अमर थापा गैरसरकारी क्षेत्रमा क्रियाशिल हुँदाहुँदै काठेखोला गाउँपालिकाको अध्यक्षमा निर्वाचित भए । जनप्रतिनिधि भएपछि उनले विकास निर्माणका काममा पनि उत्तिकै चासो दिएका छन् । विकासका लागि राजनीतिक दल, सामाजिक कार्यकर्ता, गैससंको समान सहभागिता र रेमिट्यान्सको सदुपयोगबाट समृद्धि खोज्नुपर्ने धारणा राख्छन्
तपाई स्थानीय सरकारको प्रमुखमा निर्वाचित हुनुभएको छ, यहाँका जनताको समृद्धिका लागि के कस्तो कार्यक्रम गर्दै हुनुहुन्छ ? काठेखोला गाउँपालिका यस्तो भौगोलिक अवस्थामा छ की भौतिक पूर्वाधारको विकास नगरेसम्म अन्य क्रियाकलापबाट समृद्धिको कल्पना पनि गर्न सकिंदैन । पहिलो चरणमा बाह्रै महिना यातायात चल्ने गरी सडकको स्तरउन्नती गर्ने पहिलो जिम्मेवारी हो । सडककै माध्यमबाट आर्थिक समृद्धिको ढोका खोल्न सकिन्छ भन्ने हाम्रो मान्यता छ । त्यसपछि आयआर्जनका क्रियाकलापलाई जोड दिन्छौं । व्यवसायिक कृषिमा किसानलाई आर्कषित गर्ने, पशुपालन, दूध, तरकारीको उत्पादन बढाएर लैजाने योजना छ । जोडकोष बनाउनका लागि १ करोड रकम विनियोजन भएको छ । गैरसरकारी संस्था लगायत जो सुकैले समृद्धिका लागि बनाएर आउने कार्यक्रमका लागि सहकार्य गरेर जान सकिन्छ ।
समृद्धिका लागि स्थानीय सरकार भन्ने नारालाई सार्थकता दिन गाउँपरिषदबाट के के कार्यक्रम अगाडि सार्नु भयो ?
पब्लिक प्राईभेट पाटनरशिपको आधारमा विकासका कार्यक्रम अगाडि बढाउने नीति बनाएका छौं । सबैलाई शुद्ध खानेपानीको व्यवस्था पु¥याउने, बागलुङ नगरपालिकाको संसारकोटदेखि धम्जा, घोडाबाँधे हुँदै चापाखर्कसम्म पुग्ने मोटरमार्ग बनाएर पर्यटन प्रवद्र्धन गर्ने लक्ष राखेका छौं । गाजा दहमा पर्यटक पु¥याउनका लागि जैमीनी नगरपालिकाको समेत सहकार्यमा सहज मोटरमार्ग पु¥याउने कार्यक्रम समावेश छ । घोडाबाँधेमा सामुदायिक होटलको व्यवस्था गरेर पर्यटक आर्कषण गर्न सकिन्छ । मध्यपहाडी लोकमार्गको क्षेत्र भएकोले देशको पूर्व पश्चिममा यात्री आवतजावत गर्दा बसेर खाना खाने, सके एकरात बस्ने व्यवस्था गर्न सकियो भने आर्थिक समृद्धिको अधारको ढोका खुल्छ । युवाहरुले रोजगार पाउने, किसानको उत्पादनले बजार पाउँछ । जडिबुटीको संभाव्यता खोजी गरेर उत्पादन र निर्यातमुखी बनाउने, सबै वडामा सहज यातायात पुग्नेगरी सडकको स्तरउन्नती गर्ने र शिक्षा, स्वास्थ्य, रोजगार र उत्पादनको क्षेत्रमा जनताको पहुँच वृद्धि गर्ने कामबाटै समृद्धिको चाहना राखेका छौं ।
अहिले देशको समृद्धिका लागि बाधक के हो जस्तो लाग्छ ?
शिक्षाको विकास नहुनुनै देशको समृद्धिको बाधक हो । काठेखोला गाउँपालिकामा पनि शिक्षाको कमी छ । जनप्रतिनिधि बिहीन भएको समयमा जनताले राज्यको अनुभूति पाउन सकेका थिएनन् । सदरमुकाम केन्द्रीत विकासलाई गाउँमूखी बनाउन नसक्दा लामो समय विकासले गति लिन नसकेको हो । रोगजारीको अभावले युवाहरु पलायन भए । यस्ता चुनौतीको बिचमा आएका जनप्रतिनिधिबाट जनताले विकासका संभावना खोज्नुपरेको छ । काठेखोला गाउँपालिका भित्रका ५१ वटा विद्यालयका प्रअको भेला राखेर गुणस्तरीय शिक्षाको विकासमा हामीले केही काम थालिसकेका छौं । विद्यालय नआएका बालबालिकालाई भित्राउने र छाड्ने दर शुन्यमा झार्ने प्रयासको थालनी गर्दैछौं । समृद्धिको बाधकको रुपमा रहेको शिक्षाको कमीलाई केही बर्षमा पुरा गर्न तयार छौं । पाठ्यक्रममा समेत सुधार गरेर जाने योजना पनि हामीले बनाएका छौं । अर्कोतर्फ हाम्रो लागि भूगोल पनि बिकासको चुनौती हो । बाढी पहिरो, बिरामीलाई सहज रुपमा उपचारका लागि अस्पताल लैजान नसक्ने र रेमिट्यान्सको सदुपयोग हुन नसक्दा विकासमा परेको असरलाई मनन् गरेर काम गर्ने योजना पनि छ । व्यक्तिगत लगानीमा आर्कषण गर्ने, सुरक्षाको व्यवस्था गरिदिन सकियो भने समृद्धिका लागि केही काम हुनेछ । साथै एउटा पेट्रोल पम्म संचालन गरेर केही युवालाई रोजगारी दिने र ढुवानी गरेर तेल हाल्नुपर्ने चलनको अन्त्य गर्न सकिने योजना पनि छ ।
सोचेजस्तो समृद्धि ल्याउन स्थानीय सरकार सफल होला त ?
संविधानले कल्पना गरेको ३ तहको सरकार र उनीहरुको काम कर्तव्य अधिकारलाई पूर्ण पालना गर्ने हो भने सफल हुन सकिन्छ । तर समय समयमा आउने आदेश मार्फत स्थानीय तहको अधिकार कटौती गर्ने काम भएको छ । कर्मचारीमा बरिष्ठ र कनिष्ठको समस्या समायोजन भएको छैन । गाउँपालिकामा आवश्यक जनशक्ति पनि राज्यले पठाउन सकेको छैन । तसर्थ काम गर्न कठिन भएको छ । पूर्वाधारको रुपमा बस्ने घर पनि नभएका गाउँपालिकालाई आफ्नो नियमित काममा पुग्नै धेरै समय लाग्ने देखिन्छ । २२ वटा अधिकारको पूर्ण पालना गर्न पाउने अवस्था आउनुपर्छ । सफलतामा पुग्नका लागि सबै क्षेत्रको समानुपातिक विकास हुन जरुरी छ । जनता शिक्षाबाट वञ्चित छन । गैरसरकारी संस्थाहरुलाई समन्वय गरेर चेतना विकास, पूर्वाधार विकास र समृद्धिका क्रियाकलापमा सहकार्य गर्न पनि आब्हान गर्नुपर्ने देखिन्छ । सबै मिलेर काम गर्ने, आन्तरिक राजश्वका आधार खोजी गर्ने र सदुपयोग गर्न सकेमा समृद्धि संभव छ ।