म्याग्दी, ६ साउन – म्याग्दी र मुस्ताङलाई जोड्ने वैकल्पिक मार्गका रुपमा पहिचान गरिएको धौलागिरि आइसफल पदमार्गमा पूर्वाधार निर्माण गरिएको छ । ६ वर्ष अगाडि टान पोखराको नेतृत्वमा जिल्लाका सरोकारवालाहरुको पहलमा स्थलगत अवलोकनबाट पहिचान गरिएको यस पदमार्गमा पाँच वर्षदेखि नियमितरुपमा पूर्वाधार निर्माणको काम भइरहेको छ । मनोरम हिमश्रृंखलाको दृष्यावलोकन गर्न सकिने यो पदमार्गमा आव २०७३र७४ मा पर्यटन कार्यालय, पोखरामार्फत विनियोजन भएको रु. १० लाख बजेटबाट पदमार्गअन्तर्गत चिमखोलाको ससलधारा क्षेत्रमा करिब एक किमी पदमार्ग निर्माण गरिएको हो । झण्डै दुई महिना धौलागिरि हिमालको फेदीतिर अस्थायी रुपमा बसोबास गरी २८ जनाले पदमार्ग निर्माण गरिएको धौलागिरि आइसफल पदमार्ग निर्माण समितिका अध्यक्ष धु्रवकुमार पाइजाले जानकारी दिए । अक्करे भिरमा डोरीको सहायताले भिर फोरेर पदमार्ग निर्माण गरिएको छ । पाँच वर्षको अवधिमा भगवतीको रुइसेदेखि पछेत्राधुरी, सोबाङधुरी, लोसधुरी, दहबुकी, फेदी, सुगुरथलाहुँदै ससलधारा क्षेत्रसम्म पदमार्गको बाटो निर्माण भएको छ । बाटो निर्माण भएको पदमार्गमध्ये रुइसेदेखि दहबुकीसम्मको पदमार्गलाई अझै स्तरोन्नति गर्नुपर्ने छभने दहबुकीदेखि कालीबराह खोलासम्म पदमार्ग बनाइएको छ । कुइनेमंगले र चिमखोला साइटमा पर्ने धौलागिरि हिमालको आधार शिविरमा पुग्नका लागि अब झण्डै तीन किमी पदमार्ग निर्माण गर्नुपर्ने छ । त्यसमा झण्डै ५० मिटर जति भू–भाग कडा चट्टानको भिरलाई काटेर बनाउनुपर्ने अध्यक्ष पाइजाले बताए । त्यस्तै कालीबराहको दोभानबाट कालीबराह तालहुँदै मुस्ताङको लेते निस्कने परम्परागत गोरेटोबाटोलाई स्तरोन्नति गर्नुपर्ने छ । यसैबीच पदमार्गलगायतका पूर्वाधार निर्माणले पूर्णता नपाउँदा र आवश्यक प्रचारप्रसारको अभावमा अहिलेसम्म सञ्चालनमा ल्याउन कठिनाइ भइरहेको छ । पदमार्ग निर्माण योजना अगाडि बढे पनि नक्सांकन र थप पर्यटन पूर्वाधार निर्माण नहुँदा पदमार्ग सञ्चालनमा ढिलाइ भएको धौलागिरि आइसफल पदमार्ग निर्माण तथा व्यवस्थापन समितिका सल्लाहकार देवेन्द्र केसीले बताए । कुमारी पदमार्गका रुपमा रहेको यस क्षेत्रमा प्रारम्भिक चरणको पदमार्ग निर्माण गर्ने काम अन्तिम चरणमा पुगेकाले नक्सांकन गरी सूचनामूलक संकेत बोर्ड राख्ने र खानेपानी, भ्यू टावर, लज जस्ता पूर्वाधार निर्माणमा ध्यान दिनुपर्छ ।