पर्वत, २३ साउन – फलेवास नगरपालिका ४ मुडिकुवादेखि नगरपालिकाकै ५ नम्बर वडा (खानीगाउँ) सम्मको करिब सात किमि कालोपत्रेको काम अलपत्र परेको छ । सम्झौता गरेका निर्माण व्यवसायीले समयमा काम नगर्दा सम्झौता सकिएको एक महिना बित्नै लाग्दा कामको प्रगति ३४ प्रतिशत मात्रै छ । कुश्मा र फलेवास नगरपालिका जोड्ने मुख्य सडक स्थानीय विकास मन्त्रालय अन्तर्गत नेपाल सरकारको ग्रामीण पुर्ननिर्माण तथा पुर्नस्थापना कार्यक्रम महाशाखाले ७२ असारमा कालोपत्रे सुरु गरेको हो । ३.७५ मिटर चौडा र ६.७ किमि प्रिमिक्स कार्पेटिङ गर्न चितवनको ओएसीस एन्ड बिल्डर्स निर्माण कम्पनीले ११ करोडमा ठेक्का सम्झौता गरेको थियो । सम्झौतापछिका केही समय भारतीय नाकाबन्दीका कारण काम रोकिएको थियो । नाकाबन्दी खुलेपछि पनि लामो समय रोकिएको काम कम्पनीले स्थानीय ‘पेटी ठेकेदार’ लाई जिम्मा लगाएको फलेवासका मेयर पदमपाणि शर्माले बताए । ‘सम्झौता गरेको कम्पनीले पेटी ठेकेदारलाई जिम्मा लगाएको रहेछ,’ शर्माले भने, ‘अहिले कुनै पनि ठेकेदार सम्पर्कमै छैनन् । बाटो पैदल हिँड्नै नहुनेगरी भत्काएर छोडेको छ ।’ सडकको दुवै किनारमा नाली निर्माणका लागि खनिएको माटोमा पानी जमेर पैदलयात्रीलाई समेत समस्या भएको छ । मुडिकुवाहुँदै फलेवासका चार वडा र महाशिला गाउँपालिका समेत जोड्ने यो सडक जिल्लाकै मुख्य व्यावसायिक हो । समयमा काम भए ग्रामीण क्षेत्रका सर्वसाधारणको दैनिकीमा धेरै सहज बनाउँछ । गत जेठदेखि काम छोडेर ठेकेदार सम्पर्कमै नआएपछि कालोपत्रे गर्ने अलपत्र परेको छभने स्थानीय जनप्रतिनिधि समेत आक्रोशित छन् ।