्थाका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष निर्माणकुमार श्रेष्ठ र सञ्चालन सचिव रामबहादुर के.सीले गरेका थिए ।