ईतिहासमा छुट्टै राज्यको नाम पाएको गल्कोटलाई फेरी समृद्ध र आत्मर्भिर बनाउनका लागि गल्कोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरे यतिबेला लागि परेका छन् । यस्ता छन् नगर प्रमुख गरैका योजनाहरु । हजुर स्थानीय सरकारको प्रमुखमा विजयी हुनुभएको छ ।
यहाँका जनताको समृद्धिका लागि कस्तो कार्यक्रम गर्दै हुनुहुन्छ ?
गलकोटमा रहेको सीमित स्थानीय स्रोत, साधन र सीपको अधिकतम प्रयोग गरी गलकोटको समृद्धि गर्नु मेरो मुख्य लक्ष्य, नैतिक र राजनैतिक जिम्मेवारी पनि हो । यी जिम्मेवारीहरुलाई इमान्दारितापूर्वक पूरा गर्नका लागि खास यस क्षेत्रमा उपलब्ध हुनसक्ने स्रोत, साधन र सीप के हुन् त्यसको पहिचान जरुरी छ । गलकोट नगरपालिकाको धरातलीय यथार्थतालाई विभिन्न पक्षबाट अध्ययन गरेर योजना अगाडि बढाउनुपर्ने वर्तमान आवश्यकता हो, तसर्थ हाललाई गलकोट नगरपालिकाका आम टिम त्यसैतर्फ उन्मुख छ । आशा गरौं समयको अन्तरालमा सकारात्मक परिणाम सबैले अनुभूति गर्नेछन् भन्ने पूर्ण विश्वास छ ।
समृद्ध गलकोटको नारा धेरै पहिलदेखि नै उठ्ने गरेको छ । यो नारालाई सार्थकता दिन नगरपरिषद्बाट खास के कार्यक्रम अगाडि सार्नुभएको छ ?
समृद्ध गलकोटको नारालाई कार्यान्वयन गर्नका लागि गत असार ३१ गते सम्पन्न प्रथम नगरसभाले केही नीति र कार्यक्रमलाई अगाडि सारेको छ । तिनै नीति र कार्यक्रमको जगमा रहेर समृद्ध गलकोटका लागि केही पूर्वाधार तयार गर्न उपलब्ध सीमित स्रोत, साधन र समयको पावन्दीको बावजुत सडक सञ्जाललाई प्राथमिकता दिँदै सामाजिक विकास, विपद् व्यवस्थापन, कृषि, शिक्षा जस्ता महत्वपूर्ण कार्यक्रमलाई विशेष महत्व दिएर योजना तर्जुमा गरी बजेट विनियोजन गरिएको छ । आशा छ यी कार्यक्रमहले समृद्ध गलकोटका लागि पूर्वाधार तयार गर्न सहयोग गर्नेछन् ।
अहिलेसम्म मुलुकको समृद्धिको बाधक के हो भन्ने लाग्छ यहाँलाई ? अनि त्यसको निराकरणका लागि स्थानीय सरकार सक्षम होला त ? हुन्छ भने कसरी ?
अहिलेसम्म मुलुकको समृद्धका बाधक रहेको छोटो तितो शब्द भन्नु पर्दा मुलुक र जनताप्रति प्रत्यक्ष उत्तरदायित्व, जवाफदेहीता र इमान्दारिता नरहने राजनैतिक नेतृत्व र व्यक्तित्वको आडमा मौलाएको राजनैतिक संस्कार र त्यसैको छत्रछायाँमा हुर्केको कर्मचारीतन्त्र हुन । यी दुवै पक्षको मुलुक र जनताप्रतिको विश्वासघातको आडमा संस्थागत बन्दै गएको भ्रष्टाचार, नातावाद र कृपावाद नै समृद्धिका लागि बाधक हुन् । यो अवस्था निराकरणका लागि स्थानीय सरकार सक्षम हुनुपर्छ । किनकी स्थानीय जनता र स्थानीय सरकारका प्रतिनिधिहरु र स्थानीय जनतासँग प्रत्यक्ष सरोकार साख्ने संस्था, व्यक्ति, व्यक्तित्वहरु जनताप्रति जवाफदेहीता र उत्तरदायित्व रहने अवस्था हुने हुँदा भ्रष्टाचार जस्तो जनताप्रति गरिने जघन्य अपराधलाई पूर्ण रुपमा निरुत्साहित गर्न नसके पनि डिग्री कम गर्न सकिन्छ ।
अन्त्यमा ढोरपाटन दैनिकमार्फत् केही भन्न चाहनुहुन्छ ?
ढोरपाटन दैनिकले पत्रकारिताको मर्यादा र आचरणमा रहेर जनताप्रतिका दायित्वलाई पुरा गर्दै आएको छ । आगामी दिनमा यो आफ्नो उदेश्यमा अविचलित रुपमा लागिरहोस । प्रजातान्त्रिक मूल्य र मान्यता अनुसार अगाडि वढ्न सफल होस् । यही शुभकामना ।