बागलुङ, २५ साउन – स्वतन्त्र बिद्यार्थी युनियन गलकोट बहुमुखी क्याम्पसको आयोजनामा मंगलबार हटियामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले गलकोट क्षेत्रको एकमात्र गलकोट बहुमुखी क्याम्पस भएको भन्दै क्याम्पसले दक्ष जनशक्ति उत्पादनतर्फ जोड दिनुपर्ने बताएका छन् । क्याम्पस ब्यवस्थापन समितिका पदेन सदस्य समेत रहेका गैरेले क्याम्पसको आर्थिक अवस्था कमजोर रहेको भन्दै नगरपालिकाबाट केहि सहयोग गर्ने बचन दिएका छन् । एक फरक प्रसंगमा गैरेले पछिल्लो समय निर्वाचन क्षेत्र बिभाजनको बिषय चलिरहेको भन्दै गलकोट नगरपालिका एउटै निर्वाचन क्षेत्रमा समावेस हुनुपर्ने बताए । उनले गलकोट टुक्रिय गलकोटबासीलाई सह्य नहुने स्पष्ट पारे । नगरपालिकाका उपप्रमुख रेनुका काउचा मगरले आफु पनि बिद्यार्थी राजनीतिबाट अगाडि बढेको स्मरण गर्दै बिद्यार्थीहरुका हरेक समस्यासँग समन्वय गरेर जाने बताईन । उनले गलकोट क्षेत्रका शिक्षाको अगुवाई गलकोट बहुमुखी क्यापसले गर्ने भन्दै हरेक शैक्षिक कार्यमा नगरपालिका क्याम्पससँग सहकार्य गरेर अगाडि बढ्ने बताईन् । कार्यक्रममा क्याम्पसका नवनिर्वाचित प्रमुख कृष्णप्रसाद गौतमले क्याम्पसको प्रमुख समस्या आर्थिक भएको भन्दै पहिले आर्थिक पक्ष मजबुत बनाउने बताए । गौतमले क्याम्पसलाई नमुना क्याम्पसको रुपमा स्थापना गर्नका लागी बिद्यार्थी, प्रध्यापक र क्यापस ब्यवस्थापन समिति प्रतिबद्ध हुनुपर्नेमा जोड दिए । समितिका अध्यक्ष मुकुण्द भण्डारीले पछिल्लो समय धेरैजसो क्याम्पसहरु शैक्षिक गुणस्तर अभिबृद्धितर्फ लम्किरहेको भन्दै शैक्षिक पक्षलाई मजबुद बनाउने तबरले कार्य गनुपर्नेमा जोड दिएका थिए । त्यस्तै, निर्वतमान क्याम्पस प्रमुख देबेन्द्र बहादुर खत्रीले क्याम्पसले आगामी दिनमा कसरी भौतिक र शैक्षिक पक्षलाई गुणस्तरिय बनाउने बिषयमा प्रकाश पारेका थिए । कार्यक्रममा गलकोट नगरपालिका बिपद ब्यवस्थापन समितिका संयोजक वीरजङ भण्डारी, सहायक क्यापस प्रमुख झलक पाण्डे, डिलाराम सुबेदी लगायतले शुभकामना मन्तब्य व्यक्त गरेका थिए । सो अवसरमा गलकोट नगरपालिकाका प्रमुख गैरे, उपप्रमुख काउचा मगर, वडा नम्बर ३ का अध्यक्ष वीरजङ भण्डारी, गलकोट बहुमुखी क्याम्पसका प्रमुख गौतम र सहायक क्याम्पस प्रमुख पाण्डे लगायतलाई सम्मान गरिएको थियो । कार्यक्रम स्वतन्त्र बिद्यार्थी युनियन गलकोट बहुमुखी क्याम्पसका सभापति गुमानसिंह भण्डारीको अध्यक्षता, उप–सभापति सीता खत्रीको स्वागत, सचिव जमुना पुन र सहसचिव निरज श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो ।