बागलुङ, ९ भाद्र – ‘लोपोन्मुख कला, संस्कृति हाम्रो शान, नाच्नेडाँडाको संरक्षण हाम्रो अभियान’ भन्ने मुल नाराका साथ नाच्नेडाँडा संरक्षण समाज गलकोट नगरपालिका–७ मल्म बागलुङले आयोजना गरेको बृहत तीज कार्यक्रम सम्पन्न भएको छ । बृहत तीज कार्यक्रमको उद्घाटन गर्दै गल्कोट नगरपालिकाकी उपमेयर रेणुका काउचाले पछिल्लो समय तीज पर्व भड्किलो र खर्चिलो बन्दै गईरहेकोमा चिन्ता व्यक्त गर्दै यसप्रति सजग हुनुपर्ने बताईन् । अब महिलाहरु पनि नेतृत्व तहमा अग्रसर हुनुपर्ने समय आएको कुरामा जोड दिदै सबै महिलाहरु अगाडि बढनु पर्ने उपमेयर काउचाको भनाई थियो । बिहिबार सम्पन्न खुल्ला तीज गीत नृत्य प्रतियोगितामा १४ समुहको सहभागिता रहेकोमा मिलन आमा समुह हटिया शेराबजार प्रथम, न्यू लाईफ सेकेण्डरी स्कुल गलकोट टिम ए द्वितिय, सिर्जनशिल आमा समुह आँगाखेत तृतिय, शिव मावि काँडेबास र गलकोट मावि हटिया सान्तवना भएका छन । मेलामा पुराना तीज भाकामा खुल्ला नाचगान, नृत्यहरु प्रस्तुत गरिएको थियो । कार्यक्रममा आँगाखेतकी ज्येष्ठ महिला ९० वर्षिय लिला थापा, आगन्तुक चेली चरौंदीकी ७४ वर्षिय जयकली बस्नेत, सक्रिय महिला समाजसेवी भल्साङकी चन्द्राकुमारी थापा र गलकोट नगरपालिका–७ का नवनिर्वाचित महिला सदस्यहरु मिना दर्जी र पदमा नेपालीलाई अभिनन्दन गरिएको थियो । सो अवसरमा प्रायोजक एवं सहयोगदातालाई सम्मान समेत गरिएको थियो । कार्यक्रम नाच्नेडाँडा संरक्षण समाज गलकोट नगरपालिका–७ मल्मका अध्यक्ष कोपिला खड्काको अध्यक्षता, सदस्य मधु खड्काको स्वागत र सचिव कोपिला थापा र सहसचिव थम्मन थापा सन्देशको सञ्चालनमा सम्पन्न भएको थियो ।