काठमाडौं, २६ असार-प्रधानमन्त्री शेरबहादुर देउवाले साउनको पहिलो साताबाटै बजेटको अख्तियारी स्थानीय तहमा जाने बताएका छन । विनियोजन विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नको ब्यवस्थापिका संसदमा आज जवाफ दिदै प्रधानमन्त्री देउवाले स्थानीय तहमा आवश्यकअनुसार बजेट परिचालन हुने बताए । स्थानीय तहमा बजेट कम विनियोजन भएको सांसदहरुको गुनासो सम्बोधन गर्दै उनले बजेट निर्माणका समय निर्वाचन आचारसंहिता लागु भएकाले पुरानै कार्यक्रमलाई निरन्तरता दिदाँ सामान्य कमी भएको उल्लेख गरे । प्रधानमन्त्री देउवाले भने, स्थानीय तहमा आवश्यक पर्ने बजेट मिलाउन अर्थमन्त्रालयलाई निर्देशन दिई सकेको छु । देउवाले भुकम्पपीडितका लागि किस्ता वितरण तथा पुनर्निर्माणको काम प्रभावकारी रुपमा अघि बढेको बताए । ७ लाख ८४ हजार २ सय २० भुकम्प प्रभावित मध्ये ५ लाख ८८ हजारले पहिलो, ३४ हजार ५ सय ८१ जनाले दोश्रो र २ हजार १ सय ८१ जनाले तेश्रो तथा अन्तिम किस्ता बुझेको देउवाको भनाई थियो । एनसेल लगायत ठूला करदाता कम्पनीले तिर्न बाँकी कर उठाउन आवश्यक प्रक्रिया सुरु भईसकेको जानकारी दिदै प्रधानमन्त्री देउवाले सो काम प्रभावकारी रुपमा अघि बढेको दावी गरे । विनियोजन विधेयकमाथिको छलफलका क्रममा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपति र उपराष्ट्रपतिको कार्यालयमाथि विनियोजित बजेटबारे सांसदहरुले उठाएको प्रश्नको जवाफ दिन प्रधानमन्त्री देउवा संसद पुगेका हुन । यसैबीच, ब्यवस्थापिका संसदले विनियोजन विधेयक २०७४ बहुमतले पारित गरेको छ । विधेयकलाई निर्णयार्थ प्रस्तुत गर्दा नेमकिपाका ४ जना सांसद भने विपक्षमा उभिएका थिए ।