चालु आर्थिक वर्षको असार मसान्तभित्र बजेट सक्ने नाममा कर्मचारीहरु अहिले विदेश सयरमा मस्त छन् । नेपालको कर्मचारीतन्त्र यतिसम्म मस्त छ कि देशका जनता बाढी पहिरोको चपेटाबाट गुज्रिरहेका छन् तर उनीहरुलाई कुनै प्रवाह छैन । बजेट सक्ने नाममा हरेक वर्ष कर्मचारीले विपन्न जनताको लागि आएको पैसामा रजाई गरिरहेका छन् । स्थानिय सरकार मानिने कर्मचारीका यस्ता गतिविधिले केवल लुटतन्त्रलाई प्रश्रय दिनेबाहेक अरु केही गरेको छैन । बाढी पहिरोले सर्वसाधरण जनताले ज्यान गुमाईरहेका छन् । तर, कर्मचारीलाई देश र जनताका समस्यासंग कुनै चिन्ता छैन । विभिन्न सञ्चार माध्यममा आएका समाचार अनुसार, पछिल्लो दुई महिनामा झण्डै १५ सय कर्मचारी विदेश भ्रमणमा छन्भने कोही फर्किसकेका छन् । कर्मचारीको भ्रमणले राज्यकोषको एक अर्बभन्दा बढी रुपैयाँ खर्च भएको छ । यो रकम दैनिक भ्रमण भत्ता र हवाई टिकटमा भएको सामान्य हिसाब मात्र हो ।
प्रधानमन्त्री कार्यालयका अनुसार, कर्मचारीले यस अवधिमा एसिया, अफ्रिका, युरोप, उत्तर अमेरिका, दक्षिण अमेरिका, अस्ट्रेलियाका विभिन्न मुलुकको भ्रमण गरेका हुन् । दुई महिना अवधिमा १ हजार ४ सय ४२ सरकारी कर्मचारीले ४९ देश भ्रमणका लागि सरकारबाट स्वीकृति लिएको भेटिएको छ । असार मसान्तमा बजेटमा आँखा गाड्ने कर्मचारीले विकट गाउँका जनताको पीडा देख्नु पर्दैन ? उनीहरुले अहिलेपनि झाडापखाला लाग्दा जिवनजलको एक घुट्को नपाएर ज्यान गुमाईरहेका छन् । घर नजिक विद्यालय नहुँदा साना बालबालिकाहरुले प्राथमिक तहबाट पढाई छोड्न विवश छन् । विकट क्षेत्र सडक संजालसंग जोडिन नसक्दा सुत्केरी आमाहरुले अस्पताल नपुग्दै मृत्युवरण गरेका छन् । के कर्मचारीले यस्ता निमुखा जनताको क्षेत्रमा बजेट खर्च गर्नुपर्दैन । कर्मचारीले भ्रमणले केवल आफ्नो मात्रै भलाई भएको छ । देश र जनतालाई यस्ता भ्रमणले कुनै प्रतिफल दिएको छैन ।
कर्मचारीको भ्रमणको कुनै औचित्य नभएपनि उनीहरुले राज्यकोषको दुरुपयोग गर्दै घुमघामलाई खुवै सदुपयोग गर्न भ्याएका छन् । कर्मचारीले वेरोजगार यूवाहरुको तालिमका लागि छुट्टाइएको रकममा पनि सयर गरेर लोक हँसाउने काम गरेका छन् । कर्मचारीले विदेश भ्रमण गरेपछि द्विपक्षीय सम्बन्ध बनाउन र कर्मचारीको वृतिविकासका लागि थोरै भ्रमणमात्र फलदायी भएपनि धेरैपटक गरिने यस्ता भ्रमण केवल देशको ढुकुटी रित्याउनेबाहेक केही उपलब्धी छैन । कर्मचारीले राज्यको सम्पत्ति दुरुपयोग गर्दै वर्षेनि भ्रमण गरिरहेपनि यसलाई रोक्ने काम भने कसैबाट हुन सकेको छैन । असार मसान्त कर्मचारीका लागि महान पर्व हो । बजेट जसरी पनि सक्नुपर्ने, अधिकतम कमिशन कुम्लाउनुपर्ने सोच कर्मचारीमा व्याप्त छ । दाताले दिएको अनुदान, राज्यकोष र जनताको नाममा छुट्टिएको बजेटमा मोजमस्ती गर्ने कर्मचारीलाई जबसम्म लगाम लगाउन सकिदैन तबसम्म विदेश सयर गर्ने होडबाजी रोकिने छैन । यसबारे सरकारले कडा कदम चाल्न जरुरी छ । भुकम्प पीडितले पालमा वर्षा झेलिरहेका बेला कर्मचारी विदेश सयरमा रमाउने पराम्पराले समग्र देशको उन्नती संभव छैन । त्यसैले कर्मचारीतन्त्रको मनपरीतन्त्र रोक्नुपर्छ ।
Previous Articleउपभोक्ता समितिको क्षमता अभिवृद्वि तालिम
Next Article कार्कीको ध्यानाकर्षण