म्याग्दी, २४ साउन – धौलागिरि गाउँपालिकाको केन्द्रको विषयमा छलफल सुरू भएको छ । गाउँपालिकाको कार्यालय मुनामा सोमबारदेखी सुरू भएको छलफलमा केन्द्रको स्थान लगाएतका विषयमा छलफल सुरू भएको जनाइएको छ । एक वडाबाट १० जनाको उपस्थिति रहेको छलफलमा गुर्जा, लुलाङ, मुना, मुदी, ताकम, मराङ र मल्कवाङबाट विभिन्न राजनीतिक दल, समाजसेवी लगाएतको सहभागिता रहेको छ । गाउँपालिकाको केन्द्रका विवादमा केन्द्रित रहेन छलफलमा आफ्नो धारणा राख्ने क्रम जारी रहेको एक सहभागिले बताए । गाँउपालिका प्रमुख थमसरा पुन, उपप्रमुख रेशम छन्त्याल, कार्यकारी अधिकृत कृष्ण प्रसाद गौतम, गाउँ कार्यपालिका सदस्यका साथै गाउँपालिकाका सबै वडा अध्यक्ष सहित जनप्रतिनिधिको उपस्थिति रहेको छ । सोमबार छलफल नटुंगिएपछि मंगलबार बिहान बोलाइएको छ । गत बैशाख ३१ गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा निर्वाचित जनप्रतिनिधिले गाउँपालिकाका सबै वडाले जित्ने गरी केन्द्रको विवाद टुंगो लगाउने बताएका थिए । स्थानीय तह पुनः संरचना प्राविधिक सहयोग समितिले विवादित गाउँपालिकाको केन्द्रको जिम्मेबारी पुर्नसंरचना आयोगलाई दिएपछि आयोगले निर्वाचन अवधिभरका लागि मुना केन्द्र तोकेको थियो । अस्थायी केन्द्रको विवादमा साविकका गाविसहरु विच चर्को विवाद उत्पन्न भएको थियो । केन्द्रको माग लिएर पटकपटक जिल्ला देखी आयोग समक्ष पुगेका थिए । स्थानीय तहको निर्वाचन लगत्तै केही महिना विवाद साम्मे भएको थियो । गाउँपालिकाको केन्द्र ताकम र मुनामा दावी हुदै आएको छ । मुनाले अस्थायी केन्द्रलाई स्थायी बनाउनुपनेै माग गरेको छ भने ताकमले प्रशासनिक सुगमता, भौगोलिक बनावट, प्राकृतिक सम्पदा लगायत आधारमा ताकम उपयुक्त भएको दावी गरेको छ । दुवैको विचमा रहेर समस्याको समाधान गर्नुपर्नेमा जनप्रतिनिधिहरुको समेत जोड देखिन्छ । छलफलबाट सहमतिमा हुन नसके जनप्रतिनिधिहरुको मतदानबाटै केन्द्र टुंगो लगाउने कानुनी प्रावधान रहेको छ । गत बर्षको कात्तिक १९ गते स्थानीय तह पुनः संरचना प्राविधिक सहयोग समितिले गलेश्वरको एक होटलमा गरेको संख्या र सिमाना निर्धारण सम्बन्धि गोष्ठीमा एक नगरपालिका र ५ गाउँपालिका मध्ये तीनवटा गाउँपालिकाको केन्द्रमा सहमति भएपनि धौलागिरि र रघुगंगा गाउँपालिकाको केन्द्रका विषयमा धौवलागरिको ताकम र मुना र रघुगंगा गाउँपालिकाको केन्द्र पिप्लेको मौवाफाँट र पाखापानी गाविसलाई प्रस्ताव गरिएको थियो । प्रस्तावित गरिएका साविकका गाविसले आफनो दावी गदैं आइरहेका छन् । यता रघुगंगा गाउँपालिकामा समेत आन्तरिक छलफल सुरु भएको छ । गाउँपालिकाको केन्द्र पाखापानी र मौवाफाँट वा तेस्रो विकल्पमा छलफल भएको छ ।