बागलुङ, ११ साउन – जिल्ला भित्रको मध्य पहाडी लोकमार्ग र बागलुङ कुश्मीसेरा सडक स्थायी यातायात अनुमति पाएको सडक हो । बागलुङदेखि सिगानाहुँदै गाजा दह जाने सडक र बुर्तिवाङदेखि ढोरपाटन जाने सडक, लेखानी लगायतका केहीले अस्थायी अनुमति पाएका छन् । तर जिल्लाका १ हजार २ सय किमी कच्ची सडकको संजालमा बर्षातमा पनि सवारी गुडीरहेका छन् । ती सडक हिउँदमा यात्रा गर्दा समेत जोखिम भएपनि बर्षात, झरी केही नभनी जिप र बस समेत संचालनमा छन् । सदरमुकामको रिङरोडमा पनि हिउँदका लागि मात्र संभावना छ तर नियमित सबारी चलेका छन् । यसरी चलेका सवारीले यात्रीलाई समयमा गन्तव्यमा पुग्न त सहयोग पुगेको छ तर जुनसुकै समयमा दुर्घटना पर्न सक्ने संभावना छ । असार यता जिल्लामा भएका घटनामा ७ जनाले ज्यान गुमाएका छन् । ती सबै घटनामा यातायातका लागि मान्यता नपाएका सडकहरु हुन् । बर्षातमा मर्मत नगरीकन सवारी चलाउँदा यहाँका सडकमा दुर्घटना बढेको छ । अधिकांस ग्रामीण सडक सवारी चल्नेगरी मर्मत नभएकोले अधिकांस सडकमा यात्रीले सास्ती खेप्न बाध्य भएका छन् । हिलो र चिप्लोमा सवारी साधन धकेल्दै यात्रीहरु गन्तव्यमा पुग्ने गरेका छन् । खाद्यान्न र अन्य दैनिक उपभोग्य सामाग्रीका लागि स्थानीयले बाध्य भएर ती सडकमा यात्रा गरिरहेका हुन् । ग्रामीण सडकमा चल्ने अधिकांस सवारीहरु थोत्रा पनि छन् । तर त्यस बारेमा यातायात व्यवस्था कर्यालय, प्रहरी प्रशासनले अनुगमन समेत गरेको छैन । ‘अनुमति नपाएका सडकमा पनि धेरै सवारी जवरजस्ती चलेका छन्’ यातायात व्यवस्था कार्यालय धौलागिरीका नासु रामप्रसाद शर्माले भने, ‘प्रजिअको अध्यक्षतामा रहने समितिले रुट निर्धारण गर्दै आएको छ ।’ तोकिएका रुट बाहेक अन्यत्र चल्दा हुने जोखिम बारे सबै व्यवसायीलाइ बोलाएर सचेत गर्ने प्रहरी उपरिक्षक चन्द्रकुवेर खापुङले बताए । मध्य पहाडी लोकमार्ग आयोजनाले पनि काममा ढीलाइ गर्दा परमिट भएको खण्डमा पनि यात्रीले दुःख पाएका छन् । रिघा मनेवा खण्डमा ६ महिना अघिदेखि खसेको पहिरोको व्यवस्थापन नभएपछि दैनिक सवारी जाममा परेका छन् । अहिले सम्म पनि दैनिक पहिरो खस्ने भएकोले यात्रीले घण्टौ कुर्न बाध्य छन् । मध्यपहाडी लोकमार्ग आयोजनाले यो खण्डमा अहिले पनि निर्माण गरिरहेको छ । जिल्लाका सबै नगर र गाउँको पहिलो परिषद सम्पन्न भएका छन् । ती परिषदले बर्षातमा मर्मत गर्नका लागि बजेट विनियोजन गरेका छैनन् । पहिलो बर्षको बजेटमा नीतिगत र आन्तरिक पूर्वाधार निर्माण सम्बन्धी कार्यक्रम बढी परेको बडीगाढ गाउँपालिकाका अध्यक्ष मेयरसिंह पाईजाले बताए । सोमबार भएको घटनाका मृतकलाई पनि उनले ५० हजार रुपैयाँका दरले राहत वितरण गर्ने घोषणा गरेका छन् । सोमबार भएको जिप दुर्घटनामा यहाूका ४ जनाको मृत्यु भएको थियो । उक्त घटना भएको सडक पनि बर्षातका लागि अनुमति नपाएको मार्ग हो ।