बागलुङ, १७ भाद्र – जिल्लामा आर्थिक वर्ष २०७२/०७३ माभन्दा २०७३÷०७४ मा जडिबुटी निकासीबाट राजश्वमा वृद्धि भएको छ ।
जिल्ला वन कार्यालय बागलुङको तथ्याङ्गक अनुसार, आर्थिक वर्ष ०७२/७३ मा भन्दा ०७३÷७४ मा जडिबुटीबाट १ लाख ४७ हजार ३ सय ९० रुपैयाँ बढि राजश्व संकलन भएको छ ।
आर्थिक वर्ष २०७२/७३ मा साधारण च्याउ, चिराइतो, चुल्ठे अमिलो, पदमचाल, बन लसुन लगायत ११ प्रजातिका ११ हजार ८ सय ७५ केजी जडिबुटी विक्रीबाट १ लाख २८ हजार ३ सय ३५ रुपैयाँ राजश्व संकलन भएकोमा आ.व. ०७३/०७४ मा सतुवा, बन लसुन, साधारण च्याउ, लोक्ता, धुपीको पात, कुरिलो लगायतका २० प्रजातिका २० हजार ४ सय ९० केजी जडिबुटीबाट २ लाख ७५ हजार ७ सय २५ रुपैयाँ राजश्व संकलन भएको जिल्ला वन कार्यालयका सहायक वन अधिकृत रामबहादुर विकले जानकारी दिए ।
बागलुङका सामुदायिक वनहरु प्राकृतिक रुपमा पनि जडिबुटीको राम्रो सम्भावना भएकाले राजश्वमा वृद्धि भएको सहायक वन अधिकृत विकले बताए । पछिल्लो समयमा जिल्लामा उत्पादित जडिबुटीहरु कम मात्रामा पाउने गरिएको र यसको संरक्ष्ण गरि उत्पादनमा अझै वृद्धि गर्न सकिने सहायक वन अधिकृत विकले बताए ।
प्राकृतिक रुपमा जडिबुटीको राम्रो सम्भावना भएपनि हालसम्म जिल्लामा जडिबुटी संकलनको मात्र कार्य गर्ने कोही नभएको वन कार्यालयले जनाएको छ । ‘बागलुङ जडिबुटीको प्रशस्त सम्भावना भएको जिल्ला हो’ –सहायक वन अधिकृत विकले भने– ‘जडिबुटीको उत्पादनमा कृषकहरु लाग्न सकेमा जिल्लाको गरिवी विपन्न परिवारको आर्थिक स्तर वृद्धि हुन सक्दछ ।’
Previous Articleबागलुङ जेसिजको सप्ताह सकियो
Next Article मुक्तिनाथ सहकारीको वार्षिक साधारणसभा