बागलुङ भने खाद्य सुरक्षित जिल्ला
बागलुङ, २२ भदौ – गत आर्थिक बर्ष नेपालले २५ अर्व रुपैयाँको चामल भारत बाट आयात गरेको छ । बीरगञ्ज र भैरहवा भन्सारबाट दैनिक आउने ट्रकमा चामल, दाल, गेडागुडी, आलु प्याज, तोरी, खुर्सानी, कागतीजस्ता दैनिक उपभोग्य सामाग्री आउने गरेको हो ।
दैनिक नेपालले अर्वौ रुपैयाँको खाद्यपदार्थ आयात गर्छ जुन नेपालीले आफ्नै बारीमा फलाएर खान पु¥याउन सक्नुपथ्र्यो । फलस्वरुप नेपालको व्यपार घाटा ७ खर्ब रुपैयाँ पुगेको नेपाल राष्ट्रबैकले सार्वजनिक गरेको छ । केही बर्ष अघि सम्म नाफामा रहेको मुलुक सँग पनि नेपालले व्यपार घाटा व्यहोर्न थालेको राष्ट्रबैंकको तथ्यांकले देखाउँछ ।
नेपालमै उत्पादन हुन सक्ने आलुको आयात समेत नेपालले बंगलादेशबाट गर्न थालेपछि अहिले सम्म नाफामा रहेको देशमा पनि व्यपार घाटा शुरु भएको हो । बंगलादेशसँग मात्र नेपालको २ अर्व ८३ करोड रुपैयाँको व्यपार घाटा भएको तथ्यांक छ । तथ्यांक अनुसार सात खर्ब ७३ अर्वको बस्तु तथा सेवा आयात भएपनि ७० अर्व रुपैयाँको मात्र बस्तु निर्यात गर्न हामी सफल छौं । कृषिप्रदान देशको व्यपार घाटा कृषि फसल आयातबाटै भएको भन्नु हाम्रोलागि सबैभन्दा लज्जास्पद हो ।
सामान्यतया यातायातका साधन, सुनचाँदी, औषधि, रसायनिक मल, इलेक्ट्रोनिक्स सामान, पेट्रोलियम पदार्थ आयात गर्नु नौलो कुरा होइन, तर कृषि फसल समेत हामीले आयात गर्न थालिसकेका छौं । अहिले सम्म नेपालले व्यपार गर्ने १ सय ४२ राष्ट्र मध्ये १३ वटामा मात्र व्यपार नाफा देखिएको हो । नाफाको मात्रा ८ हजार देखि १० लाख रुपैयाँको मात्र छ । सबैभन्दा धेरै व्यपार गरिने भारत र चीनसँग त हामीले कल्पना गरे भन्दा धेरै घाटामा छौं । गत आर्थिक बर्ष भारतसँग ४ खर्व ४४ अर्व र चीन सँग १ खर्ब १४ अर्व रुपैयाँ घाटाको व्यपार गरेको तथ्यांक आएको हो ।
बर्षेनी भारतबाट गेडागुडी मात्र २२ देखि २५ अर्व रुपैयाँको आयात हुन्छ । जुन फसल नेपालीले आफ्नै पाखामा लगाउन सक्छन् । तर बढ्दो शहरीकरणले हाम्रा गाउँपाखा उजाड बन्दै गएका छन् । दैनिक १ हजार ५ सय युवा विदेशमा काम गर्न जान्छन् । देश युवा विहिन बन्दै गएको छ । जसको कारण ग्रामीण बस्ती शुन्य बनेका छन् भने नेपालीले आम्दानी गर्ने रेमिट्यान्स अनुत्पादक क्षेत्रमा लगानी भैरहेको छ । ५ अर्व रुपैयाँ रेमिट्यान्स भित्रिएइपनि हामीले घर र घडेरीमा मात्र लगाएकोले उत्पादन शुन्य भएको हो । उक्त रकमलाइ कम्तिमा कृषि, पर्यटन, र व्यपारमा लगाउन सकेको भए नेपालले हरेक बर्ष सबै देशबाट व्यपार घाटा व्यहोर्नुपर्ने थिएन ।
सरकारले कृषि र कृषि जन्य घरेलु उद्योगका संचालन गर्न चाहने युवाका लागि उद्योग धरौटी राखेर ऋण दिने व्यवस्था गरेको छ । अहिले सम्म त्यस्तो ऋण लैजाने हातमा गन्न पुग्ने मात्र छन् । ‘नेपालीलाइ बेसाहा खान पर्ने अवस्था हुँदै होइन, तर खानेवानीको विकास गर्न नसक्दा दिन दिनै आयात गरेर हामी गरिब भैरहेका छौं’ बरिष्ठ कृषि विकास अधिकृत बिनोद हमाल भन्छन्, ‘भात मात्र खाने बानीलाइ सुधार्दै अन्य खाद्यान्नको पनि समान उपभोग गर्नुपर्ने चेतना भर्न पर्नेछ ।’ उनले बागलुङ जिल्ला तुलनात्मक रुपमा आत्मनिर्भर तर्फ अगाडि बढेको धारणा राखे । गत आर्थिक बर्ष बागलुङले लाखौं रुपैयाँको आलु निर्यात गरेको थियो । १० करोड रुपैयाँको सुन्तला, ३५ हजार केजी मकैको बीउ समेत अन्य जिल्लामा विक्रि गरेको थियो । सरकारले ल्याएको ‘राइस मिसन’ अभियानलाइ सबै जिल्लामा लागू गर्नुपर्ने हमालको धारणा छ । सरकारको कृषि नीतिलाइ हामीले पालना गर्न नसक्दा युवाहरु रोजगारी खोज्दै खाडीमा भौंतारिन बाध्य छन् । कतिपयले घरैमा केही कुटिल उद्योग संचालन गर्ने, व्यवसायिक तरकारी र पशुपालन गर्नका लागि ऋण पाउने बाटो नदेखेर अलमलिएको अवस्था छ ।
बागलुङले के के निर्यात गर्न सक्छ ?
बागलुङमा बर्षातको समयमा पनि गोलभेंडा र काउली फलाउन सकिन्छ । बरिष्ठ कृषि विकास अधिकृत बिनोद हमालका अनुसार बेसिजनमा फल्ने तरकारीले सिजनको तुलनामा तीन गुणा बढी मूल्य पाउँछ । सिजनमा २० देखि ३० रुपैयाँ पर्ने काउली अहिले तित्याङका किसानले प्रति केजी एकसय १० रुपैयाँमा बेचेका छन् । जिल्लाका प्राय सबै गाविसमा त्यस्तै तरकारी फलाउन सकिने उनले बताए । ढोरपाटन, ताराखोला र भकुण्डेमा फल्ने आलु किसानले छिमेकी जिल्ला र भारतमा समेत निर्यात गरेको कार्यालयको तथ्यांक छ ।
पकेट क्षेत्रको रुपमा कुश्मीसेरा लगायतका स्थानमा उत्पादन भएको मकैको बीउ पश्चिमाञ्चलका धेरै जिल्लामा विक्रि भैरहेको छ । बीहुँ, सिगाना, भकुण्डे लगायतको स्थानमा फल्ने सुन्तला बर्षेनी कम्तिमा १० करोड रुपैयाँको विक्रि भएको तथ्यांक छ । भारतमा समेत नफलेको समयमा बागलुङ सहित पहाडी जिल्लामा गोलभेंडा फलाउन सकिन्छ । बागलुङका किसानले प्लाष्टिक घरमा लाखौंको गोलभेंडा फलाएर देखाएका छन् । बेसिजनको गोलभेंडाले पनि तीन गुणा बढी मूल्य पाएको छ ।
Previous Articleयुवाको सक्रियतामा अवरुद्व विद्युत सूचारु
Next Article स्थानीय निकाय पुनःसंरचनाका काम नरोकिने