पर्वत, १३ भदौ – स्थानीय तह निर्वाचनमा पर्वतमा पहिलो पार्टी हुनबाट चुकेको नेपाली काँग्रेसले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन लक्षित गतिविधि थालेको छ । काँग्रेसले पार्टीभित्र नेता कार्यकर्तामा अनुशासन हराउँदै गएको भन्दै कडाई थालेको छ ।
काँग्रेसले नेता कार्यकर्तालाई पार्टीको नीति, विचार र सिद्धान्तमा बस्न निर्देशन दिँदै पहिलोपटक अनुशासन समिति बनाएको छ । पूर्वसचिव एवम् बर्तमान कार्य समिति सदस्य कुलप्रसाद उपाध्यायको संयोजकत्वमा सदस्य तिलकप्रसाद श्रेष्ठ र लेखबहादुर गुरुङ रहने गरी समिति बनाएको हो । ‘पार्टीभित्र नेता कार्यकर्ताको गतिविधिलाई अनुशासन समितिले निगरानी बढाउने छ’ –काँग्रेस पर्वतका सचिव युक्तप्रसाद श्रेष्ठले भने । स्थानीय तहमा आन्तरिक घातले नै धेरै ठाउँमा पराजित हुनु परेको गुनासो आएपछि प्रतिनिधिसभा र प्रदेशसभा अगाबै पर्वत काँग्रेसले अनुशासन समिति बनाएको जनाएको छ ।
त्यसैगरी काँग्रेसले पार्टीका केन्द्रीय सदस्य एवम् सांसद अर्जुनप्रसाद जोशी, पूर्वसांसद इन्दु शर्मा, ऋषिकेश तिवारी र मिठाराम बिश्वकर्मा, सभापति खिमप्रसाद भुसाल, पूर्वसभापति लालकाजी गुरुङ, नवराज गुरुङ, महासमिति सदस्य खगेन्द्रप्रसाद तिवारी, बसन्तबहादुर सिके रहने गरी उच्चस्तरीय समिति गठन गरेको छ । समितिमा उपसभापति दुर्गाबहादुर खत्री, सचिव बिश्वप्रकाश प्रसाई, युक्तप्रसाद श्रेष्ठ, कोषाध्यक्ष यामबहादुर मल्ल पनि रहेका छन् ।
स्थानीय तह निर्वाचनमा नेकपा एमालेसँग कुल मतमा झण्डै चार सयको फरक परेपनि काँग्रेस पर्वतले ६१ वडा मध्ये २० वटा र सात वटा स्थानीय तहमध्ये तीन वटा मात्रै जितेको थियो । सभापति खिमप्रसाद भुसालले कुलमा एमालेसँग त्यतिधेरै फरक नपरेपनि वडा र स्थानीय तहमा थोरै मतले पराजित हुनुपरेको बताए ।
Previous Articleछानो चुहिदा पठन पाठनमा समस्या
Next Article बालविकास केन्द्रका विद्यार्थीको स्वास्थ्य परिक्षण