बागलुङ, २ भाद्र – पूर्व स्वास्थ्य मन्त्री तथा युवा नेता गगन थापाले सबै नेपाली नागरिकले म¥र्यादित जीवन जिउन सक्नेगरी उद्यम सिर्जना गरेर युवा पलायत रोक्नुपर्ने बताएका छन् । उनले हरेक क्षेत्रमा रोजगारमूलक काम थाल्नुपर्ने र सरकारले त्यसको वातावरण बनाउनुपर्नेमा जोड दिए । बागलुङ उद्योग बाणिज्य संघको महिला उद्यमशिलता समितिको आयोजनामा भएको तिनदिने तिज महोत्सवको उद्घाटन गर्न आएका थापाले बाढी पहिरोले पिडित भैरहेको समयमा छिमेकी भारतका क्रियाकलापमा खुलेर वार्ता गर्न सक्नुपर्ने धारणा पनि राखे । ‘भारत सँग आँखा जुधाएर कुरा गर्ने र सहमति विपरित बनाइएका सबै बाँध भत्काउने साहस गर्नुपर्छ’ थापाले भने, ‘राज्यको निकायले अग्रसरता दिएर दुवै देशको समान अस्तित्वलाई सम्मान गर्ने वातावरण सिर्जना गर्न सरकार अगाडि बढ्न्पर्छ ।’ सबै राजनीतिक दलको सहभागिता रहेको उच्चस्तरीय समिति बनाएर तराई डुवानको वास्तविकता खोजी गर्दै एक निष्कर्ष निकालेर स्थायी नीति बनाउनुपर्ने थापाको भनाई छ । उनले कुनैपनि सरकार फेरिंदा अव नेपालको परराष्ट्र नीति नफेरिने व्यवस्था बनाउन जरुरी भएको बताए । अहिले आएको बाढी पहिरोमा नदी र चुरेको दोहनबाट पनि यो परिणाम निस्केको भुल्न नहुने पनि उनले सम्झाए । कारणहरु खोज्दै उद्दार र राहतका लागि पनि सबै जुट्नुपर्ने उनको भनाई छ । पछिल्लो समय तिजको अवसर पारेर सबै जाती, धर्म र संस्कृतिका मानिसले थालेको एकताको अभियान जस्तै राष्ट्र निर्माणमा पनि देखाउनु जरुरी भएको उनले बताए । सबै भाषा, संस्कृतिको विकासले देशको विकास हुने कुरा भुलियो भने जातीय, धार्मिक र सास्कृतिक द्वन्द्व सिर्जना हुने पनि उनको भनाई थियो । समितिले संचालन गरेको महोत्सवमा ब्रम्हकुमारी ईश्वरीय विश्व विद्यालय, क्षेत्री समाज, ब्राम्हण समाज, मगर संघ, छन्त्याल संघ, सौन्दर्यकला व्यवसायी, विभिन्न पेशागत संगठन लगायतले सास्कृतिक झाँकी प्रदर्शन गरेका थिए । बागलुङमा नाँचिने लाखे र जोगी नाँच समेत उक्त समयमा प्रदर्शन गरिएको थियो । महिला उद्यमशिलता समतिका अध्यक्ष भगवती केसीको अध्यक्षता, उपाध्यक्ष उषा पौडेलको स्वागत र सचिव अम्बिका बस्नेतको संचालनमा सम्पन्न उद्घाटन कार्यक्रममा कार्यक्रममा जिल्ला समन्वय समितिका अध्यक्ष राजेन्द्र ढुंगाना, नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य निर्माणकुमार श्रेष्ठ, बागलुङ उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष बसन्तकुमार श्रेष्ठ, राजनीतिक दलका तर्फबाट मञ्जु क्षेत्री, नेपाल महिला संघका अध्यक्ष शकुन्तला शर्मा, अखिल नेपाल महिला संघ क्रान्तिकारीका अध्यक्ष कुशुम बुढामगर, ब्रम्हाकुमारी राजयोगिनी साबित्री दिदी, नेपाल पत्रकार महासंघका अध्यक्ष दिल श्रीष लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा उद्योग बाणिज्य संघ बागलुङका अध्यक्ष जयराम भारीले कार्यक्रमका बारेमा जानकारी गराएका थिए ।
भारतसंग आँखा जुधाएर कुरा गरौंः थापा
Previous Articleजनमोर्चाको ढोरपाटन नगरपालिकामा भेला
Next Article २०७४ भाद्र ३ गते शनिबारको राशिफल