राजेशचन्द्र रा.भ.
कवि भुपि शेरचनले लेख्नु भएको कबिता संग्रह ‘घुम्ने मेचमाथी अन्धो मान्छे’ भित्र भएको एउटा कबिता ‘यो हल्लै–हल्लाको देश हो’ भन्ने अहिले पनि हाम्रो देशको सन्दर्भमा मेल खान्छ । अहिले नेपालका प्रथम महिला राष्ट्रपति बिद्यादेवी भण्डारीलाई नयाँ गाडी सवारीको लागि किन्न १६ करोड रूपैयाँ माग भएको कुरा मिडियामा आयो । यो खबर सकारात्मक भन्दा पनि नकारात्मक रूपमा भाइरल भयो । सबैले सामाजिक संजालमा राष्ट्रपतिलाई १६ करोड दिनुभन्दा बरू त्यो रकम यहीँ खर्च गरेर उद्योग खोल्नु पर्ने अर्थी उपदेश पनि दिने काम भयो ।
साँच्चै नेपालको राष्ट्रपतिलाई यति महंगो गाडीको आबश्यकता हो कि हैन प्रमुख कुरा त्यो हो । बेला–बेलामा सुन्ने गरिन्छ बिदेशी पाहुना आएको समयमा सुरक्षित सवारी साधन नहुँदा छिमेकी मुलुकबाट सापटी माग्नु परेको कुराले देशको अबश्य पनि इज्जत हुदैन होला । हुँदै नहुने ठाउँमा करोडौ रकम खर्च भएको छ तर हामीले चाहिने ठाउँमा भने पैसा खर्च गर्न हिचकिचाउट गछौं ।
गाडीका लागि १६ करोड माग भएपछि धेरैले यसको आलोेचना गरे । सरकार प्रमुख रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा उभिएर यो बिषयमा जवाफ दिनुपर्ने भयो । कहिँकतैबाट राष्ट्रपति भण्डारीको लागि १६ करोड रकम माग भएको छैन भनेर । अनि कहाँबाट आयो त त्यो कुरा अखबारमा ? कसले दियो त खबरको स्रोत ? त्यसको मतलब हावाको भरमा अखबारमा खबर आयो हावाकै भरमा फैलिएको त अबश्य हैन होला ।
गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री प्रचण्डलाई बालुवाटारमा १ लाखको पलङ खरिद गरेको बिषयले राष्ट्रिय मात्रै हैन अन्तराष्ट्रिय चर्चा पाएको थियोे । एकजना सर्बहाराका नेता जनयुद्ध गरेका नायकलाई १ लाख रूपैयाँ पर्ने पलङ किन चाहिन्छ भनेर धुँवाधार बिरोध भएको थियो । हो आलोचना हुनुपर्छ तर सकारात्मक । त्यसो भएमात्र सरकारमा बस्ने सतर्क हुन्छन् । अहिले सामाजिक संजालमा मनपरि ढंगले तथानाम लेख्ने ह्वात्तै बढेर गएको छ । सामाजिक संजाल दुरुपयोग गर्ने गाली बेइज्जती गर्नेलाई साइबर अपराध अन्तरगत सजाय हुने ब्यबस्था भएपनि थोरै मात्र मुद्दा चल्ने गरेको देखिन्छ । धेरै सर्बसाधारणलाई त साइबर अपराधबारे जानकारी नै छैन । अहिले सामाजिक संजाल फेसबुक र टुइटरलाई मनपरि गालीगलौज गर्ने थलो बनाउने काम गरेको कारण झन्भन्दा झन् तल्लो स्तरमा लेख्ने भएको छ । अहिले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भन्नै नसकीने तथानाम गाली गरेर लेख्ने एकजना सज्जनलाई प्रहरी प्रशासनले पक्राउ गरेको छ यसलाई प्रहरी प्रशासनको सफलता मान्नु पर्छ ।
सामाजिक संजालमा देखिएको बिकृति बिसंगतिलाई अब तत्काल नियन्त्रण गर्न जरुरी छ । मनपरि तरिकाले खुलेका अनलाइन पत्रिका फेसबुक लगायत जे–जति पनि तथानाम मनपरि लेख्नेलाई अब छुट दिनु भनेको आफ्नो खुट्टामा आफै बन्चरो हान्नु बराबर हो । अहिले सबैभन्दा सजिलो रिसिइबी साँध्ने माध्यम सामाजिक संजाल बन्दै गैरहेको छ । अहिले लोकतन्त्रको नाममा छाडातन्त्रलाई छुट दिनु अर्को अपराधलाई बधवा दिनु हो । साँच्चिकै राष्ट्रपतिलाई कार चाहिएको होभने त्यो कार किन्नलाई हल्ला–खल्ला गरिरहनु पर्ने बिषय हैन । सरकारले गर्ने नियमित गतिविधि नै मान्नुपर्छ । राष्ट्रपतिको कुरा गर्दा राष्ट्रपतिलाई हेर्ने दृष्टिकोण एमाले कै छ । अहिलेसम्म पनि राष्ट्रपति, प्रधानमन्त्री, सभामुख नेपाली जनताको साझा ब्यक्ति हुन सकेका छैनन् । यो पनि बिडम्बना हो । अहिले बाहिरका सर्बसाधारण समेतले यहीँ रूपमा लिने गरेको कारणले पनि अहिले सामाजिक संजालमा दोहोरी चल्ने गरेको तितो यथार्थ हाम्रो अगाडि देखिन्छ ।
साँच्चै कार कति करोडको भनेर बिबाद गर्नुभन्दा राष्ट्रपति जस्तो गरिमामय पदका ब्यक्तित्वलाई बिबादास्पद बनाउनु अबश्य पनि सकारात्मक पक्ष भने हैन । रास्ट्रपति बिद्या भण्डारीको अपमान हुनु भनेको सारा नेपालीको अपमान हो भन्ने बुझ्न सकेमात्र टिका– टिप्पणी हुने थिएन ।
राष्ट्रपतिलाई दिने सुबिधाको बिरोध गर्नु बुद्धिमानी हैन । राष्ट्रपतिको सुरक्षालाई ध्यानमा राखी नेपाली सेनाले जुन किसिमको सुरक्षा नीति बनाउछ त्यहीँ अनुसार अगाडि बढ्नुपर्ने हुन्छ । भोलि गएर कुनै दुर्घटना भएपछि पछुतो मान्नु भन्दा पहिले नै सतर्कता अपनाउनु बेस हो । हामीले के कुरा पनि भुल्नु हुन्न भने जनताको छोरा छोरी राष्ट्रपति, उप–राष्ट्रपति, प्रधानमन्त्री, सभामुख र मन्त्री भएको कुरालाई जनताले पचाउने शैलीमा हाम्रो परिबेश पनि हुन जरुरी छ ।
नेपालमा मनपरि ढंगले मोबाइल प्रयोग गर्न दिने कुन मान्छेसंग कति बटा मोबाइल छ ? कतिवटा सिम उसले निकालेको छ ? कस्को नाममा निकालेर प्रयोग गरिरहेको छ ? त्यसको वास्तविक तथ्यांक न त लिनेसंग छ न त दिने टेलिकम कम्पनीसंगै । मनपरि ढंगले ब्यापारको नाममा मोबाइलको सिम रद्दी कागज जसरी बेच्ने जुन काम हुदै आएको छ यसले पनि समस्या ल्याएको छ । भोलिका दिन थप गम्भीर घटना घट्न सक्ने देखिन्छ । सरकारले अहिले मनपरि ढंगले चलिरहेका अनलाइनलाई तत्काल बन्द गराउन जरुरी छ । सामाजिक संजालमा मनपरि लेख्ने जो–कोही भए पनि कानुनी कार्बाही गर्न जरुरी छ ।
मनपरि ढंगले फेसबुक चलाउने राष्ट्रपति, प्रधानमन्त्रीमन्त्री, सभामुखदेखि देशका नेताहरूको फोटो कार्टुन बनाएर मनपरि लेख्ने जुन चलन चलिरहेको छ त्यसलाई समेत नियन्त्रण गर्न जरुरी देखिन्छ ।
अहिले १६ करोड भाइरल बनेको छ । हाम्रो राजधानीको सडक अस्तब्यस्त छ । पानी परे हिलो हुने र घाम लागे धुलो हुने । राष्ट्रपतिको सवारी हुने दिनभरी सडक जाम हुने, सडकमा काम–काजको लागि निस्कने सर्बसाधारण निकै मर्कामा पर्ने गरेको तथ्यलाई मनन गर्न जरुरी छ । अहिले देशमा राजतन्त्र छैन गणतन्त्र स्थापना भएको छ । जनताको छोराछोरी राष्ट्रपति र प्रधानमन्त्री भएका छन् । अझैपनि पुरानो परम्परा अनुसार चल्नु भन्दा अलि छिटोछरितो नीति बनाउन जरुरी छ । सवारी गुड्ने सडक छिटोभन्दा छिटो स्तरिय बनाउन जरुरी छ । अहिले ५ मिनेटको सडकमा यात्रा गर्न १ घण्टा लाग्ने जुन अबस्था छ त्यसको भने अन्त गर्न जरुरी छ ।
हामीले किनेका सवारी साधन सडकमा गुडाउने होभने त्यहीँ अनुसारको सडक बनाउन जरुरी छ । अहिले नेपालमा एउटा प्रबृत्ति के हाबी छ भने सकारात्मक देख्दा नकारात्मक कहिँ पनि नदेख्ने । नकारात्मक देखे सकारात्मक नै नदेख्ने कारणले नेपालमा यस्तो बिषय उठ्ने गरेका हुन् । कवि भुपि शेरचनले यस्तै भएर ‘यो हल्लै हल्लाको देश हो’ भनेर कबिता सृजना गर्नुभएको होला । जुन अहिले पनि सान्दर्भिक छ ।