पर्वत, ११ भदौ – जिल्लाको कुस्मादेखि बागलुङ्गको बलेवा जोड्ने कुस्मा– बलेवा यान्त्रिक पुलले गएको आर्थिक बर्ष १८ प्रतिशत मुनाफा सेयर धनीलाई बितरण गर्ने भएको छ ।
कुस्मा बलेवा यान्त्रिक पुल लिमिटेडले आर्थिक बर्ष ०७३/०७४ मा ९० लाख ४७ हजार ३ सय ४७ रुपैंया मुनाफा बितरण गर्न लागेको हो । लिमिटेडको शनिबार सम्पन्न छैंठौ साधारणसभाले यस वर्ष १८ प्रतिशत मुनाफा वितरण गर्न स्वीकृती दिएको छ । अघिल्लो आर्थिक बर्षमा भने कम्पनीले २० प्रतिशतले हुन आउने १ करोड २ लाख मुनाफा बितरण गरेको थियो ।
‘यसबर्ष लगानीकर्तालाई १८ प्रतिशत मुनाफा बितरण गर्न साधारणसभाबाट स्विकृत गरिएको छ’ –लिमिटेडका अध्यक्ष होमनारायण श्रेष्ठले भने । गएको बर्ष एक महिना भन्दा बढी समय मर्मतका लागि यान्त्रिक पुल बन्द भएको र मर्मतमा समेत बढी रकम खर्च गर्नुपरेका कारण मुनाफा घटेको उनको भनाई छ ।
यान्त्रिक पुलमा मुलुकका प्रतिष्ठीत ब्याबसायी देखि कुस्मा र बलेवा क्षेत्रका गरी ४ सय ६२ जना सर्वसारधणले लगानी गरेका छन् । यान्त्रिक पुल निर्माणसँगै छिमेकी जिल्ला बागलुङको बलेवा क्षेत्रका १६ गाविसका बासिन्दाहरुसँग कुश्माबजारको व्यावसायिक सम्बन्ध गाँसिनुका साथै सदरमुकाम कुश्माबजारको व्यापारीक र पर्यटन विकासमा समेत महत्वपुर्ण भूमिका रहेको छ ।
पुलबाट दैनिकजसो ५ सय सर्वसाधरणले ओहोरदोहोर गर्दै आएका छन् । पुल निर्माणबाट बृद्ध, सुत्केरी, अपांगता भएका ब्यक्तिहरुले सबैभन्दा बढी फाइदा लिएको सचिब केदानरनाथ शर्माले जानकारी दिए । उक्त पुल संचालन भएसँगै विगत दुई दशकदेखि बन्द रहेको बलेया एयरपोर्ट समेत सञ्चालनका लागि तयारी भैरहेको छ ।
यसैबीच यान्त्रिक पुलको पाँचौ साधारणसभामा बोल्ने बक्ताहरुले सर्वसाधरणले लगानी गरेर सार्वजनिक रुपमा सेवा दिएको यान्त्रिकपुल मुलुककै नमुना बनेको चर्चा गरेका थिए । यान्त्रिकपुलले सर्वसाधरणको लगानी अनुसार मुनाफाका साथै सामाजिक उत्तरदयित्व पुरा गरेको चर्चा गरेका थिए । उनीहरुले बलेवा क्षेत्रमा सुबिधा सम्पन्न रिर्सोट र भैरबस्थान सम्म केबलकार बिस्तार गर्न आवश्यक भएको कुरामा पनि जोड दिएका थिए ।
यान्त्रिक पुल लिमिटेडका अध्यक्ष होमनारायण श्रेष्ठको अध्यक्षतामा भएको साधारणसभामा निमिक्त प्रमुख जिल्ला अधिकारी ऋषि आचार्य, नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश नं ४ का अध्यक्ष सञ्जिबबहादुर कोइराला, प्रहरी नायब उपरिक्षक दिलिप घिमिरे, कम्पनीका इलेक्ट्रिकल इन्जिनियर अच्युत खतिवडा, नेपाल पत्रकार महासंघ पर्वतका निर्वतमान अध्यक्ष दुर्गाप्रसाद शर्मा, नेपाली कांग्रेसका महासमिति सदस्य बसन्तबहादुर सिके, शेयर सदस्यहरुको तर्फबाट मानकुमारी गिरीले शुभकामना दिएका थिए ।
कार्यक्रममा पर्वत उद्योग बाणिज्य संघका निर्वतमान अध्यक्ष रामकृष्ण कर्माचार्यले स्वागत गरेका थिए सञ्चालनसचिब केदारनाथ शर्माले गरेका थिए ।