बागलुङ, १० भदौ – नवनियुक्त सहकारी तथा गरिबी निवारण राज्य मन्त्री चम्पादेवी खड्काले गरिबीको रेखामुनी रहेका जनताको जीवनस्तर उकास्नका लागि प्रभावकारी कार्यक्रम गर्न आवस्यक भएको बताएकी छिन् । साथै उनले हरेक विकास निर्माणमा आफ्नो साथ र सहयोग रहने भन्दै विकासको साझेदार बन्ने प्रतिवद्धता पनि जनाएकी छिन् । मन्त्री भएपछि पहिलो पटक जिल्ला आएकी खड्काले पार्टी र बुद्धिजिविको सल्लाहमा आवस्यक कार्यक्रम बनाएर अगाडि बढ्ने पनि बताईन् । उनले जिल्लाको विकासमा पनि आफ्नो तर्फबाट गर्न सक्ने सबै प्रयासमा कुनै कसुर नराख्ने पनि बताईन् । ‘सबैको माया र साथले म सांसद देखि मन्त्री सम्म भए’ उनले भनिन्, ‘अव गर्ने काम पनि सबैको साथ र सल्लाहबाटै गर्छु ।’ श्रीमान हरि खड्काले देखेको विकासको सपना पनि पुरा गर्ने उनले बताईन् । जिल्लाको बिकासका लागि गर्न सकिने कार्यक्रम बनाएर सबै मिलेर अगाडि बढ्ने उनको भनाई थियो । बांगेचौर देखि पाङ जोड्ने पुल बनाउने लगायतका केही काममा सक्रियता राख्ने उनले बताइन् । पार्टी कार्यकर्तालाई एक भएर अव आउने प्रदेश र केन्द्रीय संसदको निर्वाचनमा जिताउन आग्रह पनि गरिन् । उनले स्थानीय तहको निर्वाचनमा भएको कमीकमजोरीको समिक्षा गरेर अगाडि जानुपर्नेमा जोड दिएकी थिइन् । २०४६ को परिवर्तन पछि बागलुङबाट निर्वाचित भएका सांसद मध्ये खड्का मात्र पहिलो पटक राज्य मन्त्रीमा पुगेकी हुन् । अन्य दलबाट भने मन्त्री भैसकेका छन् । पहिलो पटक मन्त्री बन्ने मौका पाएको भन्दै कार्यकर्ताहरुले खड्काको भव्य स्वागत पनि गरेका थिए । उक्त अवसरमा पार्टी सभापति दिपेन्द्र बहादुर थापाले मन्त्री खड्कालाई बधाई दिंदै जिल्लाको विकासमा अगुवाई गर्न आग्रह पनि गरे । साथै आर्थिक रुपमा विपन्न जनताको हित र आर्थिक समृद्धिका लागि कार्यक्रम बनाएर अगाडि बढ्नुपर्ने शुभकामना पनि दिएका थिए । थापाको अध्यक्षतामा सम्पन्न स्वागत कार्यक्रममा पार्टी सचिव नवराज पौडेलको संचालन र कोषाध्यक्ष उमेश गौतमको स्वागतमा सम्पन्न भएको थियो । यसैबीच खड्का आफ्नै घरमा बस्ने कार्यक्रम रहेकोले सुरक्षा निकायले राष्ट्रिय झण्डका राखेको छ । साथै आवस्यक सुरक्षा प्रवन्ध पनि मिलाएको छ । मन्त्री भएर पहिलो पटक आएकी खड्काको स्वागत तथा सम्मानमा कांग्रेस क्षेत्रीय कार्यसमिति, उद्योग बाणिज्य संघ, चारतारे युवा क्लब लगायतका दर्जनौं संस्थाले पनि स्वागत तथा सम्मानका कार्यक्रम सार्वजनिक गरेका छन् ।
यसैविच चारतारे युवा क्लव सिवाईसी नेपाल र सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि. बागलुङले संयूक्त रुपमा आज एक कार्यक्रमका विच सहकारी तथा गरिवी निवारण राज्य मन्त्री माननीय चम्पादेवी खड्कालाई संस्थामा स्वागत, बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् । सहकारी तथा गरिवी निवारण राज्यमन्त्रीमा नियुक्त भएकी खड्कालाई संस्थाका अध्यक्ष एवं नेफ्स्कूनका सञ्चालक चण्डिप्रसाद शर्मा पौडेलले सम्मान–पत्र प्रदान गर्दै बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए । सोही अवसरमा बोल्दै राज्यमन्त्री खड्काले नेपालमा अझै पनी धैरै मानीसहरु गरिवीको रेखामुनी रहेकाले यस क्षेत्रमा कार्य गर्ने आफ्नो तिव्र ईच्छा रहदै आएको बताएकी थिइन । संसदमा टेबुल भएको सहकारी ऐन छिट्टै नै पारीत हुने र ऐनले सहकारी क्षेत्रमा देखिएका समस्याहरुको निराकरण गरीे सहकारी अभियानलाई संस्थागत गर्दै लैजाने राज्यमन्त्री खड्काको भनाई थियो । कार्यक्रमको समापन गर्दै संस्थाका अध्यक्ष पौडेलले बागलुङले सहकारी तथा गरिवी निवारण राज्य मन्त्री पाएको समयमै सहकारी ऐन पारीत हुन सकेमा ईतीहाँस रचीने धारणा राख्दै सहकारी मार्फत गरिवी न्यूनीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्न तथा सहकारी क्षेत्रमा देखिएको अन्योलताको अन्त गर्नका लागि माननीय राज्य मन्त्रीज्यूको कार्यकाल सफल हुने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा सिवाईसी नेपालका संरक्षक वरिष्ठ अधिवक्ता पद्मनाथ शर्मा पौडेल, सल्लाहाकार देववहादुर श्रेष्ठ र बद्रीप्रसाद पौडेलले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए । संस्थाका अध्यक्ष पौडेलको अध्यक्षतामा सम्पन्न स्वागत तथा बधाई कार्यक्रमको स्वागत उपाध्यक्ष गितादेवी रेग्मी र सञ्चालन सचिव रामवहादुर के.सी.ले गरेका थिए ।