प्रकाश थापा -नेपालले लामो समयको प्रशव पीडापछि संघीय ढाँचाअनुसारको आफ्नो मुहार फेर्दै छ । लामो समयसम्म चलिआएको केन्द्रीकृत राज्य प्रणाली गाउँमुखी हुँदै छ, यस अर्थमा सिंहदरबारका सुविधाहरु अब गाउँगाउँमा आउँदै छन् । कुनै पनि देशको समृद्घिको आधारका रुपमा मूलत प्राकृतिक स्रोतलाई लिइन्छ । प्राकृतिक स्रोतहरु मध्येमा पनि वन जंगलको उचित संरक्षण, सम्बद्र्घन र व्यवस्थापनले देशलाई आर्थिक तथा वातावरणीय समृद्घिको बाटोमा लैजान्छ । नेपालको संविधान २०७२ को अनुसूची ९ ले वन, जंगल, वन्यजन्तु, चराचुरुंगी, जल उपयोग, वातावरण, पर्यावरण तथा जैविक विविधतालाई संघ, प्रदेश र स्थानीय तहको अधिकारको साझा सूचीमा राखेको छ । यस मानेमा देशमा रहेको करिव ४४.७४ प्रतिशत वनजंगल संघ, प्रदेश र स्थानीय तहको साझा अधिकारको सूचीमा पर्दछ । तसर्थ अव वनजंगलको स्रोतलाई समुचित ढंगले उपयोग मात्र गर्नसके नेपाल आर्थिक, सामाजिक र वातावरणीय समृद्घिमा पुग्न धेरै टाढा छैन । बागलुङ जिल्लामा वनजंगलको अवस्था नेपाल भित्रको मिनी नेपाल अर्थात् बागलुङ जिल्ला प्राकृतिक सम्पदामा धनी जिल्ला हो । एल्.आर.एम.पि.को नक्साअनुसार यस जिल्लामा वनजंगलले मात्रै पचास प्रतिशतभन्दा बढी क्षेत्रफल ओगटेको छ । जिल्लाको भूबनोटको अवस्था हेर्दा ६५५ मिटरदेखि लिएर ४,६९० मिटरसम्मको उचाई भएको भूभाग यहाँ रहेको पाइन्छ । यही धरातलीय विविधताले गर्दा वनजंगलमा विविधता रहेको छ । प्रजातिहरुको मिश्रणअनुसार बागलुङ जिल्लामा कोणधारी वन १६.८१ प्रतिशत, चौडापाते वन ५१.७७ प्रतिशत, मिश्रित वन २३.६५ प्रतिशत, झाडी वन ७.७२ प्रतिशत र अन्य वन ०.०५ प्रतिशत रहेको छ । वन व्यवस्थापनका हिसावले हेर्ने हो भने बागलुङ जिल्लामा ५२० सामुदायिक वन, चार कबुलियति वन, दुई धार्मिक वन, एक निजी वन र अन्य सरकारबाट व्यवस्थित वन रहेका छन् । हालसालै मात्र जुलाई महिनामा वन तथा भूसंरक्षण मन्त्रालयले डा. दिपककुमार खरालको संयोजकत्वमा ७४४ वटै स्थानीय तहमा वन क्षेत्रको अवस्था निक्र्योल गरेको थियो । सो प्रतिवेदनअनुसार बागलुङ जिल्लाका दशवटा स्थानीय तहहरु मध्येमा सबैभन्दा बढी वन क्षेत्र ढोरपाटन नगरपालिकामा छ भने सबैभन्दा कम वन क्षेत्र काठेखोला गाउँपालिकामा रहेको छ । उक्त प्रतिवदेनअनुसार बागलुङ जिल्लाका स्थानीय तहहरुको कुल क्षेत्रफल, वनको क्षेत्रफल, स्थानीय तहभित्रको वन क्षेत्रको प्रतिशत र जिल्लाभित्रका स्थानीय तहअनुसार वन क्षेत्रको प्रतिशत यस प्रकार रहेको छ
– बागलुङ जिल्लाको तीस हजार हेक्टरभन्दा बढी वन स्थानीय समुदायमा संरक्षण, सदुपयोग र व्यवस्थापनका लागि सामुदायिक वनको रुपमा हस्तान्तरण भइसकेको छ । बागलुङ जिल्लाका विभिन्न स्थानीय तहहरुमा सामुदायिक वनहरुको वितरण अवस्थामा भने एकरुपता छैन् । भौगोलिक अवस्था, वन क्षेत्रको अवस्था, स्थानीयको सक्रियता, स्थानीय तहको क्षेत्रफल घटिबढी लगायतका विभिन्न कारणहरुले गर्दा सामुदायिक वनहरुको संख्या र क्षेत्रफल फरकफरक छ । बागलुङ जिल्लाका विभिन्न स्थानीय तहअन्तर्गत रहेका सामुदायिक वन उपभोक्ता समूहको संख्या, सामुदायिक वनको क्षेत्रफल र संलग्न घरधुरी (दोहोरियका समेत) को सूची यस प्रकार छ ।
बागलुङ जिल्लामा गैह्रकाष्ठ वन पैदावारको अवस्था बागलुङ जिल्ला गैह्रकाष्ठ वन पैदावारमा प्रचुर संभावना बोकेको जिल्ला हो । जिल्लाको पञ्चवर्षीय योजना (२०७१÷०७६) अनुसार जिल्लामा सरकारद्वारा व्यवस्थित वनबाट संकलन गर्नसकिने ९० प्रकारका जडिबुटीहरु रहेका छन् र यी जडिबुटीहरुको वार्षिक संकलन परिमाण ६,८४,२०९ के.जी रहेको छ । यसैगरी सामुदायिक वनहरुबाट संकलन गर्नसकिने ३८ प्रकारका जडिबुटीहरु रहेका छन्, जसको वार्षिक संकलन परिमाण ८९७८८ के.जी. रहेको छ । बागलुङ जिल्लाका महत्वपूर्ण गैह्रकाष्ठ वन पैदावारका प्रजातीहरुमा सुगन्धवाल, लोक्ता, अल्लो, पदमचाल, टिमुर, सतुवा, नागवेली, लौठसल्ला, साधारण च्याउ, जटामसी, चिराइतो, कराजचुल्ठे, भूतकेश, सुनपाती, धुपी, विषमा, अतिस, पाखनबेद, चुत्रो, खोटो, सिस्नु, दालचिनी, सोमलता, रिठ्ठा, चिउरी, अतिस, कुटकी, मजिठो, निगालो, आदि रहेका छन् । यी गैह्रकाष्ठ वन पैदावारहरुबाट स्थानीय समुदायले दैनिक आवश्यकता परिपूर्ति गरिरहेका छन् । स्थानीय परम्परा र संस्कृतिअनुसार रैथाने तथा आदिवासी समुदायले औषधिमुलोका लागि जडिबुटीको प्रयोग गरिरहेका छन् । दशवटा स्थानीय तहहरु मध्ये पनि ताराखोला गाउँपालिका, गलकोट नगरपालिका, ढोरपाटन नगरपालिका, तमानखोला गाउँपालिका र निसीखोला गाउँपालिकामा अन्य स्थानीय तहहरुमा भन्दा धेरै जडिबुटीको प्रचुरता पाइन्छ । यद्यपि आधिकारिक रुपमा यी दश स्थानीय तहहरुमा गैह्रकाष्ठ वन पैदावारहरुको प्रचुरता बारे अध्ययन अनुसन्धान हुनसकेको छैन । जिल्लामा उपलब्ध गैह्रकाष्ठ वन पैदावारहरुको पहिचान, उपयोग, संरक्षण, संवद्र्धन, संकलन र निर्यातमा समस्या रहेका कारण उचित रुपमा व्यापारीकरण गरी अर्थोपार्जन गर्न नसकेको तीतो यथार्थ छ । प्रचीनकालदेखि लामा, वैद्य र रैथाने समुदायमा सीमित रहेका यी जडिबुटीको उयोगसम्बन्धी परम्परागत ज्ञान पनि उचित रुपमा अभिलेखीकरण र प्रचारप्रसारमा आउन नसक्नाले पनि हाम्रा यी औषधीमूलो र खानपान सम्बन्धी ज्ञानहरु लोपहुने अवस्थामा छन् । बागलुङ जिल्लामा जैविक विविधताको अवस्था बागलुङ जिल्ला जैविक विविधतामा धनी छ । जिल्लामा लोपोन्मुख वन्यजन्तु र वनस्पतीहरु उल्लेख्य मात्रामा पाइन्छन् । जिल्लाको ढोरपाटन क्षेत्र, घुम्टे लेक, डँुडे लेक, सौर्य लेक, थालेपोखरा, गाजाको धुरी, निलुवा, काली लेक, पाण्डवखानी लगायतका सयौं क्षेत्रहरु जैविक विविधतामा धनी छन् । जिल्लामा लोपान्मुख हाव्रे, भालु, चितुवा, चरिबाघ, घोरल, रतुवा, नाउर, वंदेल, वांदर, स्याल, वन कुकुर, चीर, डाँफे, विभिन्न प्रजातिका लाटोकोसेरो र गिद्धलगायतका अनेकौं वन्यजन्तु पाइन्छन् । जडिबुटीहरुमा पनि पाँचऔंले, कुट्की, लौठसल्ला लगायतका महत्वपूर्ण जडिबुटीहरु छन् । जिल्लाको सम्पूर्ण जैविक विविधताको बारेमा भने अध्ययन अनुसन्धान हुनसकेको छैन । समय समयमा हुने मानव वन्यजन्तु द्वन्द्वले वन्यजन्तु र स्थानीय समुदाय दुबैमा नकारात्मक असर भने परिरहेको छ । जिल्लामा चितुवाले वस्ती नजिकका गाइवस्तु खाइदिने समस्या पछिल्लो समयमा बढिरहेको छ । यसैगरी माथि माथिका वस्तीहरुमा भालुले वाली नाली नष्ट पारिरहेको छ । बागलुङ जिल्लाका दशवटै स्थानीय तहमा मानव र वन्यजन्तुको द्वन्द्व पछिल्लो समयमा बढ्दो क्रममा छ । अझ अहिले विश्वव्यापी समस्या जलवायु परिवर्तनका कारण मिचाहा किसिमका वनमारा लगायतका झारहरुको प्रकोपले जिल्लाको जैविक विविधतामा पनि प्रभाव पारिरहेको छ ।बागलुङ जिल्लामा हरित रोजगारीका संभावना देशले संघीयताबाट काचुली फेरिरहेकोबेला स्थानीय तहले व्यापक रुपमा आर्थिक फड्को मार्न वन क्षेत्रको विशेष भूमिका रहन्छ । वन क्षेत्रको उचित संरक्षण, सम्बद्र्घन र व्यवस्थापनले स्थानीय समुदायले विभिन्न सामाजिक, आर्थिक, वातावरणीय र धार्मिक पाइदा लिन सक्दछन् । जिल्लाका सबै स्थानीय तहमा स्थानीय जनताले आवश्यक कानुनी प्रक्रिया पुरा गरी काष्ठजन्य उद्यमको स्थापना गरी संचालन गर्ने कार्य प्रमुख हरित रोजगारीको संभावना हुनसक्दछ । यसैगरी गैह्रकाष्ठ वन पैदावारको विस्तारले पनि स्थानीय स्तरमा रोजगारीको अवसर प्रदान गर्दछ । जिल्लामा टिमुर खेती, अमला रोपण, अम्रिसो रोपण, कुरिलो खेती, अलैंची खेती, सतुवा रोपण, चिराइतो रोपण इत्यादिको खेती विस्तार महत्वपूर्ण छ । उता वनमा खेर गइरहेको झारपात र वनमाराबाट बायो ब्रिकेट उत्पादन गर्नसक्ने संभावना पनि छ । अहिले बजार क्षेत्रमा सिस्नोे पाउडरको माग बढिरहेको छ । डाँडापाखा, खोल्साखोल्सी र खेतबारीमा खेर गइरहेको सिस्नोलाई उद्योगमार्फत सिस्नो पाउडर बनाई बजारीकरण गर्नसक्ने व्यापक संभावनाको ढोका खुल्ला छ । ताराखोला, लेखानी र ढोरपाटन क्षेत्रमा व्यापक मात्रामा रहेको लोक्तालाई हाते कागज उद्यम स्थापना गरी आवश्यक व्यवस्था गर्नसके हातेकागज अन्तराष्ट्रिय स्तरसम्म पु¥याउन सकिने अवसर छ । हाते कागज सँगसँगै ताराखोला, दमेक, पाण्डवखानी, रणसिंहकिटेनी लागायतका अन्य क्षेत्रमा समेत अल्लोको धागो उत्पादन गर्न लघुउद्यमको विकास गरे हरित रोजगारीको राम्रो अवसर बन्ने निश्चित छ । यसैगरी रिघा, खर्वाङ, मल्म, कुश्मिसेरा लगायतका क्षेत्रमा दुना टपरीको उद्यम विस्तार गरे प्लाष्टिक प्लेट प्रयोगमा कमी आई वातावरणीय सेवा समेत पु¥याउने र रोजगारी प्रदान गर्ने संभावना छ । उता पाण्डवखानी, ताराखोला, रणसिंहकिटेनी लगायतका पश्चिमि क्षेत्रका वनमा पाइने निगालोबाट डोका, डाली, सोली, नाङ्ग्ला÷सुप्पो इत्यादि सम्बन्धी लघु उद्यमले पनि राम्रो संभावना बोकेको छ । यसैगरी धेरै वनहरुमा पाइने खोटेसल्लामा रहेकोे खोटो संकलन गरी निर्यात गरे स्थानीय स्तरमा रोजगारीका साथै राजस्व संकलन हुने अवसर छ । स्थानीय स्तरमा मौरीको घार निर्माण गरी मौरीपालन व्यावसाय संचालन गरे दिगो रोजगारीको आधार निश्चित रुपमा बन्ने छ । अहिले बागलुङ जिल्लामा निजी स्तरमा उचित मात्रामा नर्सरी संचालन भइरहेका छैनन् । हरेक स्थानीय तहमा सामुदायिक वा निजी रुपमा नर्सरी स्थापना गर्नसके स्थानीय स्तरमा रोजगारीका साथै वातावरणको संरक्षण हुनेछ । उता हाम्रा वन पाखामा खेर गइरहेका जडिबुटीहरुका बारे राम्रोसँग अध्ययन गरी जडिबुटी संकलन, भण्डारण, प्रशोधन तथा बजारीकरण केन्द्रको स्थापना गर्नसके स्थानीय स्तरमा रोजगारीका प्रशस्त अवसरहरु खुल्ने थिए । बागलुङ जिल्लाबाट अहिलेका दिनसम्म जडिबुटीको कच्चा पदार्थहरु मात्र निर्यात भएका छन् । बागलुङ जिल्लामा जडिबुटी संकलनका लागि धेरै नै पकेट क्षेत्रहरु रहेका छन् । जडिबुटीहरुको व्यापक रुपमा उपलब्धता सम्बन्धी आवश्यक अध्ययन गरी जडिबुटी प्रशोधन तथा बजारीकरण केन्द्र स्थापना गरे वनजंगल समृद्घिको आधार बन्ने पक्का छ ।बागलुङ जिल्लामा वनजंगलः पर्यापर्यटनको भरपर्दो आधार पर्यटन प्रवद्र्घनका लागि अति आवश्यक तत्वका रुपमा आकर्षणलाई लिइन्छ । वनजंगल र वनजंगलमा आश्रित समुदाय कुनै पनि पर्यटकका लागि आर्कषणका केन्द्र विन्दुको रुपमा रहेका हुन्छन् । पर्यापर्यटन अर्थात् इकोटुरिजमको मूल विशेषता भनेकै पर्यटकहरुको आगमन सँगसँगै प्राकृतिक वातावरणको संरक्षण र स्थानीय समुदायको आर्थिक विकास हो । पर्यापर्यटनले स्थानीय समुदायको संस्कृतिलाई सम्मान गर्दे समुदायलाई आर्थिक क्षेत्रमा फाइदा पु¥याउँछ । पर्यापर्यटनको आधारभूत सिद्घान्तहरु भनेका प्राकृतिक÷सांस्कृतिक स्रोतहरुको दिगो व्यवस्थापन, सामुदाय सहभागिता, सामाजिक तथा साँस्कृतिक दिगोपन, स्थानीयहरुमा आर्थिक फाइदा र पर्यटकहरुलाई गुणस्तरीय भ्रमणको अनुभूति हुन् । पर्यापर्यटनका गतिविधि अन्तर्गत पदयात्रा, वन्यजन्तु अवलोकन, प्रकृति तथा साँस्कृतिक सम्पदाको अवलोकन, क्याम्पिङ, माछा मार्ने, पौडी खेल्ने, होम स्टे आदि पर्दछन् । बागलुङ जिल्लामा पर्यापर्यटनको प्रचुर संभावना छ । जिल्लाका सम्पूर्ण स्थानीय तहमा जैविक विविधतायुक्त अनेकौं ठाउँहरु हुनाले हरेक स्थानीय तहमा पर्यापर्यटन विकास गर्नु अत्यावश्यक छ । जिल्लाको ढोरपाटन क्षेत्र, घुम्टे लेक, ताराखोला क्षेत्र, पाण्डवखानी, भकुण्डे इत्यादि क्षेत्रहरु पर्यापर्यटनका हिसाबले महत्वपूर्ण ठाउँहरु हुन् । बागलुङ जिल्लाको भू–बनोटमा टारी, बेसी, मध्य पहाड र उच्च पहाडी लेकहरुको समिश्रण रहेकोले पनि यो जिल्ला जैविक रुपमा धनी छ । यहाँको धरातलीय स्वरुप दक्षिणबाट पश्चिम–उत्तर र पूर्वबाट पश्चिम क्रमशः उच्चाई वृद्घि हँुंदै गएको भए तापनि दक्षिण र मध्यभागका केही स्थानहरु निक्कै उच्च पहाडी धरातलमा रहेका छन् । यहाँका जंगल, वन्यजन्तु, वनस्पति तथा भूबनोट पर्यटकहरुका लागि महत्वपूर्ण छन् । पर्यापर्यटनको महत्वपूर्ण गतिविधि पदयात्रा, वन्यजन्तु, वनस्पति र प्रकृतिको अवलोकनका लागि वन जंगल आधारशिला हो । उचित रुपमा वनजंगलको संरक्षण, सदुपयोग र व्यवस्थपान गर्नसके यसले पर्यापर्यटन मार्फत स्थानीय समुदायलाई आर्थिक रुपमा समृद्घि बनाउने निश्चित छ ।उपसंहार प्रकृतिको अनुपम उपहार वनजंगलको उचित संरक्षण, व्यवस्थापन र सदुपयोग गरे हाम्रै पालामा हाम्रो जिल्लाको समृद्घि संभव छ । लामो समयको तपश्या पश्चात् देशको केन्द्रीकृत राज्य प्रणाली परिवर्तन हुँदै गाउँमुखी भइरहेको बेला वन क्षेत्रका अनेकौं हरित रोजगारीका अवसरहरुलाई आत्मसाथ गर्दै वन क्षेत्रमार्फत आर्थिक तथा वातावरणीय समृद्घिका लागि हरेक स्थानीय तह जाग्नुपर्ने बेला भइसकेको छ । वनको श्रोत समुचित उपयोग गरी स्थानीय स्तरमा रोजगारीका साथै राजश्वमा वृद्घि गरेर आर्थिक विकास, सामाजिक विकास र वातावरणीय विकासका लागि सम्पूर्ण आम सरोकारवाला तथा सामाजिक अगुवाहरुको ध्यान जाओस् । जय वनजंगल संरक्षण । जय समुचित उपयोग ।। जय आर्थिक समृद्घि ।।। (थापा जिल्ला वन कार्यालय बागलुङका सहायक वन अधिकृत हुन् ।)