मुस्ताङ, १६ भाद्र – जिल्लाको थासाङ गाउँपालिका–१ टुकुचेमा निर्माण भएको थापाखोला जलविद्युत् आयोजनाले परीक्षण उत्पादन शुरु गरेको छ ।
माउन्ट कैलाश इनर्जी प्रालिले निर्माण गरेको १३.६ मेगावाट क्षमताको आयोजनाले विद्यु्त उत्पादन शुरु गरेको हो । परीक्षण सफल भएपछि उत्पादित विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोडिने आयोजनाका साइट व्यवस्थापक सुदीप खड्काले बताए ।
‘बाँध, सुरुङ, फोरवे, पेनस्टक, पावरहाउस निर्माण र उपकरण जडान सकिएपछि परीक्षण उत्पादन शुरु गरेका हाँै’ खड्काले भने– ‘भदौ अन्तिममा केन्द्रीय लाइनमा बिजुली जोड्ने तयारी छ ।’ आयोजनाले उत्पादित विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोड्न टुकुचेदेखि म्याग्दीको दानासम्म प्रसारण लाइन र दुईवटा सवस्टेशन बनाएको छ । कोवाङ र दानामा सवस्टेशन बनाएको हो ।
यो आयोजना धौलागिरि क्षेत्रमा हालसम्म सञ्चालन भएकामध्ये दोस्रो ठूलो हो । चार वर्षमा आयोजना निर्माण पूरा भएको हो । टुकुचे हिमालको फेदीमा बाँध रहेको आयोजनाको एक हजार ८३३ मिटर सुरुङ र ७५० लामो पाइपमार्फत पानीलाई टर्बाइनमा खसालिएको छ । बेनी–जोमसोमसडकको टुकुचेखण्डभन्दा करिब ५०० मिटरभित्र आयोजनाको विद्युत्गृह छ । आयोजना निर्माणस्थल भौगोलिकरुपमा विकट क्षेत्रमा अवस्थित छ । रु. दुई अर्ब ५६ करोडको लागतमा आयोजना निर्माण भएको प्रबन्ध निर्देशक भरत खड्काले जानकारी दिए ।
भौगोलिक विकटता, प्राविधिक पक्ष परिवर्तन हुनु, भूकम्प, नाकाबन्दीका कारण अनुमान गरेकोभन्दा रु. १२ करोड लागत बढेको कम्पनीले जनाएको छ । भूकम्प, नाकाबन्दी र बैसरीको पहिरो तथा बेगखोलाको बाढीका कारण निर्माण सामग्री आपूर्तिमा समस्या हुँदा निर्माण अवधि एक वर्षपछि धकेलिएको प्रबन्ध निर्देशक खड्काले बताए ।
आयोजनाले सर्वसाधारणका लागि रु. २२ करोड ५० लाख बराबरको २२ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्ने जनाएको छ ।