काठमाडौं, ९ भाद्र – प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा आठ समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच हैदराबाद हाउसमा भेटवार्ता भए लगतै समझदारी पत्र आदान प्रदान भएको हो, जसमध्ये ४ वटा पुर्ननिर्माण सम्बन्धी छ । भूकम्पपछि काठमाडौंमा भएको दाता सम्मेलनमा भारतले घोषणा गरेको १ विलियन अर्थात १ अर्ब रकम खर्च गर्ने मोडालिटीबारे छ । यो रकम ५० हजार घर निर्माणमा खर्च हुनेछ । बाँकी तीन समझदारी स्वास्थ्य, शिक्षा र पुरातात्विक सम्पदा पुननिर्माण सम्वन्धी छ । तीन वटै समझदारी ५० र ५० करोडको छ ।
भारतीय विदेश सचिव एस जयशंकरका अनुसार स्वास्थ्यमा १५७ र शिक्षामा ७० प्रोजेक्ट छनोट भएको छ । साथै चौथो समझदारी पत्र २८ पुरातात्विक सम्पदा पूनर्निर्माणबारे रहेको जयशंकरले बताए । चार समझदारी २५० विलियन अर्थात २ खर्ब २० अर्बको भएको पुनर्निर्माण प्रधिकरणका कार्यकारी प्रमुख गोविन्द पोखरेलले जानकारी दिए ।
सबै समझदारी पत्रमा नेपालका तर्फबाट अर्थसचिव शान्तराज सुवेदीले हस्ताक्षर गरेका छन् । नेपाल र भारतबीच मोची पुल पुनर्निर्माण, लागूऔषध नियन्त्रण, तापतौल र चार्टर एकान्टेनसम्वन्धी चार समझदारी पत्रमा पनि हस्ताक्षर भएको छ । भारतीय प्रधानमन्त्री मोदीले धनगढीमा टेक्निकल सेन्टर र तनहुँमा जीपी कोइराला स्वासप्रस्वास रोगसम्वन्धी केन्द्र स्थापनामा सहयोग गर्ने घोषणा गरेका छन् ।
पञ्चेश्वरको डीपीएर एक महिनाभित्रै
प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीबीच पञ्चेश्वर परियोजनाबारे पनि सकारात्मक कुराकानी भएको छ । दुबै पक्ष पञ्चेश्वरको डीपीआरलाई एक महिनाभित्र टुग्याउन सहमत भएको भारतीय विदेश सचिव जयशंकरले बताए ।
‘झण्डै ५ हजार मेगावाटको प्रोजेक्ट हो । यसको पीडीआरबारे छलफलमा छौं’ उनले भनेका छन् । प्रधानमन्त्री देउवाले अरुण तेस्रोको उद्घाटनका लागि मोदीलाई निम्तो समेत दिएका छन् ।