वर्षासंगै आउने प्राकृतिक विपत्तिमा परि कति नागरिकले ज्यान गुमाएका छन्भने कतिपय नागरिक घाईते र घरबारबिहिन भएको अवस्था छ । कतै मानवीय लार्पवाहीका कारण साना नानीबाबुहरुले ज्यान गुमाएन विवश भएका छन् । प्राकृतिक प्रकोपलाई रोक्न सकिदैन तर, मानवबाट हुने गल्तीलाई भने रोक्न सकिन्छ । प्राकृतिक प्रकोपले दिएको चोटभन्दा मानवले दिएको चोट असह्य हुन्छ । त्यसैले मानवीय गल्तीबाट हुने घटनालाई गंभीर रुपमा लिई आगामी दिनमा सच्याउँदै जानुपर्छ । अहिले प्राकृतिक प्रकोपका कारण देशभरका जनताले कतै मृत्युवरण गर्नुपरेको छभने कतै घाइते र घरबारविहिन भएर जिवन विताउन विवश हुनु परेको छ । यस्तो अवस्थामा मानवीय संवेदना देखाउन अत्यन्तै जरुरी छ । वर्षा याममा खोलानालामा आउने बाढी, पीर पहराबाट खस्ने पहिरोबाट मानवीय तथा भौतिक क्षति भएको छ । यस्तो अवस्थाबाट गुज्रिरहेका नागरिकलाई राहत दिनु मानवीय धर्म पनि हो ।
मानवीय गल्तीका कारण रौतहटको एक विपन्न परिवारले आफ्ना चार सन्तान गुमाउन विवश बनेका छन् । मजदुरी गर्दै जिवनयापन गर्दै आएको एक विपन्न परिवारले सामना गर्नुपरेको पीडाले आज सिंगो देशलाई आसुको आहालमा डुबाएको छ । रौतहटको गरुडामा सडक बनाउन खनिएको खल्डोमा जम्मा भएको पानीमा डुबेर गरुडा नगरपालिका–४ का राम एकवालकी छोरी १२ वर्षीया सुनिता साह, नौ वर्षीया संगिता साह, जोगेन्द्र साहकी नौ वर्षीया छोरी सुनैना साह र प्रेम साहकी नौ वर्षीया छोरी सुश्मिता साहको मृत्यु छ । मृतकका परिवारलाई किरिया खर्च दिने र दोषीलाई कारबाही गर्ने सहमति भएपछि आफन्तले आइतबार शव बुझेका छन् । तर, सडक निर्माणको जिम्मा पाएका ठेकेदारलाई पक्राउ गरी तत्कालै छोडिएको छ । संसदमा समेत उठेको यस विषयलाई सामान्यकरण गरी गंभीर त्रुटी गर्ने निर्माण व्यवसायीलाई बिना सर्त रिहा गर्नुले आगामी दिनमा पनि यस्ता घटना नघट्ला भन्नेमा कुनै शंका छैन । निर्देष नागरिकको जीवनमाथि खेल्नेलाई कानुनी कठघरामा उभ्याउनु पर्छ ।
यता प्राकृतिक विपतका कारण बागलुङ जिल्लामा पनि मानवीयसंगै भौतिक क्षति पुगेको छ । गाउँमाथिबाट निरन्तर पहिरो खस्न थालेपछि निसीखोला गाउँपालिका–१ साविक देविस्थान गाविसको हुल्दी गाउँ नै विस्थापित भएका छन् । पहिरोबाट बच्नको लागि उनीहरु बालबच्चा लिएर लेकमा बस्न बाध्य भएका छन् । बालबच्चासहित जंगलमा रात विताउन बाध्य भएका उनीहरुलाई सुरक्षित स्थानमा पुर्नस्थापित गर्नको लागि आमनागरिक र सम्बन्धित निकायले मानवीयता प्रकट गर्न जरुरी छ । गत सातामात्रै देविस्थानको बाहुनगाउँमा पहिरो जाँदा एकै घरका चारसहित ६ जनाको ज्यान गएको छ । ज्यान गुमाउने परिवारलाई राहतको व्यवस्था गर्नु हामी सबैको दायित्व हो । बागलुङमा पहिरोको जोखिममा रहेका गाउँलाई सुरक्षित स्थानमा स्थान्तरण गर्नको लागि पनि सम्बन्धित निकायलाई नागरिक स्तरबाट दबाब दिनुपर्छ । प्राकृतिक प्रकोपबाट आक्रान्त बनेका नागरिकलाई राहत दिनको लागि हामीले सबैले आ–आफ्नो ठाउँबाट सक्दो सहयोग गर्न जरुरी छ ।
Previous Articleनेपाललाई सिंगापुर बनाउने कि झिँगापुर ?
Next Article पर्वतको तिलाहार धुँवामुक्त बन्दै