म्याग्दी, २६ साउन-समग्र म्याग्दी जिल्लाको पर्यटकीय संभावना उजागर गर्ने उद्धेश्यले बेनी भ्रमण वर्ष मनाईने भएको छ । म्याग्दी उद्योग वाणिज्य संघका महासचिव राजेश शाक्यको अगुवाईमा विसं २०७५ साललाई बेनी भ्रमण वर्षका रुपमा मनाउन लागिएको हो । म्याग्दीले हालसम्म मुस्ताङको प्रबेशद्घारका रुपमा मात्र चिनारी बनाएको छ । ‘जबकि बेनी नगरपालिका क्षेत्रमा मात्रै सजिलै दुई तीन दिन घुम्न सकिने सम्पदा छन्’ भ्रमण वर्षका अभियन्ता शाक्य भन्छन्, ‘गाउँ गाउँ डुल्ने हो भने त म्याग्दीमै महिनौ डुल्न सकिन्छ ।’ शाक्यकै परिकल्पना एवं अगुवाईमा भ्रमण वर्ष मनाउन युवाहरु जागरुक बनेका छन् । सबै सरोकारवाला संघ संस्थासँग सहकार्य गरेर भ्रमण वर्ष मनाइने उनले जानकारी दिएका छन् । महिना दिनभित्र भ्रमण वर्ष आयोजक समिति बनाएर काम अघि बढाइने तयारी भैरहेको छ । स्वदेश तथा विदेशमा बस्ने म्याग्देली, म्याग्दी उद्योग वाणिज्य संघ, बेनी नगरपालिका र नेपाल पर्यटन बोर्डको सहयोग बटुलेर भ्रमण वर्षका कार्यक्रम अघि बढाइने छ । भ्रमण वर्ष सुरु हुनु पहिल्यै पर्यटकीय गन्तव्यहरुको यु ट्युव भिडियो, ब्रोसर, वेवसाइट, होर्डिङ बोर्ड, पुस्तक आदि बनाएर आक्रामक प्रचार गरिने छ । भ्रमण वर्षभरि उत्कृष्ट समाचार लेख्ने पत्रिका, टिभी, अनलाईन र एफएमका केही पत्रकारलाई आकर्षक नगद पुरस्कारसहित भ्रमण वर्षको समापनमा सम्मान गरिने योजना छ । सँगै विसं २०७५ को सुरुमै भ्रमण वर्षको उद्घाटन, साँस्कृतिक कार्यक्रमका प्रतियोगिता, अन्तरक्रिया र समापन लगायतका गतिविधि गरिनेछ । म्याग्दीमा घुम्न लायक ऐतिहासिक, साँस्कृतिक, प्राकृतिक र पौराणिक महत्वका धेरै सम्पदा छन् । तिनको मार्के्टिङ गरि स्वदेशी तथा विदेशी पर्यटक लोभ्याउन भ्रमण बर्ष मनाउन लागिएको हो । अन्नपूर्ण सर्किट लगायत म्याग्दीका गन्तव्यहरुसंग परिचित गराउने भ्रमण वर्षको उद्धेश्य हो ।