पर्वत, ५ जेठ-सरकारले मासुको गुणस्तर र स्वच्छता कायम राख्न मासु पसलहरुको अनुगमनलाई तिब्रता दिएसंगै पर्बतमा पनि मासु पसल अनुगमनलाई तिब्र पार्न थालिएको छ । जिल्ला पशु सेबा कार्यालय पर्बतको अगुबाईमा जलजला गाउँपालिका आसपासमा रहेका मासु पसलहरुको मंगलबार अनुगमन गरिएको हो । अनुगमनका क्रममा आधाभन्दा बढी मासु पसल बिना दर्ता संचालन भएको पाइएको छभने अधिकांश पसल मापदण्ड विपरितका भेटिएका छन् । कतिपय पसलमा मासु काट्ने र मासु राखिएका स्थान फोहोरयुक्त पाइएका छन्भने फोहोरका कारण ब्याक्टेरिया धेरै भेटिएको अनुगमन टोलीले बताएको छ । अनुगमनमा सहभागी पशु सेबा कार्यालयका पशु चिकित्सक बिमल पौडेलले मासुको उत्पादनदेखि उपभोगसम्म स्वच्छता र स्वस्थतालाई जोड दिन सचेतना फैलाउन अनुगमन गरेको भन्दै यसक्रममा कैफियत फेला परेका पसलहरुलाई मापदण्ड पूरा गर्न निर्देशन दिइएको बताए । उनले कैफियत भेटिएका मासु पसलमा एक सातापछि फेरि अनुगमन गर्ने र त्यसक्रममा मापदण्ड पूरा नगरेको फेला परे ऐन अनुसार कारवाही गरिने बताए । अनुगमनमा जिल्ला पशु सेबा कार्यालय, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधी, उद्योग बाणिज्य संघका प्रतिनिधी, उपभोक्ता मञ्च, प्रहरी र पत्रकार लगायतको उपस्थिती रहेको थियो । साबिकको मिलनचोक र वारीबेनी गरि झण्डै २ दर्जनभन्दा बढी पसलहरुमा अनुगमन गरिएको हो ।
Previous Articleमालिका मन्दिरमा भ्यु टावर बन्ने
Next Article कोदालो प्रहार गरी श्रीमानको हत्या