म्याग्दी, १ साउन- जिल्लाको रघुगंगा गाउँपालिका–२ मा अवस्थित पर्यटकीयस्थल रुइसे–भेडिओढारमा भ्यू टावर बन्ने भएको छ । शनिबार पाखापानीमा सम्पन्न भएको गाउँपालिकाको प्रथम गाउँसभाले पर्यटकीय सम्भावना भएको क्षेत्रलाई प्रचारप्रसारमा प्राथमिकता दिदैं भ्यू टावर निर्माणका लागि १५ लाख विनियोजन गरिएको गाउँपालिकाका प्रमुख भब बहादुर भण्डारीले भने । ‘भ्यू टावरले पर्यटकलाई आर्क्षित गर्ने छ । आईसफल जाने पर्यटकलाई लक्षित गरेर थप पूर्वाधारमा समेत प्राथमिकता दिनेछौ’ भण्डारीले भने । उनले स्थानीयको प्रयासमा अहिलेसम्म प्रचारप्रसार भएपनि रुईसेबाट देखिने आधा दर्जन भन्दा धेरै हिमश्रंखला, लालीगुराँसको घना बस्ती लगाएत प्राकृतिक सौन्दर्यतालाई समेत आर्कषित गर्न भ्यू टावरले भूमिका खेल्ने बताए । बेनी–जोमसोम पदमार्गमा सडक सञ्जाल विस्तार भएसंगै बैकल्पिक पदयात्राको रुपमा पहिचान भएको ‘धौलागिरी आइसफल पदमार्ग’को पहिलो पर्यटकीय गन्तव्यको रुपमा रुइसे –भेडिओढार क्षेत्रलाई मानिन्छ । पर्यटकीय क्षेत्रको रुपका विकास हुदै जान थालेपछि यस क्षेत्र आन्तरिक पर्यटकको रोजाईमा पर्ने गरेको छ । करिव ७ बर्ष अगाडी धौलागिरी आइसफल पदमार्गको पहिचान गरेपछि रुइसे क्षेत्रको बारेमा प्रचार प्रसार सुरु भएको थियो । गलेश्वर भगवती, चिमखोला, दाना, कुइनमंगलेको लेक हुँदै मुस्ताङको लेते पुग्न सकिने गरि पहिचान भएको पदमार्गमा पूर्वाधार निर्माण भइरहेको छ । केही महिना अगाडी पत्रकार महासंघको कार्यसमितिको बैठक समेत बसेको थियो । बैठकले रुइसे –भेडिओढारको प्रचारप्रसारको प्रतिबद्धता समेत जनाएको थियो । भगवतीको सिजलगाउँ र साझापानी बस्तीदेखि माथि थाप्लोमा घना जंगल, पहाडी भुबनोट र ठुला घाँसेमैदान रहेको रुइसे भेडिओढार क्षेत्रसंग पिप्ले , बेगखोला र दग्नाम समेत जोडिएका छन् । करिब २ हजार ६ सय मिटर उचाईमा रहेको भेडिओढारमा ठुलो चट्टा समेत रहेको छ । बाइसे चौविसे राज्यको पालामा तत्कालिन राजाहरुले राज्य गरेको रुइसेमा तत्कालिन राजाले हात्ति बाध्ने स्थान, पानीखाने कुवा, राजाका सहयोगीले आराम गर्ने स्थान समेत रहेको गाउँपालिकाका प्रवक्ता जीवन मल्लले बताए । उनले गाउँपालिकाले भ्यू टावर बनाउने प्रस्ताव पारित गरेपछि आगामी दिनमा स्थलगत अनुगमन सहित प्राविधिक टोली समेत पुग्ने बताए । यसैविच गाउँपालिका भित्र रहेका पुराना एतिहाँसिक सम्पदाको जर्गेना गर्न समेत बजेट विनियोजन गरिएको छ ।
Previous Articleशान्तिस्थापक सेनाको बजेटमा कटौती, नेपाललाई कस्तो असर पर्ला ?
Next Article कामदारको सुरक्षा