काठमाडौं, ७ भदौ-प्रधानमन्त्री शेरबहादुर देउवा भारतको पाँच दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । ४८ सदस्यीय टोलीको नेतृत्व गर्दै देउवा नेपाल वायुसेवा निगमको उडानमार्फत बुधबार बिहान १० बजे त्यसतर्फ प्रस्थान गरेका हुन् । भारतीय समकक्षी नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा देउवा भारत भ्रमणमा निस्केका हुन् । देउवाको यो भ्रमण प्रधानमन्त्री भएपछिको पहिलो हो ।
भ्रमण दलमा परराष्ट्रमन्त्रीसहित विभिन्न मन्त्रालयका सचिव, वरिष्ठ अधिकृत व्यवसायी तथा सञ्चारकर्मीको सहभागिता रहेको छ । भारत प्रस्थान गर्नुअघि देउवालाई बिदाइ गर्न सभामुख अाेनसरी घर्ती, सरकारका मन्त्री, सरकारी अधिकारीहरुलगायत विमानस्थल पुगेका थिए ।भारतको बाह्य मामिला मन्त्रालयसँगको समन्वयमा परराष्ट्र मन्त्रालयले तयार पारेको प्रधानमन्त्रीको प्रस्तावित भ्रमण तालिकाअनुसार नयाँदिल्ली पुगेर राष्ट्रपति भवनमा केहीबेर विश्रामपछि उनले नेपाली दूतावासमा नेपाली समुदायसँग छलफल गर्नेछन् ।
अाजै साँझ नै प्रधानमन्त्रीले भारतका उद्योगी–व्यवसायीहरूको साझा संस्था एशोशिएटेड चेम्बर्स अफ कमर्श एण्ड इण्डस्ट्री अफ इन्डियाले आयोजना गर्ने कार्यक्रमलाई सम्बोधन गर्नेछन् । बिहीबार बिहान राष्ट्रपति भवनमा प्रधानमन्त्री देउवालाई भारतीय प्रधानमन्त्री मोदीले औपचारिक समारोहबीच स्वागत गर्ने कार्यक्रम छ । त्यसपछि महात्मा गान्धीको समाधिस्थलमा पुगेर उनले पुष्पहार अर्पण गरी अहिंसाका पुजारी गान्धीप्रति श्रद्धाञ्जलि अर्पण गर्ने छन् ।