काठमाडौं, २३ साउन – कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) फुटेको छ । पशुपतिशम्शेर राणा सहितका नेताहरुले आइतबार नयाँ पार्टी गठन गरेका हुन् । राणाको नेतृत्वमा नयाँ दल ‘राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक’ दर्ताका लागि निर्वाचन आयोगमा आवेदन समेत दिइएको छ । नयाँ दलमा तीन निर्वाचित सांसद सुनिल थापा, दिपक बोहोरा र विक्रम पाण्डे पनि छन् । उनीहरुसहित २२ सांसद तथा ७२ केन्द्रीय सदस्य नयाँ पार्टीमा रहेको एक नेताले जानकारी दिए । यसो भएमा कमल थापा नेतृत्वको राप्रपासँग १५ संसद मात्र हुनेछन् । तर, निर्वाचन आयोगमा बुझाइएको हस्ताक्षरमा भने १९ सांसदको मात्र रहेको छ । २४ सांसद रहेको राप्रपा नेपाल र १३ सांसद रहेको राप्रपाबीच गत मंसिर ६ गते पार्टी एकता घोषणा भएको थियो । तर, देउवा सरकारमा जाने कि नजाने भन्ने विवाद पछिल्लो समय सुरु भएको थियो । सरकारमा नजाने निर्णय भएसँगै राणा समूहले नयाँ दल गठन गरेको हो । ६–९ फागुन ०७३ मा सम्पन्न एकता महाधिवेशनले राजासहितको प्रजातन्त्रको लाइन पारित गरेको थियो । फुटको विजारोपण पनि त्यही विन्दुमा भइसकेको थियो । त्यसलगत्तै डा. प्रकाशचन्द्र लोहनी नेतृत्वमा एक समूह चोइटियो र राप्रपा राष्ट्रवादी खडा ग¥यो । महाधिवेशनमा जितहारको अंकगणित र त्यसपछि पद बाँडफाँटमा देखिएको असन्तुष्टि नै अहिलेको विभाजनको कारक हो । खासगरी, स्थानीय तह निर्वाचनमा पार्टीले लज्जाजनक हार बेहोरेपछि राणा पक्षधर नेताहरूले चुनाव चिह्न छाडेकाले यस्तो परिणाम आएको बताउँदै आएका थिए । कमल थापाले तत्कालीन राप्रपा नेपालको चुनाव चिह्न गाईलाई नै राप्रपाको पनि चुनाव चिह्न बनाउने सफलता पाएका थिए । कहिले व्यक्तित्वको टकराव त कहिले राजतन्त्रलाई हेर्ने दृष्टिकोण बाझिँदा राप्रपा विभाजनबाट गुज्रिँदै आएको छ । त्यसमा पनि सत्तामा पुग्ने भ¥याङ खोज्ने क्रममा पूर्वपञ्चहरूबीच चरम मत विभाजन देखिने गरेको छ ।
Previous Articleस्वास्थ्यमन्त्रीद्वारा २६ बुँदे प्रतिवद्वता पत्र सार्वजनिक
Next Article सेनाद्वारा सडक मर्मत