काठमाडौं, २६ असार-निर्वाचन आयोगले प्रादेश र संघीय संसदको चुनावका लागि फोटो सहितको मतदाता नामावली अध्यावधिक गर्ने निर्णय गरेको छ । तर, नाम लगाउन सम्वन्धित जिल्ला निर्वाचन अधिकृतको कार्यालयमै जानु पर्नेछ ।
निर्वाचन आयोगले सोमबार साउन १ देखि १५ गतेसम्म फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता खुला गर्ने निर्णय गरेको छ । यो आगामी प्रदेश र संसदको निर्वाचनका लागि भएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले बताए ।
यसका लागि नागरिकता लिएर जिल्ला निर्वाचन अधिकृतको कार्यालयमा जानु पर्नेछ । साथै बसाई सरेको भए त्यसको प्रमाण लिएर निर्वाचन अधिकृतको कार्यालयमा जानु पर्नेछ ।
तर, पहिला जस्तो आफू बस्दै आएको ठाउँबाट आफ्नो जिल्लामा नाम दर्ता गराउन मिल्ने छैन । यसले काठमाडौंमा बस्दै आएका तर, मतदाता नामावलीमा नाम नभएकाहरुलाई असर गर्नेछ । अब उनीहरु सम्वन्धित जिल्लामै जानुपर्नेछ ।
विगतमा आफू बस्दै आएको जिल्लाको निर्वाचन कार्यालयबाटै सम्वन्धित जिल्लामा फोटो सहितको मतदाता नामावली अध्यावधिक गर्न सकिने व्यवस्था थियो । निर्वाचन आयोगका अनुसार मतदाता नामावलीमा कुनै त्रुटी भए सच्याउन पनि सकिनेछ ।
हालै भएको स्थानीय तहको निर्वाचनमा गत फागुन ९ गतेसम्म नाम अध्यावधिक भएका १ करोड ४० लाख मतदाता थिए ।