मुस्ताङ, १५ भदौ-के तपाईँ बर्खापछि मुक्तिनाथ यात्रामा निस्कने तयारी गर्दै हुनुहुन्छ, यदि त्यसो हो भने तपाईँका लागि खुसीको खबर छ । मुक्तिनाथको फेदी ठिनी गाउँमा सस्तोमा खाना खुवाउने र बास बस्ने गरी थकाली होमस्टे खुलेको छ । मुस्ताङको घरपझोङ गाउँपालिका वडा नं ५ ठिनी गाउँको होमस्टे नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीले उद्घाटन गरे । करिब ११० घरधुरी रहेको गाउँका ५ घरमा होमस्टे सुविधा छ । थकाली समुदायको उद्गम थलो ठिनीमा पर्यटनमार्फत सम्बृद्धि ल्याउन होमस्टे सुरू गरिएको हो । मुस्ताङको सदरमुकाम जोमसोमसँग जोडिएको गाउँमा थकाली सभ्यता अध्ययन गर्न पाइन्छ । ठिनीबाट मुक्तिनाथ यात्रा गर्न जिपमा डेढ घन्टा लाग्छ । ठिनीबाट मुक्तिनाथ २४ किमी छ । कार्यक्रममा बोल्दै सिइओ जोशीलाई ठिनी गाउँले आफूलाई मोहित बनाएको बताए । उनले भने, ‘गाउँलेको उत्साह र आत्मियताबाट प्रभावित भएँ । यति सुन्दर गाउँको पर्यटन विकासमा हामी सहयोग गर्न तयार छौं ।’ उनले सबै मिलेर एकीकृत रुपमा पर्यटन विकासमा लाग्नुपर्नेमा जोड दिए । होमस्टेमा अन्नपूर्ण क्षेत्र र मुक्तिनाथ घुम्ने पर्यटक लोभिनेमा गाउँले आशावादी छन् । ‘हाम्रो होमस्टेमा बेडको दुई सय रूपैयाँ र खानाको २ सय ५० रूपैयाँ मात्रै पर्छ’, थकाली सामुदायिक होमस्टेका अध्यक्ष सनप्रसाद थकाली भन्छन्, ‘हामी पाहुनालाई लोकल परिकारहरू फापरको रोटी, नुन चिया, ढिँडो, चम्पा, याकको सुकुटी, स्याउ खुवाउँछौं ।’ पाहुना बढ्दै जाँदा होमस्टेको क्षमता बढाउँदै जाने गाउँलेको योजना छ । जनमुक्ति युवा क्लबका सचिव निरज थकालीका अनुसार गाउँलेहरु होमस्टे पर्यटनबाट आम्दानी हुनेमा आशावादी छन् । ‘हामीलाई पर्यटन सम्बन्धी थप तालिमहरू चाहिएको छ’, उनले भने, ‘दसैं अगाडि नै होमस्टेको प्रचार होर्डिङबोर्ड राख्ने छौं ।’