बागलुङ, ७ भदौ-बागलुङ क्षेत्र नं १ बाट नेपाली काँग्रेसकी सांसद चम्पादेवी खड्का राज्यमन्त्री नियुक्त भएकी छन् । राज्यमन्त्री खड्कालाई सहकारी तथा गरीवी निवारण मन्त्रालयको जिम्मा दिईएको छ । नवनियुक्त राज्यमन्त्री खड्का स्वर्गीय सभासद हरिबहादुर खड्काकी धर्मपत्नी हुन् । दोस्रो संविधानसभामा बागलुङ निर्वाचन क्षेत्र नम्बर–१ बाट सभासद् निर्वाचित भएका खड्काको सवारी दुर्घटनापछि उपचारको क्रममा निधन भएपछि उपनिर्वाचन भएको थियो । उपनिर्वाचनमा काँग्रेसले खड्काकी पत्नी चम्पादेवीलाई उम्मेदवार बनाएको थियो । उनले एमाले नेतृ मनकुमारी केसीलाई पराजित गरेर सभासद् बनेकी थिईन् । उनी राज्यमन्त्री बनेपछि बागलुङ काँग्रेससँगै जिल्लाबासीमा समेत खुशीयाली छाएको छ । यसअघि बागलुङबाट राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी केपी ओली नेतृत्वको सरकारमा उपप्रधान एवं सहकारी तथा गरिबी निवारण मन्त्री भएका थिए । २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा बागलुङ निर्वाचन क्षेत्र नम्बर–१ बाटै सभासद् निर्वाचित एमाले नेता रामजीप्रसाद शर्मा पनि उर्जाराज्यमन्त्री बनेका थिए । प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार चौथो पटक गरेको मन्त्री परिषद बिस्तारमा नेपाली काँग्रेसबाट सीता गुरुङ (भौतिक पूर्वाधार तथा यातायात), सरिता प्रसाई (कृषि), शेषनाथ अधिकारी (शिक्षा), नरबहादुर चन्द (बाणिज्य), अब्दुल रज्जाक (खानेपानी), तप्तबहादुर बिष्ट (सूचना तथा सञ्चार), अमरसिंह पुन (सिचाई), दिलमान पाख्रिन (कानुन, न्याय तथा संसदीय), उदय शमशेर (अर्थ), डिल्लीबहादुर चौधरी (श्रम), तेजुलाल चौधरी (युवा तथा खेलकुद) राज्यमन्त्री नियुक्त भएका हुन् । सत्तारुढ दल फोरम लोकतान्त्रिकबाट जनकराज चौधरी (संघीय मामिला तथा स्थानीय विकास), सुमित्रा थरुनी (संस्कृति, पर्यटन तथा नागरिक उड्डयन) र यसोदा कुमारी लामा (भूमी सुधार) राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ । नेकपा माओवादी केन्द्रबाट दुई दिनअघि मात्र आठ जना राज्यमन्त्री बनेका थिए । मंगलबार थपिएका राज्यमन्त्रीहरु सहित मन्त्रीहरुको संख्या ४९ पुगेको छ ।