बागलुङ, ८ साउन – नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले राजनीतिक आन्दोलन पुरा भइसकेकोले राजनीतिक दलहरुको अबको मुख्य कार्यभार आर्थिक समृद्धि हुनुपर्ने बताएका छन् । नेकपा एमाले बागलुङले ३९ औं पुष्पलाल स्मृति दिवस पारेर शनिवार आयोजना गरेको विचार गोष्ठीमा बोल्दै खनालले भने, ‘राजनीतिक दलहरुको काँधमा अब मुख्य ५ वटा कार्यभार आएका छन, ती हुन् राष्ट्रिताको रक्षा, लोकतन्त्रको संस्थागत विकास, आर्थिक समृद्धि तथा सामाजिक रुपान्तरण, सांस्कृतिक रुपान्तरण र विदेश नीतिमा सन्तुलन ।’ यिमध्ये आर्थिक सामाजिक रुपान्तरण अबको पहिलो कार्यभार भएको उनले बताए । ‘राजनीतिक रुपमा राणातन्त्र फाल्यौ, पञ्चायत पाल्यौ, राजतन्त्र फाल्यौ, गणतन्त्र ल्याऔ, अब देशमा विद्यमान गरिवी, बेरोजगारी, रोग, भोक र शोक फाल्नका लागि आर्थिक रुपान्तरण आवश्यक रहेको छ’ –खनालले भने । देश समृद्ध नभएकै कारण राष्ट्रियता कमजोर भएको चर्चा गर्दै खनालले देशमा भएका स्रोत साधनको अधिकतम उपयोग गरी स्वदेशमा रोजगारी सिर्जना गर्नेतर्फ ध्यान दिनु पर्नेमा जोड दिए । कृषिमा आधुनिकीकरण र सहकारीकरण गरेर कृषि उद्योग सञ्चालन गर्ने, उत्पादन र बजारीकरणको व्यवस्था मिलाउनेतर्फ अब सबैको ध्यान जानु पर्नेमा जोड दिदै खनालले यसको अगुवाई नेकपा एमालेले गर्नु पर्ने बताए । आर्थिक रुपमा सबल बन्न सक्यौ भने मात्रै राष्ट्रियताको संरक्षण गर्न सकिने भन्दै उनले छिमेकीसंगको सम्बन्ध सन्तुलित बनाई राख्नु पर्नेमा जोड दिए । उत्तर र दक्षिणका छिमेकीसंग लत्रेर होइन, समान हैसियतका आधारमा सम्बन्ध विस्तार गर्नु पर्ने र त्यसका लागि नेकपा एमालेको सरकार आवश्यक रहेको उनको भनाई थियो । ‘दक्षिणतर्फ हाम्रा केही समस्याहरु छन्’ खनालले भने– ‘कालापानी, सुस्तासंगै देशका विभिन्न भागमा नेपाललाई प्रतिकुल असर गर्ने गरी बनाइएका वाँधहरुलाई सच्याउन कुटनीतिक पहल गर्नु पर्छ ।’ पूर्व प्रधानमन्त्री समेत रहेका नेता खनालले संविधानले व्यवस्था गरे अनुरुप माघ ७ गते भित्र स्थानीय तह, प्रदेश र संसदको निर्वाचन गर्नुको विकल्प नरहेको बताए । निर्वाचन गराउन आलटाल भैरहेको भन्दै उनले त्यसका लागि एमाले र जनताका तर्फबाट खबरदारी आवश्यक रहेको बताए । नेपाली कांग्रेसले देश चलाउन सक्दैन भन्ने कुरा नेपाली जनताले बुझिसके, नेकपा माओवादी केन्द्र पार्टीभन्दा पनि आन्दोलनका रुपमा रहेको र त्यो पनि विघटनको संघारमा रहेका कारण जनताले एमालेलाई राज्य सञ्चालनको जिम्मेवारी सुम्पने उनको भनाइ थियो । एमालेले लिएको नीति तथा कार्यक्रम र अडानका कारण जनतामा एमालेप्रति सकारात्मक भावना विकसित भएको भन्दै उनले जनताले दिएको साथ र समर्थनलाई गंभिरताका साथ पुरा गर्न जनप्रतिनिधिहरुलाई आग्रह गरे । विगतमा एमाले विभाजनका कारण देशमा उग्रवामपन्थी भड्काव आएको, उदारवादी बुर्जुवा शक्ति सत्तामा पुगेको, स्थानीय निकायलाई निरन्तरता दिन नसकिएको र विदेशसंगको सम्बन्ध कमजोर बन्दै गएको भन्दै उनले अब पनि एमाले कमजोर भयो भने राष्ट्रियता मात्रै होइन, देशको आर्थिक सामाजिक अवस्था समेत कमजोर हुने दाबी गरे । पार्टीमा गुटबन्दीका गन्धहरु आउने गरेको भन्दै उनले कार्यकर्ताहरुलाई अमुक नेताको होइन, एमाले गुटको कार्यकर्ता बन्न सुझाव दिए । पुष्पलालले अगुवाई गरेर निर्माण गरेको कम्युनिष्ट पार्टीको मुलधार नेकपा एमाले भएको दाबी गर्दै उनले पुष्पलालको सपना साकार पार्न एमाले निरन्तर क्रियाशिल रहेको बताए । कार्यक्रममा नेकपा एमालेका स्थायी कमिटि सदस्य तथा प्रदेश नंं ४ संगठन कमिटिका संयोजक किरण गुरुङ, वैकल्पिक केन्द्रीय सदस्य तथा बागलुङ इन्चार्ज मना केसीले पुष्पलाल कम्युनिष्ट पार्टीको स्थापना गर्दा देखेको सपना पुरा गर्नका लागि एमालेको अगुवाई अनिवार्य भएको बताएका थिए । कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव स्वर्गीय पुष्पलाल श्रेष्ठको बारेमा वैकल्पिक केन्द्रीय सदस्य गोविन्द नेपालीले जानकारी गराएका थिए । कार्यक्रम नेकपा एमाले जिल्ला कमिटिका बागलुङका अध्यक्ष इन्द्रलाल सापकोटाको अध्यक्षता, उपाध्यक्ष कृष्ण पाठकको स्वागत र सचिव लालबहादुर थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।