बागलुङ, २० साउन – आदर्श सञ्चार सहकारी संस्था लि. बागलुङले संस्थाका अध्यक्ष अमरबहादुर थापाका पिताको निधनप्रति शोक व्यक्त गर्दै बिहिबार श्रद्धाञ्जली सभा सन्पन्न गरेको छ । अध्यक्ष थापाका पिता समाजसेवी घनश्याम थापाको निधन भएको छैठो पूण्यतिथि पारेर संस्थाले काठेखोला गाउँपालिका–२ भिमापोखरास्थित घरमै गएर श्रद्धाञ्जली सभा सम्पन्न गरेको हो । श्रद्धाञ्जली कार्यक्रममा संस्थाले सञ्चालन गरेको सामाजिक सुरक्षा तथा दैवी प्रकोप उद्धारकोष मार्फत शेयर सदस्यका परिवारको निधनमा दिइने मृतक राहत रकम मृतकका परिवारका सदस्यलाई हस्तान्तरण गरेको छ । संस्थाका अध्यक्ष अमर बहादुर थापाको पिता, शेयर सदस्य कमला थापाका ससुरा तथा शेयर सदस्यहरु गंगा थापा, ज्ञानु थापा र इन्सान थापाका हजुरबुबा घनश्याम थापाको उपचारका क्रममा साउन १४ गते काठमाडौंमा निधन भएको थियो । प्रत्येक दिन, प्रत्येक सदस्य एक रुपैयाँ संकलन अभियानमार्फत सामाजिक सुरक्षा तथा दैवीप्रकोप उद्धारकोष सञ्चालन गरेको संस्थाले शेयर सदस्यको निधन हुँदा १५ हजार र शेयर सदस्यका परिवारको निधनमा ५ हजार रुपैयाँ प्रदान गर्दै आइरहेको छ । स्वर्गीय घनश्याम थापाका छोरा र बुहारीका तर्फबाट १० हजार रुपैयाँ शेयर सदस्य तथा मृतककी नातिनी गंगा थापालाई हस्तान्तरण गरिएको थियो । कार्यक्रममा स्वर्गीय थापाका बारेमा उनका छोरा तथा संस्थाका अध्यक्ष अमरबहादुर थापाले जानकारी गराएका थिए । साविक भीमापोखरा गाविस– ५ का पूर्व वडा अध्यक्ष समेत रहेका स्वर्गीय थापाले अमर प्रावि भवन निर्माणका लागि जग्गा उपलब्ध गराउनुका साथै सो क्षेत्रको सामाजिक विकासमा उल्लेख्य काम गरेका थिए । संस्थाका सल्लाहकार डिलबहादुर कार्कीले स्वर्गीय थापाको निधनले संस्थाले असल अभिभावक गुमाएको भन्दै उहाँले देखेका सपना पुरा गर्न सबैको साथ आवश्यक पर्ने बताएका थिए । कार्यक्रम संस्थाका उपाध्यक्ष अञ्जु जिसीको अध्यक्षता र सम्पादक रामबहादुर जिसीको सञ्चालनमा सम्पन्न भएको थियो ।
Previous Articleत्रिवि कर्मचारी संघको पदस्थापन
Next Article ८ महिनामा स्वाइन फ्लुबाट ६ को मृत्यु