पर्वत, २३ साउन – जिल्लाको मोदी गाउँपालिका–६ तिलाहारलाई धुँवामुक्त बनाउने तयारी शुरु भएको छ । साविकको तिलाहार गाविसका सवै घरधुरीमा सुधारिएको चुल्हो निर्माण गर्ने र आगामी दुई वर्ष भित्रमा धुँवामुक्त वडा घोषणा गर्ने तयारीमा जुटेको वडाअध्यक्ष विमल लामिछानेले जानकारी दिए । धुँवामुक्त वडाका लागि पहिलो चरणमा तिलाहारका २१ घरधुरीलाई परिक्षणको रुपमा धुँवारहित चुल्हो वितरण गरिएको छ । हालसम्म पर्वतका ८ वटा साविकका गाविसहरु धुवामुक्त भैसको छन् । स्थानिय बासीहरुको स्वास्थ्यमा प्रतिकुल असर नपरोस् र जलवायु परिवर्तनमा समेत टेवा पुगोस् भन्ने उद्धेश्यले धुँवामुक्त वडा घोषणा गर्ने अभियान शुरु गरिएको अध्यक्ष लामिछानेले जानकारी दिए । उनले अहिले परिक्षणको रुपमा २१ वटा धुँवारहित चल्हो वितरण गरिएको र क्रमस वडाभित्रका सवै घरधुरीमा वितरण गरिने पनि बताए । पर्वत जिल्लाका ३५ हजार घुरधुरीमध्ये झण्डै २२ हजार घरधुरीमा सुधारिएको चुल्हो निर्माण भैसकेका छन् । यसअघि जिल्लाको ठानामौला, खानीगाउँ, भँगरा, कार्कीनेटा, थापाठाना, बनौ, क्याङ र हाश्राङ्दी धुँवामुक्त भैसकेका छन् । छिटो खाना पाक्ने, घर सफा सुघ्घर रहने, दाउराको कम खपत लगायतका कारणले पनि यसतर्फ ग्रामीण क्षेत्रका बासिन्दाहरुको आकर्षण बढ्दै गएको हो । पछिल्लो समय एलपी ग्याँस प्रयोग कर्ताहरुको संख्या समेत उल्लेख्य रुपमा बढेकाले पनि सुधारिएको चुल्हो विस्तार हुने क्रम न्यून हुँदै गएको जिल्ला उर्जा वातावरण शाखाका प्रमुख मञ्जु शिलाकारले जानकारी दिइन् ।