काठमाडौं, १२ भदौ- प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको संविधानका विषयमा अन्तर्राष्ट्रियजगतलाई जानकारी गराएको विषयलाई अन्यथा रुपमा लिन नहुने बताएका छन् ।
संसदको सोमबारको बैठकमा आफ्नो भारत भ्रमणबारेमा जानकारी गराउँदै प्रधानमन्त्री देउवाले संविधानका विषयमा कसैसँग कुनै पनि प्रकारको सम्झौता नगरेको बताएका हुन । ‘भ्रमणका बेला मैले संविधान संशोधनमा बोलेको छु’, उनले भने, ‘त्यस विषयलाई लिएर भएका टिकाटिप्पणीप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।’ ‘संविधान संशोधनका विषयमा कसैसँग सम्झौता गरेको छैन । र, हुन पनि सक्दैन’, प्रधानमन्त्री देउवाले भने, ‘संविधान कार्यान्वयन हाम्रो प्रमुख एजेण्डा हुन् । अन्तर्राष्ट्रिय जगतलाई जानकारी गराउनुलाई नाजाय भन्न मिल्दैन ।’
उनले भने, ‘हाम्रो संविधानलाई छिमेकी मुलुकले हस्तक्षेप गर्ने भन्ने कुनै पनि कुरा सैह्य छैन ।’ आफ्नो भारत भ्रमणले दुई देशबीच विश्वासका साथै सम्बन्ध सुदृढ गराउन मद्दत पुगेको बताए । ‘समृद्ध नेपाल हेर्न भारतीय पक्षले चाहेका छन्’, उनले भने, ‘नेपालमा निर्वाचन सफलताका साथ सम्पन्न भएकोमा भारतले सफलताको कामना गर्दै बधाइ तथा शुभकामना दिएको छ । संविधानको स्वागत गर्नुभएको छ ।’ भारतसँग सुनकोशी उच्च बाँध निर्माण गर्ने विषयमा सहमति भएको भन्दै छिटै निर्माण गर्ने सहमति भएको बताए ।
देउवाले भारतले पञ्चेश्वर आयोजना छिटो सुरु गर्न तयार रहेको बताएको पनि जानकारी दिए । एमालेसहितका केही राजनीतिक दल र सामाजिक सञ्जालहरूमा प्रधानमन्त्री देउवाले संविधान संशोधनका साथै विभिन्न विषयमा भारतमा दिएको अभिव्यक्तिलाई लिएर विरोध गरिरहेका बेला संसदलाई त्यसबारेमा स्पष्ट पारृका छन् ।