बागलुङ, १७ साउन – जिल्लाको बोबाङका दिनेश विकको बैदेशिक रोजगारीको क्रममा मलेसियामा मृत्यु भयो । उनको मृत्युपछि कक्षा ५ मा पढ्दै गरेकी छोरी मनिषले पढाई छाडिन् । अहिले उनी मेलापात र ज्याला मजदुरीमा हिड्न बाध्य छिन् । आर्थिक अवस्था कमजोर भएकोले परिवारले पढाउन सकेनन् । दैनिक मजदुरी नगरी खानलाउन नपुग्ने भएपछि आमासूगै उनी मजदुरीमा लागेकी हुन् । यो एउटा प्रतिनिधि मूलक घटना मात्र हो । बोवाङका अधिकांस विद्यालयमा यस्ता समस्या छन् । विद्यालय भर्ना अभियानमा उनीहरुको नाम लेखाइन्छ । तर परिक्षाको समयमा क्रमश घट्दै जान्छन् । बोबाङमा अस्थायी बसोबास छ । ढोरपाटन जनवादी आधारभूत विद्यालय, ज्ञानोदय मावि, ज्योती विकास लगायत एक दर्जन विद्यालयका बालबालिकाहरुको बसाई अस्थायी भएकोले परिवार सँगै बसाई सरेर उनीहरुको पढाई अवरुद्ध हुने गरेको हो । अभिभावकहरु पशु चरन र खेतीपातीका लागि ढोरपाटन, बुकी लगायतका स्थानमा निरन्तर बसाई सरिरहन्छन् । ‘अभिभावकहरुमा चेतनाको कमी, जाँड रक्सी सेवन लगायतका कारणले बालबालिका लाई पढाउनुपर्छ भन्ने चेतना पनि छैन’ ढोरपाटन जनवादी माविका प्रअ देवबहादुर सुनारले भने, ‘दरवन्दी अभावमा चाहेजस्तो पढाईको गुणस्तर विकास गर्न पनि सकेका छैनौं ।’ भौगोलिक रुपमा टाढा भएकोले दरवन्दीका शिक्षकको पदपूर्ति समेत गर्न नसक्दा शिक्षामा समस्या आएको ज्ञानोदय माविका प्रअ यामबहादुर कायतले बताए । गाउँशिक्षा समिति मार्फत विद्यालय भर्ना अभियान निरन्तर संचालन गरेपनि बोबाङमा भने सफल भएको छैन । कतिपय बालबालिका अझै विद्यालय भर्नामा आउन सकेका छैनन् । केही भने भर्ना भएर पनि छाड्ने गरेका हुन् । एक तथ्यांक अनुसार गत शैक्षिक बर्ष ढोरपाटन जनवादी आधारभूत विद्यालयमा ३ सय २५ बालबालिका भर्ना भएकोमा ३ सय ११ जना मात्र कक्षामा आएका थिए । अन्तिम परिक्षा दिंदा २ सय ७२ जना मात्र बाँकी रहेको सुनारले बताए । यो अभियानमा झण्डै ५० विद्यार्थीले एउटै विद्यालय छाडेका हुन् । यो क्रम अन्य विद्यालयमा पनि उत्तिकै छ । बोबाङमा यकिन तथ्यांक नआएपनि बर्षेनी डेढ सय देखि दुइसय बालबालिकाले पढाई छाड्ने गरेका छन् । सानो उमेरमा विवाह हुने चलन पनि यसको अर्को बाधक भएको उनले बताए । एकै बर्षभित्र प्राथमिक तहमा अध्ययन गर्ने ७ जनाको विवाह भएको थियो विवाह पछि अधिकांसले पढाई छाड्ने गरेका छन् । जिल्ला शिक्षाले यो क्षेत्रमा विद्यार्थी भर्ना, टिकाउ लगायतको अभियान सफल बनाउन अभियान चलाएपनि अझै सफल भएको छैन । नेपाल गाजा डेभलपमेन्ट फाउण्डेसनले पनि उक्त स्थानमा विद्यालय र समुदायमा सहयोग तथा खाजाको व्यवस्था गरेर विद्यार्थी टिकाउने अभियान संचालन गरेको थियो । ‘अभिभावकमा चेतना नआएसम्म अभियान सफल हुँदैन’ जिशिअ बिष्णुप्रसाद मिश्रले भने । प्रशिक्षार्थी