बागलुङ नगरपालिका–४ (साविक वडा नं. ११) उपल्लाचौरमा निर्माण गर्ने चर्चा भएको वर्षाै बितिसकेको छ । तर, त्यसले कहिले सार्थक रुप लिन्छ भन्नेमा एकीन छैन । सुविधा सम्पन्न बसपार्क निर्माणमा लागि स्थानियले करिब ५० करोड पर्ने जग्गा निशुल्क उपलब्ध गराएका छन् । हरेक वर्ष नगर परिषदमा बसपार्क बन्ने चर्चा हुन्छ । बजेट बिनियोजित पनि हुन्छ । केही मात्रामा काम हुन्छ त्यो पनि झारा टार्ने तरिकाको । जग्गाको अभाव हुँदा कतिपय ठाउँमा पैसा भएर पनि काम हुन सकेको छैन । तर, बागलुङ बजारमा व्यवस्थित बसपार्क निर्माणको लागि स्थानियले निशुल्क रुपमा जग्गा दिएपनि सम्बन्धित निकायले प्रभावकारी काम गरेर भने देखाउन सकेको छैन । हरेक बसपार्क बनाउने काम केवल फगत गफको विषय बन्न पुगेको छ । बसपार्क निर्माण गर्ने अभियानमा नगरपालिका मात्रै दोषी छैन । राजनीतिक दलहरु पनि उत्तिकै जिम्मेवार छन् । बसपार्क जस्तो संवेदनशिल विषयमा पनि राजनीतिकरण हुन्छ । यथार्थमा भन्नु पर्दा राजनीतिक दलको अर्कमण्यता कै कारण अहिलेसम्म बसपार्क बन्न नसकेको हो ।
उपल्लाचौर वसपार्क क्षेत्रभित्र अहिले सो क्षेत्रमा रोपनीको एक करोडदेखि दुई करोडसम्म पर्ने स्थानीयहरु बताउँछन् । अहिले सो क्षेत्रको जग्गा अत्याधिक महंगो छ । स्थानीय बासिन्दाले वसपार्क निर्माणका लागि भनी जग्गा व्यवस्थापन तथा बिकास समितिलाई जग्गा प्रदान गरेपनि अहिलेसम्म बसपार्क निर्माण हुन नसक्नुले उनीहरुमा निराशा छाएको छ । वसपार्क क्षेत्रमा ५९ रोपनी जग्गा रहेको र २९ रोपनी जग्गामा मात्रै वसपार्क निर्माण गरिने विषयमा सम्झौता भईसकेको छ । स्थानियले बसपार्क निर्माणका लागि जग्गा व्यवस्थापन समितिलाई दिएको वर्षाै बितिसक्दा पनि बसपार्क निर्माणको काम तीव्र गतिमा हुन नसकेको भन्दै स्थानियले पटक–पटक विरोधका कार्यक्रम पनि गर्दै आएका छन् । एकातर्फ बसपार्क निर्माण कार्य हुन सकेको छैनभने ५९ रोपनी जग्गा पनि प्रयोगबिहीन अवस्थामा छ । बसपार्क क्षेत्रमा केही वर्षअघि कालोपत्रे गरिएपनि त्यसको अहिले नामोनिसाना समेत देख्न सकिदैन ।
बागलुङ बजारमा व्यवस्थित बसपार्क नहुँदा यत्रतत्र पार्किङ गरिएका सवारी साधनका कारण बजार कुरुप बन्दै गएको छभने दुर्घटनाको जोखिम पनि उत्तिकै बढाएको छ । सवारी साधनको बढ्दो चापका कारण चिप्लेटी बसपार्क साँघुरो बन्दै गएको छ । सरकारी बजेटमा देउराली चोकमा जीपपार्क बनाउने नाममा लाखौं बजेट पनि सक्ने काम भयो । तर, देउराली चोकमा अहिले एउटा जीप पनि पार्किङ गरिएको देखिदैन । बजारका चोक–चोकमा गाउँबाट आउने जीप तथा भ्यानहरु अव्यवस्थित तरिकाले पार्किङ गरिएको छ । बसपार्कको लागि स्थानीय बासिन्दाले जग्गा उपलब्ध गराएको लामो समयसम्म पनि काम अघि नबढ्नु अत्यन्तै दुःखद कुरा हो । स्थानिय तहको तहबाट जनप्रतिनिधिहरु पनि चुनिएका छन् । उनीहरुले चुनाव ताका बाँडेको सपनामध्ये एक बसपार्क पनि हो । बसपार्क निर्माणको लागि नगर परिषदले ४० लाख रुपैयाँ बजेट पनि छुट्टाएको छ । अब केही हुन्छ कि भन्ने नगरबासीले आशा गरेका छन् । बसपार्क फगत गफको विषय नबनोस् । जनप्रतिनिधिको यसमा ध्यान जाहोस् ।
Previous Articleमरुद्यानको खेती कि सिसिफसको नियति
Next Article २०७४ साउन ५ गते बिहीबारको राशिफल