बागलुङ, २१ भदौ – बिगत ३ महिनादेखि बागलुङ बजारमा यातायात सेवा दिदै आएको अटो रिक्सा सेवा बन्द भएको छ । बागलुङ सदरमुकामका बिभिन्न स्थानमा जानका लागि घरदैलो मै सहज सेवा सुविधा दिदै आएको अटो रिक्सा कागजातका कारण बन्द भएको हो ।
अटो रिक्सा चालकको लाइसेन्स र रुट परमिट नभएका कारण अटो रिक्सा बन्द गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । रिक्सा संचालनका लागि पनि अन्य सवारी साधनको जस्तो कानुनी प्रक्रिया र आवश्यक कागजपत्र आवश्यक पर्ने र बागलुङमा संचालित कुनै पनि रिक्सा चालकसंग कागजपत्र नभएकाले बन्द गर्नु परेको प्रहरी सहायक निरीक्षक कुलबहादुर हरिजनले बताए ।
सेवा सुविधा दिएता पनि दुर्घटना भएको खण्डमा कागजपत्र नहुँदा समस्या हु्ने देखिएकाले कागजी प्रक्रिया पुरा गरेर मात्र चलाउन दिइने उनले बताए । अटो रिक्सावालाहरुले भने घरदैलो सेवा बन्द गराएर चालक यात्रुहरुलाई दुख दिने काम गरेको बताएका छन् ।
उनीहरुले अटो रिक्सा बन्द गराउनका लागि चलखेल भैरहेको बताएका छन् । कुनै एउटा यातायात संस्थावाट संचालन गर्ने भनिएता पनि अटो रिक्साहरु त्यो संस्थामा दर्ता नभएका कारण बन्द गराउने चलखेल भएको र दर्ताका लागि पनि मोटो रकम मागेको उनीहरुले गुनासो गरेका छन् । बागलुङ बजारमा हाल १४ वटा अटो रिक्साले सेवा दिदै आएका छन् । रिक्सा बन्द भएपछि चालक चिन्तामा परेका छन् ।