पर्वत, ३० असार – नगरसभा सुरु हुनुभन्दा पाँच मिनेट अगाडी जनाउ घन्टी बज्यो , सबै सभासद र आमन्त्रित पाहुना आ–आफ्ना परिचयपत्र भिरेर भित्र पसि सकेका थिए र जनाउ घण्टी बजेपछि ढोकाहरु बन्द गरिए, पाँच मिनेटपछि रातो किताब बोकेर नगरप्रमुख कक्षमा प्रबेश गरे संगै राष्ट्रिय गीतको धुन बज्यो । धुन सकिएपछि नगरप्रमुखले नगरसभामा निती तथा कार्यक्रम प्रस्तुत हुने जानकारी दिँदै सरासर रोष्टममा गए र निती तथा कार्यक्रम प्रस्तुत गरे । निती तथा कार्यक्रम प्रस्तुत गरेपछि उपप्रमुखले आधा घण्टाका लागि सभा स्थगित गरिएको सुचना पढिन र सबै सभासद बाहिर निस्कीए । यो दृश्य प्रतिनिधी सभा वा संसदको होइन । संसदमा सरकारको तर्फबाट निती तथा कार्यक्रम प्रस्तुत गरेको प्रत्यक्ष वा टेलिभिजनबाट प्रस्तुत गरेको सबैले देखेका छौ । जसरी संसदमा निती तथा कार्यक्रम प्रस्तुत गरिन्छ त्यही शैलीमा अहिलेका स्थानिय तहले पनि आफ्नो बार्षिक निती तथा कार्यक्रम प्रस्तुत गर्ने अभ्यास समेत शुरु गरेका छन् । त्यसको पछिल्लो उदाहरण बनेको छ पर्वतको फलेबास नगरपालिका । फलेबास नगरपालिकाले बिहीबार संसदमा निती तथा कार्यक्रम प्रस्तुत गरेकै शैलीमा निती तथा कार्यक्रम पेश गरि पारित समेत गरेको हो । नगरसभामा प्रमुखले कार्यक्रम प्रस्तुत गरेपछि छलफलमा भाग लिन चाहेका सदस्यहरुले नाम लेखाएर आफ्ना धारणा राखेका थिए । सभासदका धारणाहरुमाथि नगरप्रमुख पदमपाणी शर्माले जवाफ दिएपछि निती तथा कार्यक्रम निणर्याथ प्रस्तुत गरियो । हुन्छ भन्नेले बढी हात उठाएका कारण बहुमतबाट निती तथा कार्यक्रम पारित भएको घोषणा गरियो । स्थानिय सरकार नै भएका कारण संसदमा गरिने अभ्यास नगरसभामा गरिएको फलेबास नगरपालिकाका प्रमुख पदमपाणी शर्माले बताए । ‘स्थानिय तह भनेका स्थानिय सरकार हुन, त्यसैले जसरी सरकारले आफ्नो निती तथा कार्यक्रम बनाउँछ, पेश गर्छ त्यसरी नै नगरपालिकाले पनि प्रस्तुत गर्ने प्रयास थालेका हौ’ उनले भने ‘स्थानिय तहले अब पुर्णरुपमा सरकार, संसदको झल्को दिने गरि काम गर्नुपर्छ । शनिबार फलेबास नगरपालिकाको आर्थिक बर्ष २०७४÷०७५को बार्षिक अनुमानित आय र ब्यय–बजेट पनि संसदीय अभ्यास र शैलीका आधारमा प्रस्तुत गर्ने तयारी भएको उपप्रमुख मञ्जु अधिकारी लम्सालले बताइन् । फलेबासका जनताले संसदकै बजेट प्रस्तुत गरेको देख्न सक्ने उनले जानकारी दिइन । फलेबास नगरपालिकाको निती तथा कार्यक्रममा ‘कृषि, पर्यटन, पूर्वाधार र रोजगार ः सुन्दर फलेवास संबृद्धीको आधार’ भन्ने नाराका साथ पर्यटन, कृषि, पुर्बाधार लगायतका क्षेत्रमा नमुना बनाउने उद्देश्य समेत राखिएको छ। शिक्षा, स्वास्थ्य, पुर्बाधार लगायतका क्षेत्रमा पनि नगरपालिकाले ठोस योजना बनाएको र भूउपयोग नितीका आधारमा अघि बढ्ने भएको छ । नगरभित्रका सबै सामुदायिक बिद्यालायमा अनिर्वाय अंग्रेजी र मन्टेश्वरी माध्यममा पढाउने, खुल्ला चिडीयाखाना बनाउने, नगरभित्रका सबै सडकलाई बाहै्रमास चल्ने गरि स्तरउन्नती गर्ने, कृषिका पकेट क्षेत्र बनाउने र त्यसका लागि आवश्यक पुर्बाधार तथा अनुदानको ब्यबस्था गर्ने पनि निती तथा कार्यक्रममा उल्लेख छ । नगरका सबै काठका पोल हटाउने र एक घर एक धारा निर्माण गर्ने योजना पनि निती तथा कार्यक्रममा ल्याइएको छ ।
Previous Articleमुख्य सचिवमा राजेन्द्रकिशोर क्षत्री नियुक्त
Next Article मंगला गाउँपालिकाको बजेट २८ करोड