प्रकाश घर्ति अध्यक्ष, ताराखोला गाउँपालिका
तपाई स्थानीय सरकारको प्रमुखमा निर्वाचित हुनुभएको छ , यहाँका जनताको समृद्धिका लागि के कस्तो कार्यक्रम गर्दै हुनुहुन्छ ?
पहिलो काम सिंहदरवारलाई गाउँमा ल्याएको अनुभूति दिनेगरी जनताको सेवामा लाग्ने हाम्रो जिम्मेवारी हो । हिजो सम्म सामान्य काममा सदरमुकाम पुग्ने गरेको देखि सिंहदरवार पुगेर पनि गर्न नसकेका काम गरेर जनतालाई वास्तविकताको अनुभूति दिने हाम्रो काम हो । साथै संघियता किन आवश्यक थियो भन्ने बुझाउने दायित्व पनि हाम्रो काँधमा आएको छ । त्यसका लागि आम जनतालाई राजनीतिक र सामाजिक ससक्तिकरण गर्न आवस्यक छ । विकास निर्माणमा आत्म बोध गर्ने, यो क्षेत्रका पर्यटन, कृषि र अन्य विकासका संभावनाको खोजी गरेर त्यसका लागि लगानी बढाउने काम समेत हाम्रो हो । जनप्रतिनिधिको नाताले जनताको सेवामा लाग्ने काम भएपनि कृषिको व्यवसायिकीकरण, स्वास्थ्य, यातायात लगायतका विकासको फल दिन पनि हामीले लाग्नुपर्छ । त्यसका लागि जनताले पनि आफ्नो क्षेत्रको काम गर्नुपर्छ भन्ने बुझ्नु पर्छ । निर्यातमुखी उत्पादन गर्न सकेमा मात्र समृद्ध गाउँपालिकाको रुपमा चिनिन सकिन्छ ।
समृद्धिका लागि स्थानीय सरकार भन्ने नारालाई सार्थकता दिन गाउँपरिषदबाट के–के कार्यक्रम अगाडि सार्नु भयो ?
राष्ट्रिय योजनाहरु गाउँसम्म नआउने र आएको खण्डमा पनि स्थानीयको चाहना, आवस्यकता अनुसार भएका छैनन् । तसर्थ स्थानीय जनताको चाहना, सहभागिता र लगानीमै समृद्ध समाज निर्माण गर्नुपर्छ भन्ने भावना अव विकास गर्नका लागि हामीले परिषद गरेका छौं । जनतालाई अपनत्व महसुस नगराएसम्म बजेट र कार्यक्रम आएर पनि दिगो बन्दैनन् भन्ने हामीले बुझेका छौं । तसर्थ तत्कालिक रुपमा ३ बर्षमा के गर्न सकिन्छ ? मध्यकालिन रुपमा ५ बर्षमा के गर्न सकिन्छ र दिर्घकालिन रुपमा १० बर्षमा के गर्न सकिन्छ भन्ने योजना र कार्यक्रम बनाउने अभियान पनि चलेको छ । पहिलो बर्षका लागि भने आवस्यक काम गर्नका लागि बजेट विनियोजन गरेका छौं । गाउँपरिषदबाट तत्कालै कृषिको व्यवसायिकीकरण गर्ने, उत्पादन बढाउने र रोजगारीका अवसर सिर्जना गर्न सकिने गरी कार्यक्रम बनाएर लागेका छौं ।
अहिले देशको समृद्धिका लागि बाधक के हो जस्तो लाग्छ ?
राष्ट्रिय विकास र समृद्धिको बाधक नेपालको नीतिनै थिए । किनकी नीति राजधानीमा बसेर बनेका छन् । काम गर्नुपर्ने स्थान दुरदराज छन् । ती स्थानमा के आवस्यकता छ, कुन मोडलले काम गर्दा सफलता पाउन सकिन्छ भन्ने सिंह दरवारले जानेको थिएन । तसर्थ हरेक राम्रा नीतिहरु असफल भएका थिए । अवका दिनमा यस्ता क्रियाकलापहरु गाउँपालिकामै छलफल हुन्छन् । केही नीति स्थानीय तहमै बन्छन् र कार्यान्वयन गर्ने अधिकार पनि छ । साथै करका दायरा बढाएर हामीले हाम्रो लागि केही बजेट पनि यही संकलन गर्ने भएकोले अवका दिनमा समृद्धिको बाटो खुलेको छ भन्ने हामीलाई लागेको छ ।
सबै कमजोरी अन्त्य गर्न स्थानीय सरकार सफल होला त ?
यस अघिका हरेक सरकारको काम सिंहदरवारमा बसेर बनाएको आधारमा हुन्थ्यो तसर्थ सफल भएका थिएनन् । अव हामीले फिल्डमा बसेर बनाएका कार्यक्रमले सफलता पाउनुपर्छ भन्ने विश्वास छ । साथै जनताले पनि अव आफ्नो भनेर काम गर्ने बेला आएको छ । आफ्नै लगानी, आफ्नै मेहेनत र आफ्नै सफलतालाई सबैले मनन् गरेर जान सकेमा स्थानीय सरकार सफल हुन्छ । विशेषगरी ताराखोला गाउँपालिकाको कुरा गर्ने हो भने यहाँ कृषि, जलविद्युत र पर्यटनबाटै समग्र विकासको खाका कोर्न सकिन्छ । अवको बिकासमा हामीलाई भोट दिने नदिने सबै जनताको साझा अभियान हुन जरुरी छ । साथै भूगोल, जाती, समुदाय जस्ता बिषयमा हामी अल्झेर होइन्, समग्रतामा यो क्षेत्रको आवस्यकता, संभाव्यता र अवसरका रुपमा लिएर काम गर्ने अनि सफलता पाउनुपर्छ । अव महिला, दलित, उत्पीडित समुदायको एजेण्डाले जितेको छ, त्यसलाई स्थापित गर्न सक्नुपर्छ भनेर हामी लाग्ने वित्तिकै विकासले फड्को मार्नेछ ।
Previous Articleमध्यपहाडी सडकबाट भरपुर फाइदा
Next Article समृद्विका लागि स्थानीय सरकार