बागलुङ, १२ भदौ- रोट्रक्ट क्लब अफ पर्वत र बागलुङको संयुक्त आतिथ्यतामा देशभरका अध्यक्ष र सचिव सहितको राष्ट्रिय भेला हुने भएको छ । भदौ ३१ गते कुश्मामा हुने भेलाका लागि देशभरका ७ सय ५० भन्दा धेरै रोट्रक्टरहरुको सहभागिता रहने बताइएको छ । क्लबले आइतवार पत्रकार सम्मेलन गरेर उक्त जानकारी गराएको हो । बर्षभरीको रणनीतिक योजना बनाउने, स्वार्थ भन्दा माथि उठेर सेवा गर्ने भावनाको विकास गर्ने र युवाहरुको क्षमता विकास गर्ने लक्षले यो भेला आयोजना गरिएको रोट्रयाक्ट क्लब अफ बागलुङका अध्यक्ष नविन पन्तले बताए । भेलामा आउनेहरुलाई पनि पर्वतका अग्ला पुलहरुको अवलोकन गराउने, प्रसिद्ध धार्मिक बागलुङ कालिका मन्दिर तथा संभव भए सम्म पञ्चकोटको पनि भ्रमण गराउने लक्ष राखिएको छ । पर्यटन प्रवद्र्धनको विकासका लागि पनि यो भेला कोषेढुंगा हुने पर्वतका अध्यक्ष मिलन पौडेलले बताए । देशभर १ सय २० वटा रोट्रयाक्ट क्लबहरु छन् । ती क्लबका पदाधिकारीले धौलागिरीको आतिथ्यता सँगै यहाँका धार्मिक, पर्यटकीय र सामाजिक विषय सँगै लैजाने भएकोले सभ्य व्यवहार सहितको स्वागत गर्ने योजना बनाएको पनि उनले बताए । कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष दिल शिरिषले युवाहरुलाई सामाजिक सेवामा लगाउने यो अभियानमा सक्रिय हुनका लागि यस्ता प्रकारका भेलाले थप उर्जा मिल्ने बताए । नविन पन्तको अध्यक्षता, सचिव शिव केसीको संचालनमा सम्पन्न कार्यक्रममा पन्तले भेलाको लागि १० लाख ७४ हजार २ सय ५० खर्च हुने र त्यसका लागि ४ लाख ४९ हजार २ सय रुपैयाँ सदस्यहरुको रजिष्ट्रेसनबाट संकलन हुने र बाँकी अन्य श्रोतको खोजी गरेर जम्मा गर्ने लक्ष राखिएको बताएका थिए । आएका पाहुनालाई पर्वत र बागलुङका होटलमा बस्ने व्यवस्थापन मिलाउनका लागि तयारी गरिएको छ । पर्वतमा बढीमा ३ सय ५० पाहुना अट्ने भएकोले अरुलाई बागलुङका होटलमा बस्ने व्यवस्था गरिएको छ ।
Previous Articleनेविसंघद्वारा बाढी पीडितलाई राहत
Next Article यसरी गर्न सकिन्छ रोगको निदान