बागलुङ, १९ असार – यसवर्षको सुगंगा सम्मानबाट सर्वोच्च अदालतका पुर्वप्रधान न्यायाधीश कल्याण श्रेष्ठलाई सम्मानित गरिएको छ । सुगंगा पुरस्कार पुर्वराज्यमन्त्री ओमकार प्रसाद गौचनलाई प्रदान गरिएको छ । आइतबार सुगंगा स्मृति कोषद्वारा आयोजित पुरस्कार समर्पण समारोहमा कोषका अध्यक्ष काजी रोशन र संस्थापक विदुर खड्काले पूर्वप्रधान न्यायाधीश श्रेष्ठलाई संयुक्त रुपमा नगद रु. २५ हजारसहित दोसल्ला र सम्मान पत्रद्वारा सम्मानित गरेका थिए । न्याय क्षेत्रमा दक्ष, निष्पक्ष र निडरतापूर्वक कार्य सम्पादन गरि राष्ट्रिय, अन्तराष्ट्रिय क्षेत्रमा पुराएको योगदानको उच्च सम्मान गर्दै पूर्व प्रधानन्यायाधीश श्रेष्ठलाई सम्मानित गरिएको हो । यसैगरी सोही समारोहमा कोषले प्रदान गर्ने ‘सुगंगा पुरस्कार’ समाजको विभिन्न क्षेत्रमा रचनात्मक भूमिका निर्वाह गर्दै आएका अग्रज पत्रकार, अनुसन्धाता, एवं समाजसेवी पूर्व राज्यमन्त्री ओमकार प्रसाद गौचनलाई प्रदान गरिएको छ । नगद रु. २५ हजार राशिसहितको सुगंगा पुरस्कार कार्यक्रमका प्रमुख अतिथी पूर्व प्रधानन्यायधीश श्रेष्ठ, कोषका अध्यक्ष रोशन र संस्थापक खड्काले संयुक्त रुपमा गौचनलाई प्रदान गरेका थिए । सम्मान ग्रहणपछि बोल्दै पूर्व प्रधान न्यायाधीश श्रेष्ठले प्राप्त सम्मान सत्य र न्यायपूर्ण समाजप्रतिको सम्मान भएको प्रतिक्रिया दिए । ‘यो सम्मान समाजलाई समर्पण गर्न चाहान्छु’ श्रेष्ठले भने ‘ स्यसले मेरो न्याय र निष्ठाको लडाइँमा उत्प्रेरणा थपेको छ ।’ प्रधानन्यायाधीश हुँदा महत्वपूर्ण फैसलाहरु गरेर चर्चामा आएका श्रेष्ठले कानुनी राज्यको दृढ कार्यान्वयन बिना लोकतन्त्र बाँच्न नसक्ने बताए । सुगंगा पुरस्कारबाट पुरस्कृत व्यक्तित्व गौचनले जिल्लाको विकासमा आफुले गरेको महत्वपूर्ण कामहरुको कदर स्वरुप सुगंगा पुरस्कारबाट पुरस्कृत भएको बताए । समारोहमा प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारी, नेकपा एमाले बागलुङका अध्यक्ष इन्द्रलाल सापकोटा, नेपाली काँग्रेसका सभापति दिपेन्द्रबहादुर थापा, समाजसेवी देवबहादुर श्रेष्ठ, बागलुङ बारका अध्यक्ष केशवराज पराजुली, पत्रकार महासंघ बागलुङ शाखाका सचिव राम थापा ‘अविरल’ लगाएतले शुभकामना मन्तव्य राखेका थिए । कोषका सदस्य अधिवक्ता काजी गाउँले श्रेष्ठले सम्मानित र पुरस्कृत व्यक्तित्वको परिचय प्रस्तुत गरेका थिएभने कोषका सदस्य एवं धौलागिरी बहुमुखी क्याम्पसका प्रमुख रामप्रसाद उपाध्यायले स्वागत मन्तव्य व्यक्त गरेका थिए । बागलुङका अग्रज पत्रकार विदुर खड्काद्वारा स्वर्गीय आमा सुमित्रा खड्का र धर्मपत्नी गंगा खड्काको स्मृतिमा वि.सं. २०६६ सालमा स्थापित सुगंगा स्मृति कोषले समाजमा विशिष्ट योगदान पु¥याउने व्यक्तिहरुलाई दुई वर्षको अन्तरमा सम्मान र पुरस्कार प्रदान गर्दै आएको छ । कोषका अध्यक्ष रोशनको अध्यक्षता र सदस्य सचिव ज्ञानेन्द्र गौतमको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
सम्मानको रकम पत्रकार महासंघ बागलुङ शाखालाई
पूर्वप्रधान न्यायाधीश कल्याण श्रेष्ठले सुगंगा सम्मानबापत् प्राप्त गरेको नगद रु. २५ हजार नेपाल पत्रकार महासंघको भवन निर्माणको लागि प्रदान गरेका छन् । सम्मान समारोहमै श्रेष्ठले आफूले पाएको उक्त रकम महासंघका सचिव राम थापा ‘अविरल’ लाई हस्तान्तरण गरेका थिए । सम्मानबापत् पाएको रकम सामाजिक काममा खर्च होस् भन्ने उद्देश्यले सहयोग गरेको श्रेष्ठले प्रतिक्रिया थियो । ‘यो रकम कुनै पुण्यको काममा खर्च होस् भनेर यस्तो निर्णय गरेँ’ श्रेष्ठले भने ‘पत्रकार महासंघ बागलुङको भवन निर्माणको खबरले प्रभावित भएँ, सक्दो सहयोग गर्न पाएँ खुसी छु ।’ उनले आगामी दिनमा पनि महासंघलाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । रकम बुझेपछि महासंघका सचिव थापाले श्रेष्ठले गरेको परोपकारी कार्यले महासंघ उत्साहित भएको प्रतिक्रिया दिएका थिए ।
Previous Articleकुशे गाउँपालिकाको निर्णय र सामुदायिक विद्यालयको गुणस्तर
Next Article १९ असार २०७४, ढोरपाटन दैनिक