काजीगाउँले श्रेष्ठ -सम्वत २००२ साल भन्दा अगाडी हामी आफ्नै घरबुना कपडा ठूटे भोटो, कछार, टोपी, चाल्ने सिस्नोको खाडी, गुन्यु, चोलो, पटुकी, मजेत्रो, ऊँनका कम्मल, घुम, पाखी आदिमा आत्मनिर्भर थियौं । याक भोट पुगेर नुन ल्याउँथेऊँ, चामलसँग साटेर । घ्यू, जडिबुटी बुटवल पु¥याएर मट्टितेल, मरमसला र केही लत्ता कपडा ल्याउँथेऊँ । आफ्ना उत्पादन आवश्यक बस्तुसँग साटासाट गथ्र्यौं । त्यसबेला जातिय विभेद, धर्म संस्कृतिले समाजलाई दोहो¥याएको हुन्थ्यो । जग्गा जमिन र पशुबस्तुभाउ धेरै हुनुलाई सम्पन्नताको मानक मानिथ्यो । मुल्गानी लाहुरेहरुको तलब पनि त्यति धेरै हुँदैनथ्यो । जागिर सिमित थियो । जडिबुटी, झारफुक, धाँमीझाक्री स्वास्थ्य उपचारका मुख्य माध्यमहरु थिए । जिम्मावाल प्रथा, मुखियाली, कटुवाले आदिबाट स्थानिय सरकार चल्थ्यो । रोधी, झ्याउरे, मेला आदि मनोरञ्जनका साधानहरु थिए । व्यापारीहरु थोरै थिए । खानीजन्य पदार्थहरुको उत्खनन् हुन्थ्यो । घरगाउँलाई चाहिने भाँडाकुँडा, हातहतियार, कृषि औजार गाएँ घरमै बन्दथे । जुत्ता आदि बुन्थे, कपडा आदि तयार हुन्थ्यो । घर बनाउने कच्चा पदार्थ स्थानिय क्षेत्र मै उपलब्ध थिए । हिउँदमा झुलुङ्गे पुलहरु बन्थे । बाटोघाटो स्थानिय श्रमदानबाटै बन्थे । वन इन्धनको मुल श्रोत थियो । मानिसका आकाँक्षा थोरै थियो, कसरी गुजारा चलाउने भन्ने स्थितिमा हाम्रा आवश्यकता पनि सिमित थिए । भोट मदेश गर्दाको यात्राहरु (नुन तेलको लागि) दुःख कस्टका साथ झुण्ड झुण्डमा हिडेर पनि रमाइलो मै परिणत हुन्थे । विश्वयुद्ध ताक धेरै स्थानिय रणमा परे मरे, हराए, अपाङ्ग भए बसाई सराई गरे । दोस्रो विश्वयुद्धपछि विश्वमा चेतनाको आँधीबेरी आयो । भारत, चीन स्वतन्त्र भए, नेपाल पनि खुल्ला संसारसँग परिचित भयो ।राणा शासन अन्तपछि हामी स्वतन्त्र हुन्छौं र हामी कहाँ समृद्धि आउँछ भनियो, राणा शासन गयो । प्रजातन्त्र भन्ने आयो, पंचायतभन्ने आयो, प्रजातन्त्रको पुनःस्थापना पनि भयो र आज संघिय गणतन्त्र आएको पनि एक दशक पुगिसक्यो । आजसम्म पनि हामीलाई समृद्धिको महशुस हुन सकेको छैन । २०७२÷०६÷०३ गते नेपालको संविधान बन्यो । संविधानको भाग ५ मा राज्यको संरचना र राज्य शक्तिको बाँडफाँडको व्यवस्था छ । धारा ५६ मा नेपालको मुल संरचना संघ, प्रदेश र स्थानिय तह गरी तीन तहको हुने कुरा उल्लेख गरिएको छ । धारा ५६ को उपधारा (४) मा स्थानिय तह अन्तरगत, गाउँपालिका, नगरपालिका र जिल्ला सभा रहने कुरा उल्लेख छ । धारा ५६ (६)मा तीन तहले संरक्षण गर्ने विषयको विवरण छ । धारा ५७ (४) मा स्थानिय तहको अधिकार अनुसुची ८ मा उल्लेख गरिएको र संघ प्रदेश र स्थानिय तहको साझाा अधिकार धारा ५्र७ (५)को अनुसुची ९ मा रहेको बारेमा उल्लेख छ । उक्त संवैधानिक व्यवस्था उल्लेखित अधिकार कानुन बनेर प्रयोगमा ल्याउने प्रष्ट व्यवस्था हुन बाँकी रहेको छ । संविधानको भाग १७ मा स्थानिय कार्यपालिका, भाग १८ मा स्थानिय व्यवस्थापिका र भाग १९ मा स्थानिय आर्थिक प्रणालीको बारेमा व्यवस्था गरिएको छ । संविधानमा व्यवस्था भएको स्थानिय सरकारले स्थानिय तहमा समृद्धि ल्याउन सक्छ ? यो यक्ष प्रश्न हो । हामीसँग अथाहा अवस्थाहरु र केही चुनौतीहरु छन् । हाम्रो गाउँपालिका र नगरपालिका (गा.पा. र न.पा.)को वर्तमान अवस्था के छ ? त्यसको सहि आँकलन हुनुपर्छ । समृद्धि भनेको फल्नु फल्नु, सम्पन्नता, ऐश्वर्य, धन सम्पत्ति, शक्ति, सर्वोपरिता हो । हराभरा, प्रसन्नता पनि हो । बाटो, विद्युत, संचार, जनशक्ति, प्रविधिको पूर्वाधार तयार नगरी स्थानिय तहको समृद्धिको बारेमा हामी सोच्न पनि सक्दैनौं । यस्को लागि हामीले केन्द्र र प्रदेश सरकारसँग सहकार्य गर्ने एजेन्डाहरु तयार गर्नुपर्छ र सो अनुसार पहल कदम चाल्नुपर्ने पनि हुन्छ । जिल्लाको हिसाव गर्ने भए हामीसँग कालीगंगा, बडिघाट जस्ता सिमाना नदीहरु पनि छन् । जलविद्युत, पिउने पानी, सिचाई, पर्यटन, जल, जन्तु र सांस्कृतिक एवं धार्मिक कार्यहरु लागि हामीहरुले अन्तरजिल्ला र अन्तर प्रदेश समन्वय गर्नुपर्ने आवश्यकता पर्छ र त्यसको लागि हामी तयार रहन आवश्यक छ । हामीसँग काठेखोला, दरमखोला, तमान, निसी, भुजी, उत्तरगंगा, कालुङखोला, ठेउले जस्ता दर्जनौं आन्तरिक खोलानालाहरु छन् । पेसवर जलविद्युत, सिचाई, खानेपानी, माछापालन, पौडी पोखरी जस्ता बहुउपयोगी आयआर्जनका कामहरु संचालन गर्न सक्छौं । हामीसँग ढोरपाटन, घुम्टे, काली, थाप्ले, सोले, गाजा जस्ता कैयौं वन, चरण, लेकहरु र सामुदायिक वनहरु छन् जसमा जीवजन्तु, काठपात, पशुपालन, जडिबुटी, इन्धन आपूर्ति, आदि आयआर्जनका प्रच्युर सम्भावना छन् । ढोरपान क्षेत्र आन्तराष्ट्रिय ख्यातीको सिकार क्षेत्र पनि हो । यसबाट हामीले मनोग्य आयआर्जन गर्न सक्छौं । हामीसँग कैयौं खेतका फाँटहरु, बारीहरु, पाँखाबारीहरु, पाखा पखेराहरु, भिरहरु छन् । जसबाट अन्न, तरकारी, फलफुल, दाउरा, घाँस, बाली, फुलबारी आदि आय आर्जनका कामहरु भै रहेका छन् । ती धेरै परम्परागत भएको हुँदा त्यस्मा आधुनिक प्रविधि, विज, विजन, मलरवाद सिचाईको प्रयोगबाट धेरै गुणा उत्पादन वृद्धि गर्न सक्छौं । हामीकहाँ कालीगण्डकी तत्का तिर्थ स्थलहरु कालीका भगवती, थन्थापकी माई, भकुण्डे भैरव, सत्यवती, उत्तरगंगा ऐतिहासिक कोटहरु, बराह, भुमे जस्ता कैयौं एतिहासिक र सांस्कृतिक महत्वका एवं धार्मिक स्थलहरु छन् जस्को बाह्य र आन्तरिक पर्यटनको विकास हुन सक्छ । हामीकहाँ नेपाली कागज बनाउने लोक्ता, डालो, नाङ्गलो, सोली, सेक, मान्द्रो, डोको, थुन्से, पिरिङ्गे, दाम्लो, नाम्लो बनाउने निगालो बाँसहरु प्रसस्त छन् । तामा, शिसा, फलाम स्लेट ढुङ्गा र विछाउने ढुङ्गाको खानीहरु छन् त्यसबाट रोजगार र आवश्यकता पूर्ति हुन सक्छ । हामी कहाँ विरसाली पन्त, भगत सर्वजित वि.क., लाल बहादुर थापा र कुल बहादुर थापा (भि.पि तक्मा पाएकाहरु) सहित थिरबम बम मल्लको जन्म थलोहरु छन् । यस्को छुट्टै महत्व र गाथाहरु छन् । ढोरपाटन र बलेवा विभिन्न स्थलहरु चालु र व्यवस्थापन गर्न सक्छौं । मध्यपहाडी राजमार्ग र कालिगण्डकी करिडोरबाट हामीले लाभ उठाउन सक्छौं । अन्तराष्ट्रिय महत्वको पर्यटकीय स्थलहरु पोखरा र अन्नपूर्ण क्षेत्रसँग हामी जोडिएका छौं । त्यससँग हामी जोडिन बाँकी छ । हिन्दु र बौद्धहरुको अन्तराष्ट्रिय महत्वको तिर्थ स्थल मुक्तिनाथ र विश्वकै रहस्यमय खजाना मुस्ताङ्ग जाने ढोकामै हामी छौं तर प्रवेश र निकासको ढोका हामी बन्न सकेका छैनौं । हाम्रो क्षेत्र भोट मदेश गर्ने महत्वपूर्ण केन्द्र पनि हो । हामी समृद्ध बन्न हाम्रा बाँझो हुँदै गएका जमिनहरु हराभरा गराउनु पर्छ । रोजगारका लागि बाहिरीने जनशक्ति यसै स्थानमा रही काम गर्ने अवसरको सृजना गरिनु पर्छ । हाम्रो स्थानिय सरकार देशको कानुन र देशले अनुमोदन गरेका अन्तराष्ट्रिय महासन्धी र अनुबन्धन भित्र रहेर काम गर्न सक्ने निकाय हो । संविधानको धारा ५६ (५) अनुसार निसी भुजी क्षेत्रमा सामाजिक सांस्कृतिक संरक्षण गरी त्यहाँको वन चरण एवं जल सम्पदा आर्थिक विकासका लागि विशेष क्षेत्र हुन सक्छ । अन्तराष्ट्रिय र अन्तरदेशीय पर्यटनको लागि त्यो क्षेत्र संरक्षित हुनुपर्छ, त्यो क्षेत्रलाई स्वायत्त क्षेत्र पनि कायम गरिनु पर्ने देखिन्छ । पहाड, खोलानाला, उतार चढाव अवस्थित भुमि रहेको कारणले यातायातको सुविधा छैन, भएका जोखिमयुक्त छन् । उकालो बरालो हिड्ने बानी नपरेकाहरुलाई यात्रा कष्टप्रद छ तै पनि प्रकृति सुन्दरताले भरपुर छ हाम्रो भुमि । आजको विकासको मोडेल लगानीमा आधारित छ । फाईदा लिन सकिने क्षेत्रमा लगानीको ओइरो लाग्न सक्छ त्यस्को लागि विकासको मोडेल बनाएर हामी तयार हुनुपर्छ । विदेसिएका हाम्रो श्रम शक्तिलाई आफ्नै स्थानमा रोजगारीको अवसर, स्कीम हामीले तयार गर्न सक्नुपर्छ । हामीकहाँ आउने रेमिटेन्सलाई पुँजीमा रुपान्तरण गर्नुपर्छ । पर्यटन, जलश्रोतको उपयोग, वनजन्य उद्योग, तरकारी र फलफुलको उत्पादन, भैसी, गाई, वंगुर कुखुरा, हाँस, माछा आदि पालन र दुध, ध्यू, मासु, अण्डा समेतको कारोबारको हामीकहाँ ठूलो सम्भावना छ । घरेलु मदिरालाई प्रोत्साहित गरी बाहिरीलाई निषेध गर्नुपर्छ । समृद्धिको आर्थिक पाटोमात्र हैन मानसिक पाटो प्रसन्नता पनि रहेको छ । हाम्रो बलेवाका मन बहादर र राङखानीका गोरे श्रीस लोकगितका आदि पुरुषहरु हुन । हाम्रो निसी भुजी क्षेत्रमा आदिम संस्कृतिको अवसेस अझै बाँचेको छ । हामीकहाँ तिर खेल्ने, रोडी, घाटु, सराप, झाँक्री, भुमेपुजा, पुतली नाच आदीवासी, जनजातिसँग सम्बन्धित संस्कृतिक सम्पदाहरु छन् । झ्याउरे लगायत अनेक लोकगित र सांस्कृतिक कार्यहरु त बस्ती बस्तीमा छ । हनुमान, लाखे, जोगी, रोपाई, ठेट्टा, घोडा, आदि नेवारी समुदायसँग जोडिएको सांस्कृतिक नाच एवं गतिविधिहरु छन् । गाईनेका गित, पञ्चेबाजा, भजन, किर्तन, नाँच, जान, आदि खसहरुसँग सम्बन्धित मनोरञ्जनका साधनहरु छन् । हामी पप, ¥याप, दाङदुङ्गसँग परिचित हुन खोज्दै छौं । हाम्रा मौलिक बाजा बाध्यबाधनहरु छोडिदै जान थालेका छौं । टेपमा ट्राक लगाएर गाउन नाँच्न थालेका छौं । हाम्रो आफ्नो प्रसन्न के मा छ त्योसँग हाम्रो समृद्ध जोडिएको छ । चेतै दशै जस्ता मेला जात्राहरु हाम्रो कोटै पिच्छे छन्, दशै तथा मोदनी, तिहार तथा देउसी भैलो, जित, हरेलो, माघे संक्रान्ति जस्ता चाड पर्वहरु हामीमा स्थानियकरण भएर प्रचलनमा रहेका छन् । यस्ले पनि हामीलाई आफ्नोपन सभ्य, सफा, सविनय, स्वच्छन्द्ध र आफ्नोपनको चेष्ट दिने गरिरहेको छ । भेलाइन्टाइन डे, गुड फ्राईडे जस्ता भन्दा हामी आफ्नापनमा बढि प्रसन्न रहन सकने छौं । शिक्षा, स्वास्थ्यलाई हामीले विशेष महत्व दिनुपर्छ । यो क्षेत्रको आधारभुत विकासविना आजको युगमा हामी विश्व प्रतिस्पर्धामा खरो उत्रन सक्दैनौ । हाम्रो दिगो समृद्धिको जग भनेको समय अनुकुल शिक्षा हो । मान्छे स्वस्थ्य नभै उसले जीवनमा केही गर्न सक्दैन । यी तथ्यहरुलाई हामीले नजरअन्दाज गर्न हुँदैन । स्थानिय सरकार शक्तिशाली, विवेकशिल, दक्ष, इमान्दार, गतिशिल, निश्पक्ष, पारदर्शी, सुशासनयुक्त, निर्भिक र नीति प्रधान भयो भने सवैको आफ्नो हो भन्ने पार्न सक्यौ भने ‘साग र सिस्नो खाएका बेस आनन्दी मनले’ हुन सक्छ । केन्द्र सरकार जस्तै शक्तिशाली दल र भुमिगत शक्तिको कठपुतली बन्यो भने हाम्रो भाग्यलाई धिक्कार्ने हैन सुधार गर्न कठोर कदम अगाडी सार्नु पर्छ ।
Previous Articleसमृद्ध गाउपालिका ; निर्यातमुखी उत्पादन
Next Article स्थानीय सरकारले चाहेमा समृद्वि सम्भव