बागलुङ, ३ असोज-कालिका भगवती गुठी व्यवस्थापन समितिले गत आर्थिक बर्ष १ करोड १५ लाख भेटी संकलन गरेको छ । मन्दिरमा भक्तजनले चढाएको दान, मुठी, भेटी, परेवा, अक्षेता समेतबाट उक्त रकम संकलन भएको समितिका अध्यक्ष राजु खड्काले जानकारी दिए । मन्दिरको आयव्ययलाई पारदर्शी बनाउनका लागि गत बर्ष देखि पूजा तथा अन्य व्यवस्थापकीय काम ठेक्कामा दिने चलन हटाइएको थियो । समितिकै अग्रसरतामा गर्दा काम व्यवस्थित हुने, पारदर्शीता हुने गरेको भेटिएको हो । गत बर्षको साउन १ गते देखि असार मसान्त सम्म ५९ लाख ८८ हजार रुपैयाँ भेटी मात्र संकलन भएको हो । हरेक दिन पारदर्शी रुपमा रकम सार्वजनिक गर्दै बार्षिक आयव्याय पनि तयार गरिएको हो । यो समयमा १ हजार ८ सय ५४ बोका बली चढेकोमा टाउकोबाट १२ लाख ९९ हजार, कुखुराबाट १ लाख १४ हजार संकलन भएको हो । त्यस्तै परेवा, अक्षेत लागायतको विक्रि बाट पनि मन्दिरले आम्दानी गरेको हो । समितिले मन्दिर व्यवस्थित बनाएर विश्व सम्पदा सूचिमा सूचिकृत गर्ने योजना पनि अगाडि सारेको छ ।