प्रधानमन्त्री शेरबहादुर देउवा बुधबार भारतको राजकीय भ्रमणमा गएका छन् । प्रम देउवा भारतीय समकक्षी नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा बुधबारदेखि ११ गतेसम्म भारतको भ्रमण गर्दैछन् । प्रम देउवाका साथमा उनकी धर्मपत्नी डा. आरजु राणा, उपप्रधानमन्त्री महरा, मन्त्री, सांसद, सचिव तथा उच्च सरकारी अधिकारी रहेका छन् । प्रधानमन्त्री देउवाको भ्रमण यस्तो बेलामा भएको छ जतिबेला भारतले सिमा क्षेत्रमा एकतर्फी रुपमा निर्माण गरेका बाँधका कारण तराई मधेशका भू–भाग जलमग्न भए । त्यसबाट सिर्जित भयावह स्थितिले धेरै नेपाली नागरिकले ज्यान गुमाए भने कतिपय अझै बेपत्ता छन् । धेरै सर्वसाधारण नागरिकको घरबाँस उठेको छभने धान तथा तरकारी खेती डुबानमा पर्दा अर्बाेको क्षति हुन पुग्यो । भारतिय बाँधले यो वर्ष मात्रै होइन विगतका वर्षा याममा पनि तराई मधेसका भू–भूभाग डुबानमा पर्दै आएका छन् । बाढीबाट पीडित बनेका जनतालाई राहत स्वरुप भारतिय सरकारले करोडौ सहयोग गर्छ । तर, अन्तराष्ट्रिय मापदण्ड विपरित बनेका बाँधको विषयमा भने कुनै छलफल गर्न भारतिय पक्ष तयार देखिदैन । नेपाल सरकारले पनि अवैध रुपमा बनाईएका बाँधका विषयमा गंभीर रुपमा कुरा उठाउन सकेको छैन । प्रधानमन्त्री देउवाको भ्रमण फलदायी हुने बताईएपनि त्यस्ता विषयले छलफलमा प्रवेश पाउने, गंभीर विषयमा छलफल हुने वा नहुने विषय द्विविधामा रहेका छन् । परराष्ट्रमन्त्री महराले भ्रमणमा खासगरी तराई क्षेत्रको बाढी र डुबान नियन्त्रण, द्विपक्षीय व्यापार र विकास निर्माणसँग सम्बन्धित विषयमा छलफल हुने बताएका छन् । यस्तै, भ्रमणका क्रममा भूकम्पपछिको पुनःनिर्माणमा सहयोग प्याकेज, घर टहरा निर्माण, तराईमा सडक निर्माण सञ्जाल विस्तार, मेची पुलको स्तरोन्नति तथा निर्माण, लागुऔषध कारोवार नियन्त्रण र व्यापारिक वस्तुको गुणस्तर मापनसम्बन्धी विषयमा सम्झौता हुने बताईएको छ । भारतले हरेक वर्ष बाढीले तराईमा वितप् आउँदा भारतीय समकक्षीले दुःख व्यक्त गर्दै आएको छ । त्यो भन्दा उपलब्धी अरु केही हुन सकेको छैन । प्रधानमन्त्री देउवाको भ्रमणको पहिलो प्राथमिकता नेपाल–भारत सिमा क्षेत्रमा एकतर्फी रुपमा निर्माण गरिएका बाँधका विषयमा छलफल गरी दिर्घकालिन समाधानको उपाय निकाल्नु पर्छ । तबमात्र प्रधानमन्त्री देउवाको भ्रमण फलदायी हुन सक्छ । यतिबेला प्रम देउवा भारत भ्रमण जानु त्यति उपयक्त पनि छैन । किनभने मुलुकको धेरै भागमा बाढी, पहिरो र डुबानको समस्या छ । धेरै नागरिकले ज्यान गुमाएका छन् । हजारौको संख्यामा नागरिकहरु बेघरबार छन् । समस्याको विकराल पहाड देशमा विद्यमान छन् । समस्याको समाधान खोज्नु पर्ने बेलामा भारत भ्रमणमा प्रम देउवाले हतार गर्नु उपयुक्त हुँदैन । उद्यपी उनी भारत भ्रमण गएका छन् । भारत भ्रमणमा प्रम देउवाको पहिलो प्राथमिकता अवैध बाँध हुनुपर्छ । अर्काेतर्फ भारत र चीनबीच दोक्लामको विषयमा देखिएको समस्याका बारेमा नेपालले तटस्थ बस्नुपर्छ । नेपाललाई अहिले हुने कुनै सम्झौता गर्नुहुँदैन । गर्नुपर्छ केवल नेपाललाई अनुकुल हुने विषयमा । तबमात्र देउवाको भ्रमण सफल बन्न सक्छ ।
Previous Articleबागलुङका दुई खेलाडिलाई पदक
Next Article २०७४ भाद्र ८ गते बिहीबारको राशिफल