म्याग्दी, २३ साउन – बेनी नगरपालिका–१० पात्लेखेतका पहिरो पिडितलाई राहत संकलन अभियान सुरु गरिएको छ । लगातारको बर्षा, भिरालो जमिन,भूमिगत पानी, कमजोर भु–वनावटका कारण हरेक बर्ष विस्तार भइरहेको पहिरोले सिंगो गाउँ नै जोखिममा पर्नुका साथै विस्थापित भएकालाई पुर्नस्थापना गर्न बेनपा–१० का वडा अध्यक्ष रिमप्रकाश रोकाको अध्यक्षतामा पात्लेखेत दैवी प्रकोप उद्धार समिति गठन गरिएको छ । जसको सहसंयोजकमा भरत रकाल रहेका छन् । गाउँ नै पहिरोको जोखिममा परेपछि उद्धार तथा पुर्नस्थापनाका लागि स्वदेश तथा विदेशमा रहेका म्याग्देलीबाट सहयोगको अपेक्षा गरिएको सहसंयोजक रकालले बताए । ‘विस्थापितको अवस्था नाजुक छ, थप क्षतीको सम्भावना पनि उत्तिकै छ’ रकालले भने । उनले बान्द्रखाल्टी पहिरोले छविलाल गर्बुजा, अर्जुन पराजुली, बिमला नेपाली, खिम बहादुर किसान, मुरारी हमाल, लाल बहादुर हमालको घर पूर्णरुपमा क्षती पु¥याएको तथा थप घरहरु जोखिममा रहेकाले पीडितलाई राहतका लागि समितिले सक्रियता देखाएको बताए । उनले पीडितलाई राहत वितरण एकद्धार प्रणाली मार्फत गरिने भएकाले वडा अध्यक्षको संयोजनमा राहत ब्यवस्थापन समिति बनाइएको बताए । पाखाखेत पहिरोले समेत घर चर्किएको र बस्ती आसपासको जमिन समेत असर गरेकाले उच्च जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा सार्नुपर्ने बताए । पहिरोले विस्थापित आफन्तको घरमा बसाईसराई गरेका छन् । २०१८ सालमा राहुघाट नदीमा पहिरो गएपनि लामो समय रोकिएको थियो । २०६२–६३ सालबाट पहिरो जान थालेपनि रोकथामका लागि गरिएका प्रयास असफल भएका थिए ।