बागलुङ,२० साउन-बागलुङको ढोरपाटन नगरपालिका र निसीखोला गाउँपालिकाका विभिन्न ठाउँमा गएको पहिरोका कारण एक जनाको मृत्यु भएको छ । पहिरोमा पुरिएर पाँच जना वेपत्ता भएका छन् ।
ढोरपाटन नगरपालिकाको अधिकारीचौर पाखापानीमा पहिरोमा पुरिएर ५३ वर्षीय ओमप्रकाश बिकको मृत्यु भएको छ । घरमाथिबाट आएको पहिरोले बिकसहित पाँच जनालाई पुरेको थियो । बिकका तीन छोरी र श्रीमतीलाई स्थानीयले उद्धार गरेपनि बिकलाई बचाउन नसकिएको स्थानीयले बताएका छन् ।
यस्तै पहिरोले निसीखोला गाउँपालिकाको देविस्थानस्थित बाहुनगाउँका मनिराज छन्त्यालको घर पुर्दा चार जना वेपत्ता भएका छन् । दुई दिनदेखि परेको अवरल वर्षाका कारण ठाउँठाउँमा पहिरो खसेको स्थानीय कविर विश्वकर्माले बिकले जानकारी दिए । बिकका अनुसार पहिरोले निसीखोलाको देविस्थानमा बढी क्षति पुर्याएको छ, बिहान मात्र देविस्थानका गोगलाल मल्लको घर खोलाले बगाएको छ भने देविस्थान स्वास्थ्यचौकी सहित दर्जनौं घर बाढी पहिरोको उच्च जोखिममा छन् ।
पहिरोका कारण सडक अवरुद्ध भएपछि घटनास्थलमा प्रहरी पुग्न सकेको छैन । पहिरो प्रभावित क्षेत्रमा प्रहरी पठाइएको बागलुङका प्रहरी प्रमुख चन्द्रकुवेर खापुङले जानकारी दिए ।