नेपाल पत्रकार महासंघको २५औं महाधिवेशन गोविन्द आचार्यको अध्यक्षतामा नयाँ नेतृत्व चयन गर्दै मंगलवार समपन्न भएको छ । विगतका परम्परालाई तोड्दै यसपटकको महाधिवेशन निर्धारित मिति र समयमा नै समपन्न भएको छ । स्थानीय तहको निर्वाचनका कारण तीन महिना ढिला भएको महाधिवेशनको कार्यतालिका भने सेड्युल अनुसार नै अगाडि बढ्यो र नयाँ नेतृत्व चयन गर्दै समपन्न भयो । करिव करिव नेपालको प्रजातन्त्रको जस्तै आयु भएको र लोकतन्त्रको पहरेदार गर्दै अगाडि बढेको शक्तिशाली नागरिक अगुवा संस्थाको अधिवेशन विशेष चासोको रुपमा हेरिदै आएको थियो । यसको नेतृत्व निर्माण र महाधिवेशनमा भएको वहस स्वाभाविक रुपमा चर्चामा रहने नै भए । महाधिवेशनको सेरोफेरोमा नेपालको पत्रकारिता र त्यसमा श्रमजीवीका रूपमा संलग्न पत्रकारको अवस्था बारे बहस हुने जुन अपेक्षा गरिएको थियो, त्यो भने भएन भन्ने पेशागतकर्मी पत्रकारहरुले आवाज उठाइरहेका छन् । पछिल्ला बर्षहरुमा महासंघको नेतृत्व छनौट विधि राजनैतिक दलको छायामा परेको वारेमा धेरै चर्चा हुने पनि गरेको छ । दलको भातृ संगठन भनेर घोषित नभए पनि राजनीतिक दल आबद्ध संघ संगठनका तर्फबाट उम्मेदवार बन्ने, चुन्ने र चुनिने हुनाले यो संस्थाले आफ्ना व्यावसायिक हितभन्दा आफू आबद्ध राजनीतिक दलप्रतिको बफादारी गरेको आरोप पनि लाग्ने गरेको छ । उम्मेदवार चयनका लागि प्रधानमन्त्री निवास वालुवाटारदेखि दलका केन्द्रिय कार्यालयसम्म पुगेर ज्युहजुरी गर्ने र आर्शिवाद थाप्ने प्रक्रियाले महासंघको स्वतन्त्र छवि धमिलिदै गएको छ । यसपटक त्यो रोग झन् वढि हावी भएको छ । अव महासंघको उम्मेदवारी वन्न कुनै राजनैतिक पार्टीको पोलिटब्यूरो वा केन्द्रिय सदस्य वा कुनै पनि तहमा वसेको हुनु पर्ने योग्यता अघोषित रुपमा स्थापित भएको छ । जव कि महासंघको विधानले आफ्नो नेतृत्वका लागि कुनै पनि राजनैतिक दलमा आवद्ध भई संगठित नभएको ब्यक्ति हुनुपर्ने भनेको छ । विधानलाई ठाडै लत्याउदै अहिले पनि पार्टी नेताहरु महासंघको नेतृत्वमा पुगेका छन् । जे जसरी नेतृृत्वमा पुगे पनि महासंघको नयाँ नेतृत्वल वर्तमान समयमा पत्रकारले व्यहोर्नुपरेका चुनौतीका वारेमा भने ध्यान दिनै पर्दछ । अहिले पत्रकार भन्नाले छापा, श्रव्यदृश्य र विद्युतीय अनलाइन सबैतिर काम गर्ने व्यक्ति पर्छन् । पछिल्लो समय सानो र थोरै लगानीमा पनि पत्रकार बन्ने अवसर खुल्दै गएपछि पत्रकारितामा मालिक र कामदारबीच भिन्नता पनि साघुरिदै गएको देखिन्छ भने संगठित ठूला व्यावसायिक सञ्चार गृहमा चाहिँ पत्रकार र व्यवसायीबीच केही द्वन्द्व पनि देखिन्छ । अव सन्तुलित विकासविना सञ्चार क्षेत्र फस्टाउन सक्दैन । यसमा महासंघको नेतृत्वको विशेष ध्यान पुग्नै पर्दछ । अर्काेतर्फ पत्रकारिता र सञ्चार जगत्को भूमिकाको वारेमा पनि ध्यान दिनै पर्दछ । चौथो पुस्तातिर सर्दै गएको पत्रकारितले जवाफदेहीतालाई अगाल्नै पर्दछ । जिम्मेवारी पत्रकारिताको अभावमा समाजले सही सूचना प्राप्त गर्नै सक्दैन् । समाचार र सूचना सम्प्रेषणमा अनुसन्धान, तथ्यहरूको खोजी कत्तिको गरिएको छ भन्ने कुरामा महासंघको नेतृत्वले विशेष ध्यान पुराउनु पर्दछ । श्रम अधिकारका कुरा त हाम्रा मुद्धाहरु नै हुन ।
Previous Articleप्याव्सनको अन्तर विद्यालय नृत्य प्रतियोगिता
Next Article २०७४ भाद्र ६ गते मंगलबारको राशिफल