लोकेन्द्र सुनार
बागलुङ, २६ असार – असार मसान्त नजिकिदै जाँदा समेत बागलुङ पश्चिम क्षेत्रका नागरिकले अझैसम्म ८ महिनादेखिको सामाजिक सुरक्षा भत्ता पाउन सकेका छैनन् । यसभन्दा अगाडि साविकका गाउँ विकास समितिका सचिवहरुले सामाजिक सुरक्षा भत्ता साविकका गाविसबाट नगदै वितरण गर्दै आएकोमा अहिले बुर्तिबाङस्थित ३ ओटा प्रभु बैक, गरिमा विकास बैंक र साइन रेसुङ्गा बैंकले सम्झौता गरि वितरणको जिम्मा लिएका थिए । यतिबेला वर्षाको समयमा दिनहुँ जसो जेष्ठ नागरिकहरु बैंकमा धाउने गरेको र रित्तै फर्कने गरेका गुनासाहरु आइरहेका छन् । त्यति मात्र होइन सामाजिक सुरक्षा भत्ता कहिले आउला र वर्षाको समयमा घरको सारोगारो गर्जाे टार्ने होला भनी पर्खाइमा बसेका जेष्ठ नागरिकलाई समेत ८ महिनादेखि सामाजिक सुरक्षा भत्ता पाउन नसक्दा निकै समस्या परेको बताउँदै आएका छन् । साविकको अधिकारीचौर र खुंगा गाविसको सामाजिक सुरक्षा भत्ता वितरणको जिम्मा पाएको गरिमा विकास बैक बुर्तिबाङ शाखाका प्रमुख हिरामणि पराजुलीले पहिलो पटक मात्र यस बैंकबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्दा खाता खोल्नेदेखि दिएर सबै काम गर्नका लागि सम्झौता ढिलो गरि भएकाले र सचिवहरुबाट पनि समयमा यथार्थ तथ्यांक नआएको र रकम समेत ढिलो गरि आएका कारण रकम वितरणमा ढिला भएको बताए । पराजुलीले अहिले ५ सयभन्दा बढीको खातामा सामाजिक सुरक्षा रकम हालिसकेको र अरु काम बाँकी रहेको बताए । साथै सचिवबाट आएका तथ्यांकमा २ सय ५० भन्दा बढीको तथ्यांक नभिडेकाले समस्या आएको समेत उनले बताए । अहिले बैंकको खातामा रकम आएको भए पनि असार मसान्तको बेला अत्यधिक कामको चाप भएकाले साउन पहिलो हप्ताभन्दा अगाडि सामाजिक सुरक्षा भत्ता वितरण गर्न संभव नरहेको बताए । उता साविकको बोहरागाउँ र अधिकारीचौर गाविसको सामाजिक सुरक्षा भत्ता वितरणको जिम्मा लिएको साइन रेसुङ्गा बैंक बुर्तिबाङ शाखाका प्रमुख प्रकाश श्रेष्ठले गत शुक्रबार मात्र ढिला गरि रकम बैंकको खातामा आएको र पहिलो पटक बैंकबाट वितरण गर्नु परेकाले काममा ढिलाइ भएको बताए । उता साविकको बुर्तिबाङ, देविस्थान र भीमगिठे गाविसको सामाजिक सुरक्षा भत्ता वितरणको जिम्मा लिएको प्रभु बैंक लिमिटेड बुर्तिबाङ शाखाका प्रमुख खिम के.सीले सामाजिक सुरक्षा भत्ताको रकम २ हप्ताभन्दा अगाडि खातामा आइसकेको भएपनि सचिवहरुबाट आउनु पर्ने तथ्यांक लिष्ट आउन ढिलाइ भएकाले रकम वितरण गर्न नसकिएको बताए । केही समय अगाडि साविकका गाविस सचिवहरुले सुरक्षा भत्ता वितरण गरिने सूचना स्थानीय संचार माध्यमहरु मार्फत दिएर सेवाग्राहीलाई दुख दिएको बताउँदै त्यसमा बैंकको कुनै दोष नरहेको उनले बताए । असार मसान्तसम्म सामाजिक सुरक्षा भत्ता वितरण गर्न नसकिने बताउँदै ८ महिनाको एकमुष्ट रकम साउन पहिलो हप्ताबाट मात्र वितरण गरिने उनले बताए ।
Previous Articleअवरुद्ध सडक खुलाउन पहल
Next Article बिहुँ मोटरबाटो तथा पुल निर्माण समितिको आपत्ति