बागलुङ, ९ भाद्र – बानपा–२ हल्लनचोक बस्ने महेन्द्र शर्माले बुधवार र विहिवार दूध चिया खान पाएनन् ।
उनले दूधका अन्य परिकार समेत पाएनन् । तिजको अघिल्लो दिन श्रीमती र छोराछोरीले दरको रुपमा खिर खाने योजना बनाएको पनि त्यसै खेर गयो ।
जिल्ला पशु विकास कार्यालयले आत्मनिर्भर भएको दावी गरेपनि तिजको अवसरमा धेरै उपभोक्ताले बागलुङ बजारमा दूध पाउन सकेनन् । जसका कारण मिठो मसिनो खाने योजना बनाएहरुले खल्लो अनुभव गरेका छन् ।
निराहार ब्रत बस्ने भएकोले अघिल्लो दिन दर खाने, तिजको दिन बेलुकी दूध पिएर सुत्ने योजना बनाएका सबै ब्रतालुहरु निरास पनि भए । दूध र दही नपाउने समस्या असार १५ गते, साउनका अधिकांस सोमबार, कृष्ण जन्मअष्टमी, जनैपूर्णिमा लगायतका चाडका दिन पनि परेको उपभोक्ताले गुनासो गरे ।
बागलुङ बजारमा दूधको खपत गरिरहेको बागलुङ दुग्ध उत्पादक सहकारी संस्थाले गाउँबाटै संकलन गर्न नसकेको र गरेको दूध पनि एकै छिनमा सकिएकोले उपभोक्तालाई वितरण गर्न नसकेको बताएको छ ।
सहकारीका अध्यक्ष युक्त प्रसाद कंडेलले किसानको घरबाटै दूध संकलन कम भएकोले बजारमा वितरण गर्न नसकिएको बताए । दैनिक २ हजार ५सय लीटर दूध बजारमा ल्याउने गरेकोमा दुइ दिन किसानकै घरघरबाट संकलन गर्न नसकिएको कंडेलले बताए । ‘किसानको घरघरमै खपत भएको छ, बजारमा पु¥याउन सकिएन’ कंडेलले भने, ‘विशेष चाडपर्वमा दैनिक २ हजार लीटर भन्दा धेरै दूधको आवस्यकता अझै छ ।’ प¥र्याप्त उत्पादन अझै दिन नसकेको उनले बताए । बागलुङमा दुग्ध उत्पादक सहकारी संस्था बाहेक श्रीकृष्ण पशु फार्म र अन्य व्यक्तिगत रुपमा पनि विक्रिका लागि ल्याउने गर्छन् ।
जिल्लाभरीको उत्पादन राम्रो भएपनि सदरमुकाममा आवस्यकता अनुसार दूध उत्पादन भैरहेको छैन । किसानलाई अनुदान दिने, कृषि कर्ममा लगाउने र व्यवसायिक बनाउने काम भैरहेपनि आवस्यकतालाई पुरा गर्न नसकिएको बरिष्ठ कृषि विकास अधिकृत डा. गोपाल गिरीले बताए । जिल्लामा अहिले वार्षिक २५ हजार मेट्रिकटन दूध उत्पादन भैरहेको छ । कार्यालयका अनुसार एक व्यक्तिलाइ बार्षिक ९१ लिटर दूध भए पुग्ने राष्ट्रिय लक्ष छ । पिउन पुगेपछि किसान र व्यवसायीले मिठाइ र अन्य परिकार बनाउन समेत थालेका छन् । विशेष चाडपर्वमा भने दूध मात्रै नपुग्ने भएपछि अन्य परिकार बन्दैन ।
हरेक बर्ष २ दशमलव ३ प्रतिशतले दूध उत्पादन बढीरहेको कार्यालयको तथ्यांक छ । कुश्मीसेरा, अमलाचौर लगायतका गाविसबाट पर्वत सदरमुकाम कुश्मा, दगातुम्डाँडा, ग्वालीचौर क्षेत्रबाट गुल्मीका बजारक्षेत्रमा दूध निर्यात भएको हो । बिहुू, भीमापोखरा, नगरपालिका, तित्याङ लगायतबाट सदरमुकामको माग पुरा भएको छ । अनुदान पाएपछि किसानले १ सय बढी गाई पालेका दर्जनबढी फर्म खोलेका छन् । स्थानीय र लिमे पाराकोटे जातको भैसी संरक्षण अभियान पनि शुरु भएको छ ।
भैसी संरक्षणका लागि पनि कार्यालयले अनुदान र प्रविधि सहयोग गरेपछि किसानमा हौसला थपिएको अर्गलका परमानन्द गौतमले बताए । ग्रामीण सडकले गाउूको दूध बजारसम्म ल्याउन पनि सहयोग पुगेको छ । सुख्खा मौषममा सदरमुकाममा दैनिक ४ सय लिटर दूध भने अझै आयात भैरहेको छ । अन्य स्थानबाट तीन हजार बढी लिटर निर्यात गर्न सकेको गिरीले बताए ।